मानसिक समस्या बढ्दै गएकोप्रति सांसद बरालको चिन्ता
काठमाडौँ । नेकपा एमालेकी सांसद सुनिता बरालले मानसिक समस्या बढ्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।
आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनीले मानसिक रोगप्रति सरकारले विभिन्न रणनीतिक योजना बनाएर काम गर्न आवश्यक रहेको बताएकी हुन् ।
उनीले आत्महत्याको समस्या पछिल्लो समय झनै बढेको भन्दै सरकारको ध्यानाकर्षण गराइन् ।
उनीले मानसिक समस्याका कारण समाजमा अपराध र आपराधिक घटना बढिरहेको बताइन् ।
उनीले मानसिक स्वास्थ्यमा सरकारले चासो नदिएको बताइन् ।
उनीले भनिन्, ‘केही दिनअघि ललितपुरमा एक महिलाले आफ्ना दुई बच्चाको हत्या गरी आत्महत्या गरिन् । त्यस्तै काठमाडौँमा तीन जनाको हत्या गरी एक पुरुषले आत्महत्या गरे । आत्महत्याको दर असाध्यै अत्यासलाग्दो तरिकाले बढिरहेको छ । डिप्रेसनका कारण बढेका अपराध र आपराधिक अवस्था डरलाग्दो अवस्था छ । यसतर्फ सरकारको ध्यान जान आवश्यक छ । २०४० सालमा सरकारी तवरबाट ४० बेडका मानसिक अस्पतालको स्थापना भयो । त्यसपछि न अर्को अस्पताल खुल्यो, न मानसिक स्वास्थ्य प्राथमिकतामा नै परेको छ । दिनदिनै मानसिक स्वास्थ्य समस्या बढेको बढ्यै छ । सूचना, प्रविधि र डिजिटलाइजेशनले निम्त्याएका धेरै समस्या छन् । रोजगारी र आर्थिक असहजताले धेरै नै सामाजिक समस्या बढेका छन् ।’
उनीले सूचना, प्रविधि र डिजिटलाइजेशनका कारण सामाजिक समस्या बढिरहेको बताइन् ।