आर्मीलाई हराउँदै हेल्प नेपाल भलिबल च्याम्पियन
टिप टप हेल्प नेपालले आठौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कबर्डमा शनिबार सम्पन्न फाइनल खेलमा आर्मीलाई पाँचौँ सेटमा २२-२० ले पराजित गर्दै हेल्प नेपाल च्याम्पियन बनेको हो।
आर्मीले पहिलो सेट २५-२० ले जितेको थियो। निकै प्रतिस्पर्धात्मक बनेको दोस्रो सेट आर्मीले २५-२७ ले गुमायो। कुनै समय ६ अंकको अग्रता बनाएको आर्मीले हेल्प नेपालसँग अन्तिममा अंक गुमायो।
दोस्रो सेट २२-२२, २३-२३, २४-२४, २५-२५ ले बढेको थियो। तर, अन्तिममा हेल्प नेपालले लगातार २ अंक जोड्दै दोस्रो सेट २५-२७ ले जित्यो।
निकै रोमाञ्चक बनेको तेस्रो सेटमा पुन: आर्मीले २३-२५ ले जित्यो। कुनै समय ४ अंकले पछि परेको अवस्थालाई उल्ट्याउँदै आर्मीले २-१ को अग्रता बनायो।
चौथो सेटमा लगातार ८ अंक जोडेपछि मात्रै खाता खोलेको आर्मीले लगातार ३ अंक जोड्दै ८-३ को अवस्थामा आएको थियो।
त्यसपछि लगातार अग्रता बनाएको हेल्प नेपालले २२-२२ को अवस्थाबाट पुनः २४-२२ को अग्रता बनायो। २ अंकले पछि परेको आर्मीले पुनः २४-२४ को अवस्थामा ल्याउन सफल भयो।
२५-२४ ले अघि बढेको हेल्प नेपालले खेलमा २६-२६ ले बराबरीमा रोकिएपछि खेल २७-२७ मा पुग्यो। त्यसपछि लगातार २ अंक जोडेपछि हेल्प नेपालले उक्त सेट २९-२७ ले जित्यो।
जितसँगै खेल २-२ को बराबरी गरेपछि खेल पाँचौँ सेटमा धकेलियो। निकै रोमाञ्चक बनेको पाँचौँ तथा अन्तिम सेटमा आर्मीमाथि हेल्प नेपालले २२-२० ले जित निकाल्दै दोस्रो पटक च्याम्पियन बनेको हो।