मिसन ०८४ ले हावा खाइसक्यो, यस्तै अवस्था रहे रास्वपाको औचित्य सकिन्छ : गणेश कार्की
युवाहरूको आशा र सपना पूरा गर्छु भनेर गत निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी यतिबेला अलमलमा छ । नयाँ जोस,जाँगरका साथ निर्वाचनमा होमिएको रास्वपालाई आम नेपालीहरूले छोटो समयमा नै विश्वास गरेर प्रतिनिधि सभाको २१ सिटमा जिताए पनि । नो नट अगेनको नारा बोकेर निर्वाचनमा राम्रो सिट प्राप्त गरेको रास्वपा यतिबेला त्यही नाराको भारीबाट थिचिएको छ । किनभने पार्टीकै नेताहरू पुराना राजनीतिक दलहरूलाई समर्थन गरेर सरकारमा जानु उचित नरहेको बताइरहेका छन् । पार्टीका केन्द्रीय सदस्य गणेश कार्की सरकारबाट रास्वपा जतिसक्दो बाहिरियो त्यति नै पार्टीलाई राम्रो हुने तर्क गर्छन् । सरकारमा रास्वपाको भूमिका र आगामी बाटोको विषयमा केन्द्रित रहेर केन्द्रीय सदस्य कार्कीसँग गरिएको कुराकानीको सम्पादित अंश ।
पार्टी कसरी चलिरहेको छ, प्रश्नहरु निरन्तर उठिरहेको छ नि ?
हामीले प्रश्नहरुको जवाफ दिइरहेका छौँ । कति प्रश्नको जवाफ प्रष्ट दिएका छौं, कतिको अलिकति घुमाउन खोजिरहेका छौं र कतिपय प्रश्नहरुको जवाफ नदिएर तर्किरहेका छौं ।
यो भनेको के हो ?
हामी आफ्नो अनुकुलतामा जवाफ दिइरहेका छौँ । मिल्दो प्रसंग आयो भने चर्को स्वरमा जवाफ दिइरहेका छौँ । अलिकति ग्रे जोन (अस्पष्ट अवस्था) मा भएका विषयमा घुमाएर, आज आफू जोगिएर जवाफ दिइरहेका छौं । पुरानाहरू पार्टीको छल्दै बच्दै हिँडिरहेका छौं । कतिपय मुद्दा र विषयका बारेमा अहिले नगरौँ भनेर तर्क गरेर हिँडेका छौँ ।
यसरी हेर्दा पार्टी ठिकठाक चलेको जस्तो देखिएन ?
पार्टी छोटो समयमा ठूलो भयो । फिक्सन फिल्मको पात्र जस्तो सानोबाट एकै छिनमा ठूलो भएको । अस्वभाविक गति र रूपको बनेको जस्तो देखियो । जम्प गरेर हिँडे जस्तो हुँदा कहिले कता कहिले कता ठोक्किरहेको छ । ठोक्किएको विषयमा पार्टीभित्र समिक्षा नै हुन सकेन । यहाँ हामी चुकिरहेका छौं ।
पार्टी आउँदा राजनैतिक विकल्प दिनेगरी आएको, नयाँ सोचको साथ आएको भनिएको थियो, यस्तो अवस्थामा पुग्नु भनेको के ? कसरि व्याख्या गर्ने ?
पार्टी भित्र गम्भीरता देखिएन । फट्याङ्ग्रा उफ्रिए जस्तो पार्टी बन्यो । संसद्मा गइयो, संसदवाट सरकारमा, सरकारवाट फिर्ता अनि फेरि सरकारमा, त्यसपछि उपनिर्वाचनमा भाग लियौं, हाम्रो उम्मेदवारको जमानत जफत भयो । सबै तिब्र गतिमा भइरहेको छ । यो गति अस्वभाविक भयो । कतै हाम्रै शक्ति हामी माथि त आइलाग्ने होइन भन्ने डर भयो । हाम्रो उफ्राइ हेर्दा जता पनि लड्नसक्ने देखियो । रास्वपाको चरित्र नबन्दै अंक गणितको खेलमा आइसकेका छौं । अहिले रोकिनु पर्ने, समिक्षा गर्नुपर्ने अवस्थामा छौँ तर त्यो हुन नसक्दा निराशा छ ।
यो भनेको हामी सैद्धान्तिक रुपमा प्रष्ट छैनौँ, साथै संगठनात्मक विधि पद्धतिको अभावले यो अवस्थामा पुग्यौं होइन ?
हामीसँग नीति नभएको होइन । बाहिर नीति छैन, प्रष्ट छैन, भनिरहेकोले साँच्चै छैन कि क्या हो भन्ने भ्रम जस्तो देखिएको हो । पुरानो विचार सिद्धान्त मान्दिन भन्नु पनि सिद्धान्त हो नि, नीति हो नि । तर समयक्रमसँगै हामी पुराना दल जस्तै संगठन बढाउने पार्टीमा पदाधिकारी राख्ने भागबण्डामा हिस्सा खोज्न थाल्यौं । हामीले स्थायी रुपमा कुनैपनि बाद, सिद्धान्तलाई नअँगाली विषय र समयअनुसार नीति बनाउने भन्ने निर्णय लिएका थियौं । कुनै पनि बाद र नीतिलाई समय अनुसार लिन र त्याग्न स्वतन्त्र हुने भन्ने दस्तावेजमा लेखेका छौं । तर हामी अल्मलियौं ।
तपाइको भनाइको अर्थ रास्वपा, रास्वपा जस्तै रहेन, रंग उड्यो भन्ने हो ?
रंग उडेको होइन, बदलिएको हो कि जस्तो देखियो ।
त्यसो भए पार्टीमा छलफल किन नभएको, कि हुन नसकेको ?
पार्टीमा छलफल नहुने होइन, हुन्छ । हामी धेरै आ–आफ्नो क्षेत्रमा काम गरेर प्रश्न सोधिरहेका व्यक्तिहरु अहिले पार्टीमा छौँ । छलफल भएपनि विश्वासको वातावरण बन्न सकिरहेको छैन । को व्यक्ति कस्तो छ भनेर राम्रोसँग चिनेकै छैनौं । पार्टीको फड्को मार्ने गतिले छलफल हुन सकिरहेको छैन । अहिले पार्टि सरकारमा गएर आन्तरिक व्यवस्थापनमा लाग्न नै सकेन । अनि प्रश्नहरु धेरै आए ।
तपाइको भनाइ पार्टी सरकारमा जानु हुँदैन थियो ?
हो, जानु हुँदैनथ्यो । हामीले सरकारमा जान्न भनेर नै भोट मागेको हो । नो नट एगेन अभियान हामीले चलाएको हो । हामीले पुरानो प्रवृत्ति बिरुद्ध लड्ने भनेका थियौं । तर अहिले प्रवृत्ति पनि स्वीकारेको पुराना व्यक्ति पनि स्वीकारेको अवस्थामा पुगेका छौँ । हुँदाहुँदा सबै यस्तै त हो नि भन्नेमा पुग्यौँ । राजनीति भनेको यस्तै रहेछ भन्न थालिसक्यौँ । अब तिनै पुराना नेता अनि प्रवृत्ति बोकेर हिँडेको हो कि भन्ने शंका उब्जेको छ । इलामको उपनिर्वाचनले त झन् शंकालाई बलियो स्थान दिएको छ । यो हाम्रो गलत बाटो हो कि भन्ने छ । हामीले माग र मुद्दामा अरु पार्टीका नेता कार्यकर्तालाई समाहित गराउन सकिन्छ भन्ने विश्वास दिलाउन सकेनौँ । पार्टी परिवर्तन हैन भोट परिवर्तन गुर्नुहोला भन्ने मुद्दा जोडका साथ उठाउन सकेनौँ । हामीले ठूलो संगठन बनाउने भन्दै आत्मविश्वास गुमाएका छौँ । यस्तै कमजोरीले हाम्रो फरक चरित्र बन्न सकेन ।
सरकारमा जाँदा पार्टी कमजोर हुन्छ भनेर तपाइहरुले किन भन्न नसकेको, किन छलफल गर्न नसकेको ?
हाम्रो पार्टी भित्र सरकारमा जान हुने र जान नहुने तर्क बोकेका व्यक्तिहरु छौँ तर विचार समूह बनेको छैन । हामीले आ–आफ्नो विचार राखेका छौँ । मत विभाजन गरेको अवस्था छैन ।
त्यसो भए पार्टी सरकारमा किन गएको होला तपाइको विचारमा ?
यसमा विभिन्न कारणहरु छन् । पार्टी सरकारमा जानु कारण म एक एउटा कार्यकर्ता र केन्द्रिय सदस्यको हैसियतले भन्नुपर्दा पार्टी सरकारमा काम गर्नको लागि नै गएको हो । साथीहरुमा काम गर्ने हुटहुटी पनि थियो । तर पार्टी सरकारमा जानु हुँदैनथ्यो काम गर्ने देखाउने, हुटहुटी देखाउने समय यो थिएन ।
असल नियत र काम गर्ने हुटहुटी भएकाले मलाई फलानो मन्त्रालय नभइ हुँदैन कसरि भन्न सकेको ?
हो यसमा शंका गर्ने ठाँउ छ । जसरी घटनाक्रम अगाडि बढेको छ, जसरी समाचारहरु आइरहेको छ, यसमा शंका गर्ने ठाँउ छ ।
त्यसो भए सरकारमा गएको विषयबारे जवाफ दिन पक्कै सजिलो भएको छैन ?
हामी काम गर्न नै गएको हो । काम नभएको पनि देखिँदैन, निरन्तर भइरहेको छ, व्यस्तता बढेको छ म स्वयं शिक्षामन्त्रीलाई सघाउने जिम्वेवारीमा छु । धेरै भए जस्तो देखिन्छ । तर कामको प्रतिफल लक्षित वर्गमा पुग्यो कि पुगेन भनेर हेर्दा प्रश्न गर्ने ठाउ धैरै छ । कामको चाङ्गमा अलमलिएर ब्यस्त भएका छौं, यसले जनतासँग दूरी बढेको छ । परिणाम नै देखिएन ।
हुन त अहिलेका पार्टी सभापति केन्द्रमा रहेर नै यसको जन्म भएको हो, अहिले समस्याको जड नै त्यहि केन्द्र हो कि भन्ने पनि देखियो ?
रास्वपालाई एउटा माला बनाउने कडी नै रवि लामिछाने हुन् । अरु कोही होइन । राष्ट्रिय स्वतन्त्र पार्टीको मालाको धागो रवि लामिछाने नै हुन् । तर माला भनेको धागो मात्र हो, त्यसमा उनिएको फूल केही होइन भन्न थालिएको छ । रविजीको वरपर घुम्नेले धागो भनेकै माला, माला भनेको धागो भनेर सुनाउँछन् । पार्टी सभापतिलाइ नै भ्रममा पारिएको छ । अहिले हाम्रो पार्टी सभापति सरकारमा गएकै कारणले समस्या परिरहेको छ । पार्टी भनेकै रवि लामिछाने भन्ने भ्रम फैलाइएको छ । धागोले म मात्रै हो माला भनेर देखिएको अवस्था छ । पार्टीमा बढी क्षति रवि लामिछानेजी सरकारमा गएको कारणले भएको छ ।
तपाईहरुलाई सरकारसँगै सभापतिको बारेमा व्यक्तिगत रूपमा उठेका प्रश्नहरूले पनि समस्यामा पारेको छ होइन ?
मेरो विचारमा विपक्षीले संसद रोकेर संसदीय छानविन गर्नुपर्छ भन्यो भने बनाउनु पर्छ भन्ने हो । तर यहाँ समस्या देखियो, यो दुःखद् छ । मुद्दाहरू सवालहरू राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको बिरुद्ध होइन । यो रास्वपा गठन हुनुपूर्व रवि लामिछानेको विरुद्धको मुद्दा हो । सभापति रवि लामिछाने र एउटा मिडिया चलाउने रवि लामिछाने अलगअलग हुन् ।
रवि लामिछाने बिरुद्धको मुद्दाको भारी पार्टीले बोक्छ त ?
विल्कुलै बोक्दैन । बोक्नु पनि हुँदैन । यहाँ हाम्रो गल्ती भएको छ । हामीले दुई वटा रवि लामिछाने छुट्टयाउन अपm्ठ्यारो मानिरहेका छौँ । व्यक्तिगत रूपमा रवि लामिछानेसँग जोडिएका मुद्दामा पार्टी जोडिन हुँदैनथ्यो । जे जे व्यहोर्नुपर्ने व्यक्तिगत रूपमा रविजीले व्यहोर्नु हुन्थ्यो ।
रविजीले पार्टी बैठकमा के भन्नुहुन्छ ?
होइन नै भन्नुहुन्छ । यसमा अर्को कुरा पनि छ । हामीसँग भएका कानून कडा र जटिल छन् । व्यवहारमा ढाल्न वा कार्यान्वयन गर्न नसक्ने खालका छन् । यसमा सुधारको आवश्यकता छ । तर कानूनी र व्यवहारिक पाटो फरक हो । कहिलेकाही यसमा व्यक्ति फस्न सक्छ । यसरी फसेको व्यक्ति आफू जोगिन जे पनि गर्छु भन्नु गलत हुन्छ । समस्याको गाँठो झन कसिलो हुन्छ । बरु आफ्ना कुरा प्रष्ट रुपमा भनेको भए द्विविधा हुँदैनथ्यो । हामीले पार्टी सभापतिलाई जोगाउनु छ नैतिक रुपमा बलियो बनाउनु छ । साथै रवि लामिछाने र पार्टी सभापति एकै होइन भन्नुछ । एकैठाउमा मिसाएर सिंगो पार्टी, पार्टीको अभियान, देशभरको उत्साह तोड्न पाइँदैन । रविजी माथि उठेको प्रश्नको जवाफ दिनुपर्छ, उहाले दिइरहनुभएको छ । तर प्रश्नहरू निरन्तर उठिरहेको छ । जवाफ दिइरहनु पनि भएको छ । यसलाई हेर्दा कतै जवाफ दिने तरिका बदल्ने हो कि । यहाँ त प्रश्नको चक्र जस्तो देखिएको छ एकपछि अर्को गरेर ।
रवी लामिछानेमाथि संसदीय छानविन समिति बनाउदा फरक पर्दैन भन्ने तपाईंको भनाइ हो ?
हो, छानविन समिति बनाउन सकिन्छ । म मेरो सभापति सबै आरोपबाट मुक्त हुनुहुन्छ भन्ने अपेच्छा राख्दछु । हामीले छानविन समिति माग गर्ने सबैलाई बिरोधीको नजरले हेर्न हुँदैन । छानविन समितिलाई नै पार लगाउने भन्दा पनि प्रश्नहरुको जवाफ दिएर निमिट्यान्न पार्नेतर्फ सोच्नुपर्छ ।
संसदको गतिरोध अन्त्य गर्न तपाईंहरूको पनि भुमिका हुन्छ कि हुँदैन ?
संसद एक दिन पनि बन्द हुनुहुँदैन । संसद खुला राख्नुपर्छ भनेर हामीले अभियान नै चलाएका हौँ । समिति बन्न वा बनाउन नसकेर संसद अवरोध हुने कुरामा मलाई दुःख लाग्छ ।
२८ गतेबाट शुरु हुने भनिएको अधिवेशन नै रोकिनसक्ने देखियो, बस्न नै नसक्ने अवस्था देखियो नि ?
हो, हाम्रो कारणले संसद अवरुद्ध हुने विषयमा दुःख व्यक्त गर्दछौं । संसदीय छानवीन समिति बनाउने र बनाउन नदिनेबारे स्पष्ट धारणा हुनुपर्छ । संसदीय समिति व्यक्ति विशेषको लागि भन्दा पनि समग्र समस्याको निकास खोजिने गरी समिति बनाउन हामी तयार छौँ ।
पार्टीको मिसन ०८४ बाटोमा नै अलमलियो होइन ?
हामी सरकारमा मिसन ०८४ कै आधारमा जान खोजेको हो, गएको पनि हो । तर अर्कैको मिसन ८४ को लागि पुग्यौं । हामीले नो नट एगेन भनेको ओलीलाई अँगालो मारेर प्रचण्डलाई बोक्न गएपछि मिसन ०८४ ले हावा, खायो । हामीलाई यसले मिसन ०८४ मा ठूलो क्षति गर्छ । यो निर्णयले कसैलाई पनि खुशी दिएको छैन । सरकारमा गएका साथीहरूले काम गरेर देखाउने अवसर छ । यो अवसर पनि गुमायौं भने ठूलो युवा पंक्तिमा निराशा छाउने देखिन्छ ।
अब पनि सरकारमा वस्ने सम्भावना कत्तिको छ ?
यो सरकारको भर छैन । अहिले हामी बोलिरहेको छौं यही बेला बाहिर सरकार ढलिसकेको पनि हुनसक्छ । यो पूर्णकार्यकाल टिक्न पनि सक्छ । सरकारमा रहेकाको सिद्धान्त र चरित्र नै स्पष्ट छैन । सरकार रणनीतिको रुपमा सञ्चालन भइरहेको छ तर के गरिरहेको के भइरहेको स्पष्ट छैन काम पनि पारदर्शी छैन ।
अलिकति इलामको कुरा गरौँ, इलाममा किन हारियो ?
हामी सरकारमा गएर नै गलत भएको हो । सरकारमा गएर निकम्माहरुसँग संगत गर्न थालेपछि हारियो । जनताले पुराना र नयाँको फरक नै छुट्याउन सकेनन् । इलाम निर्वाचनमा जानु अगाडी पार्टीले आफ्नो चरित्र नै बिगारीसकेको थियो सरकारमा गएर । उम्मेद्वार त गौण कुरा भयो । हाम्रो हार हाम्रो पराजय सरकारमा गएकै कारणले हो ।
तपाइको निष्कर्ष सरकारमा जति बसिन्छ त्यति पार्टी कमजोर हुँदै जान्छ भन्ने हो ?
यसबारे मेरो प्रष्ट धारणा छ । सरकारमा जानु हुँदैनथ्यो । पार्टीका राम्रा साथी सरकारमा जानुभयो । साथीहरु नर्क जाने बाटो पिच (कालोपत्र) गर्दै हुनुहुन्छ । बाटो जति राम्रो बनाए पनि पुगिने गलतमा नै हो । यसले स्थापित गर्ने सत्य नयाँले पनि पुरानालाई नै बोक्ने भन्ने हो । यो सत्य जति समय आफूसँग रहन्छ निरन्तर क्षति हुन्छ । सरकारबाट निस्किए राम्रो ।
पछिल्लो राजनीतिलाई (जसपा फुटको) कसरी हेर्नुभएको छ तपाइको पार्टी त्यहाँ त पुग्दैन नि ?
रास्वपा फुट्दैन । किन फुट्दैन भने, रास्वपाभित्र समूह (विचार समूह) बनेको छैन । हाम्रो पार्टी भित्र एक अर्कामा राम्रोसँग परिचय नै भएको छैन । पार्टीमा पूर्णकालिन सदस्य नै छैनन् । पार्टी भित्र, राजनीतिमा रहिन भने के हुन्छ भन्ने खालका साथीहरु हुनुहुन्न । बरु पार्टीको चरित्र सकिएर अनुपयुक्त हुने अवस्था आउन सक्छ ।