निम्बसले इलेक्ट्रिक स्कूटर र साइकल भाडामा दिने
काठमाडौँ । निम्बसले काठमाडौँ उपत्यकामा आफ्नो नवीनतम इलेक्ट्रिक स्कूटर र साइकल भाडामा दिने सेवा सुरु गरेको छ ।
कम्पनीले कुशल र पर्यावरणीय मैत्री यातायातको मागलाई पूरा गर्ने उद्देश्यले नवीनतम इलेक्ट्रिक स्कूटर र साइकल भाडामा दिने सेवा सुरु गरेको हो ।
यो सेवाले व्यक्ति र व्यवसायीहरू दुबैका लागि लागत प्रभावी विकल्प प्रदान गर्ने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार इलेक्ट्रिक स्कूटरको दैनिक भाडा ७ सय र इलेक्ट्रिक साइकलको लागि १०० को दरमा तोकिएको छ । निम्बस इन्टरनेशनलले पाठाओ र इनड्राइभ जस्ता खाना डेलिभरी र राइड–शेयरिङ सेवा प्रदान गर्ने प्रयोगकर्ताहरू लगायत विस्तृत प्रयोगकर्ताहरूलाई लक्षित गरेको उक्त सेवा सुरु गरेको हो ।
साथै, कम्पनीले इलेक्ट्रिक स्कूटर र साइकललाई दैनिक, साप्ताहिक तथा मासिक रूपमा उपलब्ध गराउने जानकारी दिएको छ ।
यस सेवाले यातायात खर्च घटाउन खोज्ने व्यक्तिहरूका लागि मात्र उपयोगी नभई पर्यावरणीय रूपमा सफा यात्राको प्रवर्द्धन गर्दै इन्धन खर्च घटाउँछ ।
आर्थिक फाइदाहरूलाई जोड दिँदै, निम्बस इन्टरनेशनलका एक प्रवक्ताले भने ‘हाम्रो सेवा थोरै लगानीमा बढी आम्दानी खोज्ने व्यक्तिहरूका लागि तयार पारिएको छ ।’