लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष सरोज खनालले लिए शपथ
दाङ । लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा सरोज खनालले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज मुख्यमन्त्री जोखबहादुर महराले शपथ गराएका हुन् ।
शुक्रबार बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषद्को बैठकले खनाललाई नियुक्ति गरेको थियो । खनालले यसअघि प्रदेश योजना आयोगको सदस्य भएर पनि काम गरेका हुन् ।
कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ निवासी खनालले गएको वर्ष भदौमा नियुक्त भएर चैतसम्म काम गरे । उनीसँग यसअघि चक्रपानी खनाल सङ्घको कृषिमन्त्री हुँदा स्वकीय सचिव भएर काम गरेको अनुभव छभने सहकारी, शिक्षा, गैरसरकारी संस्थामा लामो समय काम गरेको अनुभव छ ।
सल्लाहकारमा आचार्य, अर्थविज्ञमा बौद्धिक
यस्तै प्रदेशका मुख्यमन्त्री महराको राजनीतिक सल्लाहकारमा दाङका निर्मल आचार्यलाई नियुक्त गरिएको छ । माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज समेत रहनुभएका आचार्यलाई मुख्यमन्त्री महराको सचिवालयमा रहने गरी नियुक्त गरिएको हो । उनले राज्यमन्त्री सरहको सेवासुविधा पाउनेछन् । आचार्यले आज पदभार ग्रहण गरेका छन् ।
अर्थ तथा विकासविज्ञमा तुलसीपुरका सुशान्त बौद्धिक नियुक्त भएका छन् । उनी यसअघिका मुख्यमन्त्री डिल्ली चौधरीको अर्थविज्ञका रूपमा कार्यरत थिए । वैदिकले लन्डन स्कूल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनीसँग लन्डनकै एक इकोनोमिक कम्पनीमा अर्थशास्त्रीका रूपमा काम गरेको अनुभव छ ।