चलचित्र गोरखा वारियर हेरेपछि के भने- ओली, लिङदेन र किराँतीले ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र गोरखा वारियर फरक फरक भाषामा बिस्तारित गर्नुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा चलचित्रको प्रिमियर शो हेरिसकेपछि सिनेपत्रकारहरुसँगको कुराकानीका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले चलचित्र गोरखा वारियर नेपालीहरुको इतिहासको एउटा कालखण्डलाई प्रभावकारी ढंगले बनाइएको बताए । ‘हाम्रो नेपालीहरुको इतिहासको एउटा कालखण्डलाई एउटा पाटोलाई अत्यन्तै प्रभावकारी ढंगले प्रश्तुत गरिएको छ । हाम्रो बहादुरी जसले हामीलाई गोरखाको रुपमा चिनायो । साथै मानवीयताको पक्षमा, भावनाका पक्ष, मानवीय समवेदनका पक्ष, परिवार सम्झिरहने, त्यो पक्षहरु साथै अरु पक्षहरु सुन्दर ढंगबाट प्रश्तुत गरिएको छ । कथा सुन्दर छ,’ अध्यक्ष ओलीले भने, ‘कलाकारहरुको अभिनय जीवन्त जस्तै छ । यसलाई अभिनय भन्न मिल्दैन । नेपाली फिल्महरुमा यति अभिनयलाई सजीव बनाइएको कमै छ । यो सिनेमालाई अरु भाषाहरुमा पनि नविकरण गरेर लैजाँदा विश्वव्यापी रुपमा आफ्नो बजार बिस्तार आफैँ गर्दछ ।’

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङङदेनले योद्धाहरुको कथा समेटेर निर्माण गरिएको चलचित्र भएको बताए । ‘नेपाललाई चिनाउने केही महत्वपूर्ण कुराहरु छन्, त्यसमध्ये सबैभन्दा विश्व समुदायसँग नेपाल र नेपालीलाई परिचित गराउने भनेको गोरखाली नाम र योद्धाहरुको कथा समेटेर निर्माण गरिएको यो चलचित्र असाध्यै राम्रो, यथार्थपरक र जीवन्त छ । आम दर्शकलाई एकपटक हेरिदिन आग्रह गर्दछु,’ उनले भने ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले चलचित्र पुस्तक र पत्रपत्रिका भन्दा पनि शक्तिशाली रहेको बताए । ‘नेपाली फिल्मले विदेशी बजारमा पहुँच राख्न थालेको छ । यो एकदमै राम्रो कुरा हो । गोरखाको कुरा गर्दा पुरुषको मात्रै कथा आउँछ, घरमा विधवा भएका महिलाको कथा कम हुन्छ, यसमा पनि फिल्म आउनुपर्छ । गोरखा भर्ती हाम्रो रोजाई थिएन । तर पनि स्वीकार्नै पर्छ, त्यो स्टेजमा हामी छौँ । यस्तै चलचित्रबाट उजागर गर्नुपर्छ,’ उनले भने, ‘चलचित्र पुस्तक र पत्रपत्रिका भन्दा पनि शक्तिशाली हो । संसारको नरम कुटनीतिको रुपमा स्थापित हुँदैछ । गोरखाली पुस्ताले देखाएको वीरतालाई देश बनाउने अभियानमा बदल्नुपर्छ । चलचित्र समाजको ऐना हो, हिजो आज र भोलिको समाजको ऐनालाई देखाउने गर्दछ । आर्थिक विकासको उद्योगका रुपमा पनि अघि बढाउनुपर्छ ।’

फिल्म हेरिसकेपछि बोल्दै नेकपा एमालेका नेता शेरधन राईले चलचित्र गोरखा वारियरले तवमा नेपालको परिचय थपेको महशुस गरेको बताए । नेपालको गाथा चिनाउन र भन्नसक्ने फिल्म बनेको उनको भनाई छ । ‘फिल्म हेरिसकेपछि वास्तवमा नेपालको परिचय थपिएको मैले महशुस गरेको छु । वीर गोरखालीहरुको जिउँदो इतिहास यो फिल्मले देखाएको छ,’ उनले भने, ‘नेपालको गाथा चिनाउन र भन्नसक्ने फिल्म बनेको रहेछ । यो फिल्म नेपालको इतिहासमा उत्कृष्ट सावित हुनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *