आगलागीको जोखिम वर्षैभरि, कहाँ चुक्यो सरकार ?
काठमाडौँ । आजभोलि हाम्रो समाजमा दैनिकजसो आगलागीका घटनाहरू भइरहेका छन् । हुन पनि चैतदेखि वैशाखसम्मको अवधिलाई आगलागीको उच्च जोखिम भएको महिना मानिन्छ । दिनहुँ जसो विभिन्न सञ्चारमाध्यममा आगलागीका समाचारहरू प्रकाशित भइरहेका हुन्छन् ।
आगलागीका कारण अर्घाखाँचीमा १३ परिवार बासविहीन भएका थिए । सर्लाहीमा आगलागीमा घर जलेर दुई परिवारको बिचल्ली हुनुका साथै लाखौँ रुपैयाँको क्षति भयो । अनि घर ढलान गर्न पूजा गरेको धूप सल्किएर सर्लाहीको शिवनगरमा तीनवटा पसल जलेर पूर्ण रूपमा नष्ट भयो । केही दिन अगाडि मात्र वनबाट फैलिएको आगोले जलेर ७० वर्षीया वृद्ध बुदी कामीको मृत्यु र तीन घर जलेर नष्ट भएको थियो ।
गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौँको क्षति भएको थियो । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका थिए । शनिवार (वैशाख-८) चलेको हावाहुरीका कारण डढेलो निभाउन नसक्दा आगो बस्तीमा प्रवेश गरी घर जलेका थिए । बस्तीमा आगो प्रवेश गरेपछि सर्वसाधारणले बारीका पाटामा बसेर ज्यान जोगाएका थिए । त्यसैक्रममा दर्जनौँ पशुचौपाया आगोले गोठमै जलेर मरे ।
स्याङ्जाको बिरुवा गाउँपालिका-७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा वैशाख ७ गते जलेर मृत्यु भयो । बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जङ्गलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा उनको मृत्यु भएको थियो ।
माथिका घटना र पात्रहरू नमिठो सपना वा चलचित्रका काल्पनिक पात्रहरू जस्तै भइदिए त हुने । तर यी घटनाहरू वैशाख ७ देखि १० गतेसम्म ३ दिनको अवधिमा देशका विभिन्न स्थानमा घटेका केही यथार्थ घटनाहरू हुन् । यी घटनाहरूले धेरै धनजनको क्षति हुनुका साथै थुप्रै परिवारहरूलाई घरबार विहीन बनाएको छ ।
दिनप्रति दिन आगलागीको घटनाले विकराल रूप लिँदै जाँदा वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयहरुले वैशाख ७ गते सिसी क्यामरा राख्न सुरु गरेको थियो । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि सिसी क्यामरा राख्न सुरु गरिएको थियो ।
तर मकालुखबरबाट प्रकाशित उक्त समाचारमा थुप्रै पाठकहरूले डढेलो नियन्त्रणका लाग सिसी क्यामेरा राखेर आगलागी नियन्त्रणमा सहयोग नपुग्ने र आर्थिक खर्च मात्रै हुने भन्दै आफ्नो विचार राखेका छन् । उनीहरूले जङ्गलमा डढेलो लाग्दा सिसी क्यामेरा पनि स्वतः जलेर नष्ट हुने बताए ।
यसरी आगलागीका कारण बर्सेनि धेरै मानिसहरूले अकालमै ज्यान गुमाउनु परेको छ । प्रत्येक वर्ष आगलागीकै कारण भौतिक, आर्थिक, प्राकृतिक र मानवीय क्षति भइरहेका छन् । यस्ता क्षतिहरू चैत वैशाखमा मात्र नभएर वर्षभरि नै हुन्छन् । त्यस्तै जाडो महिनामा आगो ताप्दा घरमा आगलागी हुने, ग्याँस लिक भएर वा विद्युत् सर्ट भई घरमा आगलागी हुने गर्दछन् ।
माथिका घटनाहरूले हालसम्म सरकारले आगलागी नियन्त्रणका लागि गरेका सम्पूर्ण प्रयासहरूलाई असफल साबित गरिदिएको छ । आगलागीका घटनाहरूलाई नियन्त्रणमा ल्याउन सरकार वा सम्बन्धित निकायले अझ विशेष ध्यान दिन आवश्यक देखिन्छ । हामी जनताहरूले पनि सरकारको मुख नताकी आगलागी हुन नदिन विशेष सावधानी अपनाउनु पर्दछ । साथै नेपाल सरकारले सार्वजनिक गरेको सचेतनाका उपायहरूलाई पालना गर्नुपर्छ ।