सार्वजनिक जग्गा व्यक्तिका नाममा गर्ने २४९ जनाविरूद्ध मुद्दा (नामसहित)
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरेको भन्दै दुई सय ४९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
कैलालीको टीकापुरस्थित सार्वजनिक जग्गा व्यक्तिका नाम दर्ता गरेको आरोपमा नगर विकास समितिका तत्कालीन अध्यक्ष नेत्रप्रसाद जोशीसहित दुई सय ४९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको प्रवक्ता नरहरि रेग्मीले जानकारी दिए ।
तत्कालीन अध्यक्ष जोशीसहित पदाधिकारीले मिलेमतोमा नक्कली रसिद बनाएर सार्वजनिक जग्गा घडेरीका रूपमा व्यक्तिका नाममा गरेको आरोप छ ।
कर्मचारीहरू समेतको मिलेमतोमा समितिमा कम रकम बुझाएर हक हस्तान्तरण गरेको अख्तियारको भनाइ छ ।
टीकापुर नगर विकास समितिको स्वामित्वमा रहेको सार्वजनिक प्रकृतिको जग्गा व्यक्ति विशेष तथा संघ संस्थाहरूलाई वितरण गरी हक हस्तान्तरण गर्दा नगर विकास ऐन, २०४५ तथा नगर विकास निर्देशिका, २०६१ मा भएको व्यवस्था बमोजिम उपलब्ध गराउनुपर्ने भनिएको छ ।
तर त्यसो नगरी पदाधिकारीले व्यक्तिगत स्वार्थ र सम्बन्धको आधारमा समितिको नाममा नक्कली कागजात खडा गरी जग्गा व्यक्तिको नाममा पुर्याएकोअख्तियारको भनाइ छ ।
अख्तियारले तत्कालीन अध्यक्षहरू नेत्रप्रसाद जोशी, ललित ताम्राकार, धीजराज रेग्मी सहित २४९ जनाविरूद्ध मुद्दा दायर गरेको हो ।
अख्तियारले जग्गा पनि जफत गर्न जग्गा खरिदकर्तासहितलाई मुद्दा दायर गरेको छ ।
अख्तियारले अहिले भोगचलन गरिरहेका जग्गाधनीहरूको नाम पनि सार्वजनिक गरेको छ ।