मायालुको लागि भए पनि धूम्रपान त्याग्नुस् – डा. ओममूर्ति
काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुको लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गरेकाछन् । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा गरिने बसन्त पञ्चमी र प्रणय दिवस यस वर्ष फागुन २ गते परेको सन्दर्भ पारेर उक्त दिन ज्ञान र प्रेमलाई मिश्रण गर्दै धूम्रपान सेवनमुक्त समाज निर्माणका लागि अवसरका रूपमा उपयोग गरिएको डा. अनिलले बताए ।
कुनै विशेष अवसरमा मानिसले केही चिज त्याग गर्यो भने त्यो सफल हुने सम्भावना बढी हुन्छ । साथै अविस्मरणीय र महत्वपूर्ण पनि हुने भएकाले त्यस दिनदेखि धूम्रपान र सुर्ती सेवनको लतलाई त्याग गर्न आफ्ना शुभेच्छुकहरूलाई उनले आह्वान गरेका छन् ।
‘प्रणय दिवस’का अवसरमा तपाई फूल दिनुस्, कुनै भौतिक उपहार दिनुस् । त्यसको साथसाथै आफू र आफ्नो परिवारजनको दीर्घजीवनका लागि लत त्याग्नु सबैभन्दा मूल्यवान उपहार हो’ डा. अनिलले भने–‘यदि तपाईँ आफूलाई भन्दा बढी माया उनीहरूलाई गर्नु हुन्छ भने दीर्घ जीवनको उपहारजस्तो बहुमूल्य उपहार अर्को के होला र र?’ अझ त्यस विद्याकी देवीलाई पूजा गरिने दिन पनि परेको छ । कुलत त्याग्नेजस्तो नैतिक शिक्षा अर्को कुनै हुन्छ रु डा. अनिलको प्रश्न छ ।
कुलत त्याग्नु जीवनको अमूल्य उपहार हो । चुरोट र सुर्ती सेवन छोड्दा आफ्नो आयु मात्रै लम्बिदैन परिवारको आयु पनि बढ्ने हुँदा ‘स्मोकर्स आर नट सेल्फिस्’ भन्ने नारालाई जोड दिइएको उनको भनाइ छ । कुलत छुटाउन प्रोत्साहन गर्ने उद्देश्यका निम्ति यस अभियानमा ‘धूम्रपान गर्ने स्वार्थी हुँदैनन्’ भन्ने टेमप्लेटलाई सकारात्मक र सुखद परिणामको अपेक्षासहित राखिएको डा। अनिलले स्पष्ट पारे ।
डा। अनिलकाअनुसार मानिसको मृत्युका कारणमध्ये धूम्रपान प्रमुख रहेको अध्ययनहरूबाट प्रमाणित भएको छ । तमाखु सेवन गर्ने हरेक दुई जनामध्ये एक जनाको मृत्यु हुने गरेको छ । प्रत्येक एक खिल्ली चुरोटले सेवनकर्ताको ११ देखि १३ मिनेटसम्म आयु घटाउने भन्दै त्यस्ता मानिसको जीवनमा १० महिनाको वर्ष हुन्छ । अर्थात् सेवनकर्ताको हरेक वर्ष औसत दुई महिना आयु घट्दै जाने उनको भनाइ छ ।
धूम्रपान गर्नेलाई दुईदेखि चार प्रतिशत हृदयाघात हुने खतरा छ भने फोक्सोको क्यान्सर हुने जोखिम २५ प्रतिशतसम्म रहेको उनले बताए । त्यस्तै एक वयस्क मानिसले अत्यधिक चुरोट सेवन गरेमा १५ वर्षदेखि २५ वर्षसम्म छिटो मृत्युको जोखिम रहेको अध्ययनले देखाएको भनाइ छ ।
कुनै व्यक्तिले धूम्रपान गर्दा उसलाई मात्रै होइन, वरिपरिका मानिसलाई पनि गम्भीर असर गर्दछ । यसबाट विशेषगरी गर्भमा रहेका शिशु, बालबालिका र सास फेर्न समस्या भएका व्यक्तिहरूलाई सबैभन्दा बढी जोखिममा हुन्छ । यसले सेवनकर्ता, वरिपरिका मानिस र सेवनकर्ताले प्रयोग गरेका सामग्रीबाट पनि अरुको स्वास्थ्यमा असर गर्छ ।
एक अध्ययनअनुसार धूमपानबाट ८० लाख जनाको मृत्यु हुँदा १३ लाखले अन्य धूमपानकर्ताले मृत्युवरण गर्नुपर्ने अवस्था रहेको डा अनिलले जानकारी दिए धूमपानको भयावह स्थिति नेपालजस्ता गरीब मुलुकमा उच्च रहेको उल्लेख गर्दै विश्वका १ दशमलव ३ अर्ब जना धूम्रपान गर्ने मानिसमध्ये ८० प्रतिशत गरीब देशका नागरिक रहेको अध्ययनमा देखिएको उनको भनाइ छ ।
धूम्रपान नगर्दा आफू अकाल मृत्युबाट जोगिनुको साथै अभिभावकत्वको जिम्मेवारी पूरा गर्न सकिने र परिवारको आर्थिक, सामाजिक सुरक्षा गर्न सकिन्छ । ‘जीवन मेरो मात्रै होइन, ममाथि धेरै जना आश्रित छन्’ भन्ने बुझ्न जरुरी रहेको उनी बताउँछन् । धूमपानको लत छुटाउने अभियान सुरु गर्नु भएका डा.अनिलले त्यस्ता व्यक्तिलाई प्रोत्साहन गर्न उनले आफ्नो फेसबुक पेजमा गुगल फर्मसमेत राखेका छन् । जहाँ आफूले धूम्रपान परित्याग गरेको प्रतिबद्धता व्यक्त गर्न सकिन्छ ।
सामाजिक सञ्जालबाट चेतनामूलक अभियान चलाउने क्रममा विश्व कीर्तिमान कायम गरेका डा अनिलको बिहीबार फेसबुक लाइभमा छ हजार ६७२ जना प्रत्यक्ष जोडिएका थिए भने तत्काल करिब ५० जनाले सुर्तीजन्य पदार्थको सेवन छाड्ने प्रतिबद्धता जनाएका थिए ।