भृकुटीमण्डपमा २४ गतेदेखि ‘चेम्बर एक्स्पो २०२४’ हुने
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’ काठमाडौंको भृकुटीमण्डपमा फागुन २४ देखि २८ गते सम्म सञ्चालन हुने भएको छ ।
स्थानीय उत्पादन प्रवर्द्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यले चेम्बर एक्स्पो हुन लागेको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा हुने एक्स्पोमा फोकस कन्ट्रीका रुपमा दक्षिण कोरिया रहेको छ । नेपाली उत्पादनको बजारीकरणलाई विशेष जोड दिएर व्यवसायीक क्षेत्रहरूलाई एकीकृत गर्ने चेम्बर अफ कमर्सको मुख्य उद्देश्य रहेको बताइएको छ ।
क्षेत्रीय एवं अन्तर्राष्ट्रिय व्यापारिक समुदायको प्रत्यक्ष सहभागिताले अन्तर्राष्ट्रिय क्षेत्रमा भइरहेका आर्थिक गतिविधि, नवीन प्रविधिको प्रयोग एवं व्यापार व्यवस्थापनका नयाँ आयामहरूलाई नजिकबाट नियाल्न सहयोग पुग्ने विश्वास रहेको चेम्बरले जनाएको छ । साथै उक्त मेलामा इण्डियन चेम्बर अफ कमर्शको अगुवाइमा भारत आयुष एक्जिविशन कन्फरेन्स समेत सञ्चालन हुनेछ । एक्स्पोमा नेपालमा रहेको रूसी दुतावासको वाणिज्य शाखा र मलेसियन दुतावासको वाणिज्य शाखाको पनि सहभागिता रहनेछ ।
यस्तै बंग्लादेश, भारत, दक्षिण कोरिया, पाकिस्तानबाट समेत व्यवसायीहरूले प्रदर्शनीमा सहभागिता जनाउनेछन् । प्रदर्शनीमा हस्तकलाका बस्तु, घर–जग्गा व्यवसायी, खाद्य एवं पेय पदार्थ, पहिरन, पाठ्य, पुस्तक, सवारी साधन, निमार्ण सामग्री, साना तथा घरेलु उद्योगका उत्पादन, विद्युतीय उपकरण तथा अन्य उपभोग्य सामग्रीहरू प्रदर्शनमा रहने छन् ।
नेपाल चेम्बर एक्स्पो २०२४ मा सिल्भर स्पोन्सरका रुपमा एनसेल रहेको छ भने अफिसियल इन्स्योरेन्स पार्टनरका रुपमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेको छ । यसैगरी अफिसियल इन्टरनेट पार्टनरमा वल्र्डलिङ्क तथा लोयल्टी पार्टनरका रुपमा रहेका छन् ।
प्रदर्शनीमा अग्नि सुरक्षा उपकरणको सहयोग हिटको प्रा। लि। ले गर्ने भएको छ । एक्स्पोको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहनेछन् । एक्स्पोको व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एण्ड म्यानेजमेन्ट सर्भिस प्रालीले गरेको छ ।