२० दिनपछाडि धकेलियो जाडो, आउँदा दिन झनै ठन्डी

काठमाडौं । अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो ।

चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाले बताए । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेको थियो । आइतबार थप घटेर २.२ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।

गत वर्षको तुलनामा यो वर्ष यस अंमा न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छ । गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको देखाउँछ ।

फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ । वर्षा भएको खण्डमा त्यो चिसो अझ पर पूर्वमनसुनको समयसम्म धकेलिन सक्ने महाशाखाले अनुमान गरेको छ ।

अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् झाले बताए । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको महाशाखाले जानकारी दिएको छ । उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेको छ, जसको प्रभाव तराईमा उच्च शीतलहर बनेर ओइरिएको छ ।

वायुमण्डलको पारदर्शितामा न्यूनता आउँदा हवाई उडान प्रभावित भएको छ । तराईका धेरै जिल्लामा केही दिनयता शून्य पारदर्शिता रेकर्ड भएको छ । मौसमविद् झाका अनुसार पारदर्शिता वायुमण्डलमा एक सय मिटरभन्दा तल झरेपछि त्यो शून्य पारदर्शितामा गनिन्छ ।

मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *