रुखबाट खसेर शरीर टुट्यो तर आत्मबल टुटेन
काठमाडौं । तनहुँको अर्चल धारामा रहेको प्रतीक्षालयमा ह्विल चिअरमा भेटिन्छन् रामबाबु पाण्डे । कम्मर भन्दा तलको भाग चल्दैन, खुट्टाले हिँड्न मिल्दैन तर पनि उनको आत्मबल चल्न रोकिएको छैन, उनी रोकिएका छैनन् ।
बिहानै प्रतीक्षालयमा श्रीमतीसँगै पुग्छन् र आफ्नो इलम सुरु गर्छन् । उनले आफूले सक्ने पेसा गरिरहेका छन् । थोरै लगानीमा र थोरै जनशक्तिमा आयआर्जन गर्न सकिने व्यापार उनले गर्दै आएका छन् । उनले चटपटे र पानी पुरी बनाएर प्रतीक्षालयमा आउनेलाई खुवाउँछन् र खुसी बनाएर पठाउँछन् ।
ह्विल चिअरबाटै पनि पाण्डेले काम गरिरहेको देखेर प्रतीक्षालयमा आउनेहरू पनि मक्ख पर्छन् र उनीसँगै दुःखसुखका कुरा गरेर समय बिताउँछन् । प्रतीक्षालयमा आउनेहरूलाई चटपटे, पानी पुरी खुवाएर उनले घर खर्च चलाउँछन् । छोराछोरीको पढाइ खर्च जुटाउँछन् ।
पाण्डे सानैदेखिका अपाङ्ग भने होइनन् । उनी अपाङ्ग भएको ६/७ वर्ष मात्रै भयो । गाउँ नजिकैको जङ्गलमा घाँस दाउरा काट्ने क्रममा रुखबाट खसेर उनको मेरुदण्ड भाँचिएको थियो । त्यसपछि हुन् पाण्डे थलिएका । शारीरिक रुपमा थलिए पनि उनी मानसिक रूपले भने परिपक्व छन् । आत्मबलले भरिपूर्ण छन् ।
‘सानैदेखि अपाङ्ग भएको होइन, युवावस्थामा रुखबाट लडेर यस्तो भएको हो’उनले दुख पोख्दै भने ‘त्यसपछि शरीर मात्रै होइन सपना र रहर टुट्यो । तर श्रीमती र आफन्तको सहानुभूतिले आत्मबल बढेको हो ।’
उनको आत्मबलमा थप विश्वास भरी दिएकी छन् उनको श्रीमतीले । श्रीमतीको सहयोगले उनले परिवार पाल्दै आएका छन् । अनि आफ्नो उपचार खर्च जुटाउँदै आएका छन् ।
चटपट पसलबाट घर खर्च मात्र पुग्ने उनी बताउँछन्, उपचारका लागि आर्थिक अभाव भइरहेको उनको गुनासो छ ।
‘बेलाबेला थेरापी गर्न जानु पर्ने हुन्छ यती आम्दानीले उपचार गर्नको लागि पनि खर्च पुग्दैन’ उनले भने‘जति कमाई हुन्छ त्यो सबै घर खर्च र छोराको पढाइमा खर्च हुन्छ ।’
चिसो मौसममा भने प्रतीक्षालयमा मान्छेहरू कमै आउँछन् र उनको व्यापार पनि कमै हुन्छ । फागुनदेखि जेष्ठसम्म भने प्रतीक्षालयमा पनि मान्छेहरूको भिड हुन्छ । उनको व्यापार पनि बढ्छ ।
उनले भने–‘पसलमा खासै मान्छेहरू आउँदैनन् आए भनी फागुन, चैत, वैशाख मा धेरै हुन्छन् नभए खासै मान्छे आउदैन् ।’
ससुरालीको सहायता
रामबाबु पाण्डेको खास घर लमजुङको चितीतिलार वडा नम्बर ११ मा पर्छ । उनी अपाङ्ग भएपछि तनहुँमा रहेको उनको ससुरालीले उनलाई जग्गा र आर्थिक सहयोग गरेका हुन् । उनी लमजुङबाट तनहुँमा बस्न थालेको करिब ६ वर्ष भयो । ससुरालीले जग्गा दिएपछि उनको त्यतै घर बनाएर बस्न थालेका हुन् ।
युवा अवस्थामा पाण्डे वैदेशिक रोजगारीका लागि विदेश जान्थे । रोजगारीको सिलसिलामा उनी ३ वर्ष कतार पनि बसे । कतारबाट फर्किएपछि उनले गाउँमै खेत किसान गर्दै आएका थिए । युवावस्थामै शारीरिक अवस्था गुमाएपछि उनका दुखका दिन सुरु भएका हुन् ।
‘काम गरेर परिवार पाल्ने छोरा पढाउने उमेरमा यस्तो दुख पर्यो ’उनले सुनाए ‘ससुरालीले दिएको जग्गामा सानो घर बनाएर गुजारा चलाउँदै आएको छु ।’
रुखबाट लडेर मेरुदण्ड भाँचिए पछि उनको कम्मरदेखि तलको भाग नचल्ने भएको छ । उनलाई दिशा पिसाब गर्नको लागि पनि अरूको सहारा लिनुपर्छ । ससुरालीले जग्गा र श्रीमतीले आट दिएका पाण्डेलाई प्रतीक्षालयमा बसेर व्यापार गर्न भने अर्चल धारा समितिले दिएको हो ।
‘गर्न त सबैले साथ र सहयोग दिएका छन् । आर्थिक अवस्था कमजोर भएको कारणले राम्रो ठाउँमा उपचार गर्न पाएको छैन उनले भने‘यदि उपचार गर्न पाए ठिक हुन्थ्यो किन भन्ने आस भने अझै छ ।’
उपचारकाे लागि सहयाेग उठाउनेअभियान चलाउनु पर्यो ।