जेठ १८ ‘सिइओ कन्फरेन्स’ हुने
काठमाडौँ । नेपाल व्यवस्थापन संघले जेठ १८ शुक्रवार सिइओ कन्फरेन्स आयोजना गर्ने भएको छ ।
संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जेठ १८ शुक्रवार काठमाडौँको सोल्टी होटलमा सिइओ कन्फरेन्स आयोजना गर्न लागेको जानकारी दिएको हो । सीइओ कन्फरेन्समा अन्तर्राष्ट्रिय विज्ञहरूबाट अनुसन्धानमा आधारित दृष्टिकोण, ज्ञान र विचार प्रस्तुत हुने संघले बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहनराज ओझाले परिर्वतनहरुलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ भन्ने मूल नाराका साथ सिइओ सम्मेलन गर्न लागेको बताए । उनले कामको भविष्य परिवर्तित परिदृश्य आत्मसात मुख्य विषय वस्तु रहेको बताए ।
अध्यक्ष ओझाले सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्यमा गर्नसक्ने अन्वेषणमा सहयोग पुग्ने बताए ।
संघले कोभिड–१९ महामारी,अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा सम्मेलनले वैश्विक मुद्दा सम्बोधनका लागि नेपालको व्यवस्थापनका नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्य सहयोग पुग्ने बताएको छ ।