टस जितेर बलिङ गर्दै नेपाल, हेमन्तको डेभ्यु
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले क्यानाडाविरुद्धको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल खेलिरहेको छ । टस जितेर कप्तान रोहित पौडेलले पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । खेल टियू क्रिकेट मैदानमा जारी छ ।
यसअघि नेपालले लगातार २ खेल जितेर सिरिज जितिसकेको छ । नेपालले पहिलो खेलमा क्यानडालाई ७ रनले र दोस्रो खेल ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो । नेपाल अन्तिम खेलमा जित हासिल गरेर सिरिज ‘क्लीन स्वीप’ गर्ने प्रयासमा छ भने क्यानडाले सिरिजमा सान्त्वना जित हासिल गर्ने लक्ष्यका साथ खेलिरहेको छ ।
नेपालका हेमन्त धामीले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन् । नेपालले कुल चार परिवर्तन गरेको छ । नेपालले सूर्य तामाङ, रिजन ढकाल, सोमपाल कामी र आसिफ शेखलाई बाहिर राखेर उनीहरुको ठाउमा आरिफ शेख, ललित राजवंशी, कुशल भुर्तेल र हेमन्त धामीलाई टिममा समावेश गरेको छ ।
नेपालको प्लेइङ ११: रोहित पौडेल (कप्तान), अनिल शाह, कुशल भुर्तेल, देव खनाल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, पवन सर्राफ, आकाश चन्द, हेमन्त धामी र ललित राजवंशी ।