अरूको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरू छैनन्, अर्को फिल्म के हुन्छ थाहा छैन : अनमोल केसी
काठमाडौँ । चलचित्र ‘फर्की फर्की’ को ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफ्ना लागि ‘फर्की फर्की’ नयाँ किसिमको र चुनौतीपूर्ण रहेको बताए ।
उनले आफ्ना लभ स्टोरी चलचित्रहरू दर्शकहरूले बढी रुचाएकाले यस चलचित्र पनि रुचाउने अपेक्षा व्यक्त गरे । उनले अन्य कलाकारहरूले भनेको जस्तो आफूसँग पाइपलाइनमा १० वटा फिल्महरू नरहेको बताए ।
उनले कुनै नयाँ फिल्म खेल्ने योजना नबनाएको बताउँदै चलचित्र ‘फर्की फर्की’को नतिजापछि मात्रै अर्का फिल्मबारे सोच्ने बताए । उनले यो फिल्मपछि कुन फिल्म आउँछ भन्नेबारेमा आफू पनि अनविज्ञ रहेको बताए ।
उनले भने ‘मेरा लागि यो प्रोजेक्ट नयाँ किसिमको र चुनौतीपूर्ण थियो । मेरो अडियन्सले लभ स्टोरी रुचाउनुभएको छ । त्यसलाई नै मैले अहिले पस्किएको छु । यो ट्रेलरमा स्टोरी खुलाएका छैनौँ । दोस्रोमा धेरै खुल्नेछ । अरु एक्टरहरुको जस्तो मेरो पाइपलाइनमा १० वटा फिल्महरू पनि छैन । प्लान पनि त्यस्तो केही गरेका छैन । यो फिल्मपछि मेरो कुन फिल्म आउँछ, म आफैँलाई थाहा छैन । यसको रिजल्ट जे हुन्छ, त्यही अनुसार म मेरो अर्को फिल्म डिसाइड गर्छु ।’
चलचित्र फर्की फर्कीलाई सुयोग गुरुङले निर्देशन गरेका हुन् । सुयोगकै कथा एवं पटकथा रहेको फिल्मको निर्मातामा ओमप्रकाश अग्रवाल छन् । मनोज वली र रामु न्यौपाने सहनिर्माता, अरूण रिजाल एसोसियट निर्माता रहेको फिल्ममा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन् । काफिया फिल्मस र कुबेर फिल्मले ’फर्की फर्की’ लाई वितरण गर्नेछन् । यो लभस्टोरी फिल्म बुद्ध जयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । फिलममा केसीसँगै जसिता गुरुङ, कृष्ण मल्ल, निर्मल शर्मा, रवि काफ्ले, समृद्धि अर्याल लगायतको अभिनय रहेको छ ।