विश्वकप खेल्न नपाउने भएपछि सन्दीप लेख्छन्– म षड्यन्त्रको शिकार भएँ
विश्वकप खेल्ने नेपालको १५ सदस्यीय टोलि घोषणा भएकै दिन क्रिकेटर सन्दीप लामिछानेले भने भावुक स्टाटस लेखेका छन्। नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान समेत रहेका सन्दीप लामिछानेले आफू षडयन्त्रको शिकार भएको बताएका छन्।
बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै लामिछानेले आफू षडयन्त्रको शिकार भएकोमा कुनै शंका नरहेको बताएका हुन्।
उनले आफूविरुद्ध षडयन्त्र गर्नेलाई भगवानले मूल्याङकन गर्ने उल्लेख गरेका छन्। साथै सत्यतथ्य सबैकुरा समयसँगै बाहिर आउने पनि सन्दीपले बताएका छन् ।
उनले लेखेका छन्, ‘म लामो समय मौन रहेँ । म षडयन्त्रको शिकार भएकोमा मलाई कुनै शंका छैन। यस षड्यन्त्रका लागि आफ्नो भूमिका निर्वाह गर्ने सबैलाई ईश्वरले कल्याण गरून्। सबै कुरा ईश्वरमा छोडिदिन्छु। समयले सत्य प्रकट गरेर बताउनेछ।’
विश्वकपका लागि बुधबार मात्रै अन्तिम टोली घोषणा भएको हो। तर सन्दीप लामिछाने भने आफ्नो मुद्दाका कारण टोलीमा परेनन्। उच्च अदालतले सन्दीपको मुद्दामा फैसला गर्न ढिलाई गरिरहेको छ। यसअघि पटक पटक पेशी तोकिए पनि उच्च अदालतका न्यायाधीशहरुले सार्दै आएका छन्। यसअघि पालो आए पनि न्यायाधीशहरुले हेर्न नभ्याइनेमा राखेर २३ गतेलाई पेशी सारिदिएका छन्। जस कारण उनको मुद्दा विश्वकपको टोली घोषणा हुनुअघि टुंगिन सकेन।
सन्दीपका वकिलले भने कि क्रिकेट खेल्न दिन र नभए जेल पठाइदिन छिटो निर्णय गरिदिन अनुरोध गर्दै आएका छन्।
उच्च अदालतमा सन्दीपको मुद्दा विचाराधिन रहँदा उनी विश्वकपको टोलीमा समावेश हुन सकेनन् ।