जीवनको उत्तरार्धमा चार छोराले एक्लै बनाएकी नानीछोरीले धानेको श्रीमानको व्यवसाय
काठमाडौँ । भक्तपुर कमलविनायकको बसपार्कबाट सिधै तल, हरियो पोखरी छेउमै रहेको छ ६० वर्षीय नानीछोरी प्रजापतिका माटोका भाँडा पसल । पसल बाहिर नै लहरै सजिएका छन् खुत्रुके, गमला, घैँटा र दियोहरू ।
उनी बिहानै उठेर दैलो उघारेपछि उनका पसल आफैँ उघ्रिन्छन् । किनकि उनले घरको सिडीलाई नै भाँडा पसल बनाएकी छन् । अहिले वृद्धावस्थामा तिनै भाडाहरू उनको (नानीछोरी) को सहारा बनेका छन् । त्यसो त उनी सधैँ पसल खोल्दिनन् । वृद्ध अवस्था भएसँगै उनमा हात, खुट्टा र गोडा दुख्ने समस्या भएको छ । उनी राम्ररी चलमल गर्न पनि सक्दिनन् । तर बाध्यता छ । तिनै भाँडाहरूको सहायताले जीविकोपार्जन गरिरहेकी छन् ।
नानीछोरीका ४ जना छोराहरू छन् । सबै छोराहरू विवाह गरेपश्चात् छुट्टिएर बसेका छन् । आजभन्दा ६ महिना पहिले उनका श्रीमान् बिते । उनका श्रीमान् आसकुमार उनीभन्दा १५ वर्ष जेठा थिए । उनी अचानक बिरामी परेका थिए । पहिले आसकुमारमा कुनै लक्षण देखिएको थिएन । अस्पतालमा गएपछि थाहा भयो उनी क्यान्सरको लास्ट स्टेजमा रहेछन् । उनलाई फोक्सो र कलेजोको क्यान्सर भएको रहेछ । उनको उपचारमा करिब डेढ लाख जति खर्च भयो । तर आसकुमारलाई बचाउन सकिएन ।
थला परेको एक महिनामै उनी बिते । त्यसपछि नानीछोरी एक्लिएकी हुन् । उनी भन्छिन् ‘श्रीमानको काजक्रिया गरेको पैसा अझै तिर्न सकेका छैन ।’
आसकुमार पहिले माटोका भाँडाहरू बेच्न लैजान्थे । उनलाई पूजा गर्दा चामल राख्ने भाँडा (सलिचा) मात्र बनाउन आउँथ्यो । त्यसैले उनी प्राय सबै भाँडाहरू किनेरै बेच्न लैजान्थे । उनी घ्याम्पा, घैला, गमला, पाला, दियो र अन्य माटोका भाडाहरू खर्पणमा बोकेर कहिले नगरकोट त कहिले पनौतीसम्म पुग्थे । भाडाहरू बिक्री गरेर उनी ३-४ दिनमा मात्र घर फर्कन्थे ।
आसकुमारले भाँडासँग साटेर चामल, गहुँ, मकै, कोदो ल्याउँथे । नानीछोरीले ती अन्नहरू पकाएर सबैलाई खुवाउँथिन् । केही अन्नहरूबाट उनले छ्याङ बनाएर बेच्थिन् । अनि छ्याङ बेचेर आएको पैसाले फेरि चामल खरिद गर्थिन् । उनीहरूले त्यसरी नै छोराहरूलाई पढाए । उनले भनिन् ‘पछि पछि चैँ पैसा आयो नि ।’
समाजमा व्यापार विनिमयको अन्त्य भई सामानहरू पैसामा किनबेच हुने प्रचलन भित्रिएसँगै उनीहरूको जीवनमा पनि परिवर्तनहरू देखिए । मानिसहरूले प्लास्टिकको भाँडाहरू प्रयोग गर्न थालेपछि माटोका भाँडा पनि बिक्री भएन ।
आसकुमारले ठाउँठाउँ डुलेर भाडा बेच्ने काम बन्द गरे । उनीहरूले करिब ५-६ वर्ष अगाडि मात्र घरको सिडीमा पुनः माटोका भाँडा बेच्न सुरु गरेका रहेछन् । नानीछोरीले भनिन् ‘अहिले बिक्री गर्न थालेको ५-६ जति वर्ष भयो ।’
श्रीमान् बितेपछि नानीछोरी एक्लिएकी छन् । उनी बिहान ६ बजे उठ्छिन् । कुकुरलाई डुलाउन लैजान्छिन् । आज मंगलबार भएकोले (यो स्टोरीका लागि उनीसँग मंगलबार कुराकानी भएको हो) नानीछोरीको दैनिकी अलि फरक थियो क्यारे । उनी पूजा गर्न दत्ततराई मन्दिर समेत गइन् ।
श्रीमान् बितेपश्चात् उनी एक्लैले पसल चलाएकी रहेछन् । आसकुमारले ठिमीबाट भाँडा खरिद गरेको उनलाई थाहा थियो । उनले पनि त्यहीबाट सामान मगाइन् । सामान उनको घरसम्मै आइपुग्यो । श्रीमानले सम्हालेको कारोबार अब उनी एक्लैले सम्हालेकी छन् ।
उनले सामानहरू तिर देखाउँदै भनिन् ‘अब भएको मात्र बेच्ने । गाह्रो छ बेच्नै । सामान लिन, ल्याउन पनि गाह्रो भयो ।’ उनले थपिन् ‘सामान किन्न पैसा हुँदैन, आएको पैसा सबै खर्च हुन्छ । पछि सामान लिन जाँदा पैसा हुँदैन । त्यस्तो छ ।’
उनले भाँडा बिक्री नभएको र पसलमा नयाँ सामान राख्नको लागि समेत पैसा नभएको बताइन् । भनिन् ‘हिजो दिनभर २ सयको व्यापार भयो । बत्ती बाल्ने दियो, खुत्रुके एउटा बेच, चामल राख्ने सलिचा ५० रुपैयाँको एउटा बेचेँ ।’
उनले अहिले माटोको भाँडाहरू बिक्री हुन छाडेको बताइन् । उनले महिनामा ४-५ हजारको सामान बिक्री हुने बताइन । उक्त पैसाले खान अपुग हुने उनको भनाई छ ।
नानीछोरीको पसल सानो देखिए पनि सफा छ । धुलोले छोपिएका खुत्रुकेहरूलाई उनले दिनकै पुछेर सफा बनाउँछिन् । लहरै मिलेर बसेका गमला, खुत्रुके, दियो, धुपौरो, घ्याम्पा, टपरी, कुचोहरूले तपाई, हाम्रै प्रतीक्षा गररहे झैँ देखिन्छ ।