म शुन्यमा आउट हुनु नै हारको प्रमुख कारण बन्यो : रोहित पौडेल
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्डबिरुद्धको खेलमा राम्रो खेलेर नतिजा हात पार्ने बताएका छन् ।
बुधवार नामिबियासँगको २ विकेटको हारपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दे उनले यस्तो बताएका हुन् ।
उनले आफूले सोचेको र जिम्मेवारी लिनुपर्ने हिसाबले खेल्न नसकेको स्वीकार गर्दै आफ्नो जिम्मेवारी लिने बताए ।
उनले दीपेन्द्र सिंह ऐरी र आफूले सोचेको जस्तो खेल्न नसक्दा आफ्नो पक्षबाट खेल उम्किएको बताए । उनले आगामी खेलाका लागि सबै जना जित्नैपर्ने मनोबल लिएर बसेको बताए ।
उनले भने ‘मेरो भूमिकाले एकदमै डिस्पोइन्टेड भयो, म जिम्मेवारी लिन्छु । म शून्य रनमा आउट हुनु नै एउटा नराम्रो पक्ष थियो । सोचे जस्तो सुरुवात भयो तर पावर प्लेमा नै हामीले तीन विकेट गुमायौँ । त्यो क्षेत्र हेर्नुपर्ने जरुरी छ । त्यसपछि पनि एउटा पार्टनरसिप भयो, त्यसपछि मेरो, दिपी दाइको विकेट गयो । त्यसले गर्दा १७० भित्रै समेटियौँ । ब्याटिङ अर्डरलाई लिएर क्लियारिटी छौँ । हामीले सिच्वेशन हेरिरहेका छौँ । आजको हारले गर्दा सबैजना मोटिभेटेड छन् । अन्तिम गेमलाई लिएर । अन्तिम गेममा बेस्ट क्रिकेट खेल्नेछौँ ।’
नेपाल आइसिसी विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग नै ४ विकेटको हार व्यहोरेको थियो । दोस्रो खेलमा नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको नेपाल तेस्रो खेलमा पुनः नामिबियासँगै २ विकेटको हार व्यहोर्न बाध्य भयो ।
नेपालले त्रिदेशीय सिरिजअन्तर्गतको आफ्नो अन्तिम खेल कीर्तिपुरमा आइतबार खेल्नेछ ।