मनकारी मोहम्मद, जो प्रशासनमा आउनेलाई खुवाउँछन् निःशुल्क खाना

काठमाडौँ । तनहुँका मोहम्मद गफ्फार पेसाले व्यवसायी हुन् । व्यास नगरपालिका वडा नम्बर २ घर भएका उनी अहिले व्यवसायमा मात्रै सीमित छैनन्, समाजसेवा समेत गरिरहेका छन् । आफ्नो पेसामा मात्र होइन, सेवाको काममा समेत उनी अब्बल छन् ।

उनलाई अहिले मान्छेहरूले व्यवसायी होइन, समाजसेवीका रूपमा चिन्न थालेका छन् । सानै देखि गीत सुन्न र समाज सेवा गर्न निकै रुचि राख्ने उनी लुम्बिनी आदर्श डिग्री कलेजमा अध्ययनरत पनि छन् ।

उनले आफ्नो रुचिलाई व्यवहारमा नै परिणत गरेपछि तनहुँवासी दङ्ग छन् । उनी कहिले सरसफाइ गर्छन् त कहिले नदी बचाउ अभियान सञ्चालन गर्छन् । पर्यटनको प्रवर्धनसँगै पहिचान र संस्कृतिको जगेर्ना गर्ने काममा उनी सक्रिय छन् । उनले आधिकारिक रूपमै बुल्दी चुदी खोला सरसफाइ तथा बचाउ अभियान नै सञ्चालन गरेका छन् । उनको यो कार्यको सबैले प्रशंसा गर्ने गर्छन् ।

यति मात्रै होइन, अहिले उनको थप चर्चा र प्रशंसा भइरहेको छ । जसको कारण हो- उनले जिल्ला प्रशासन कार्यालयमा तनहुँमा सेवा लिन आउने सेवाग्राहीलाई निःशुल्क खाना खुवाउँछन् । उनले अभियानकै रूपमा दमौलीमा राष्ट्रिय परिचयपत्र बनाउन आउने जेष्ठ नागरिकहरूलाई निःशुल्क खाना खुवाउन थालेका छन् ।

प्रशासनमा सेवाग्राहीको भिड लाग्ने भएकाले अहिले बिहानै ५ बजेदेखि सेवा दिन लाइन लाग्नुपर्छ । खाना समेत नखाएर दिनभर लाइन बस्नुपर्दा जेष्ठ नागरिकमा जोखिम हुने देखेपछि उनले निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका हुन् । उनी दैनिक बिहान साढे नौ बजेदेखि दिउँसो १ बजेसम्म खाना खुवाउने गर्दछन् ।

‘जति पनि बृद्धबृद्धाहरु हुनुहुन्छ उहाँहरू टाढाबाट आउनु भएको हुन्छ । उहाँहरू ४-५ बजे देखि लाइन बस्ने गर्नु हुन्छ’ उनले भने, ‘लाइन बस्ने क्रमका उहाँहरू लाइन छोडेर कहीँ जानु हुँदैन भोक भोकै लाइनमा बसेको देखेर उहाँहरूलाई सहज होस् भन्ने धारणाले यो अभियान सुरु गरेको हुँ ।’

उनको यो अभियान गत शुक्रवार देखी सुरु भएको हो । अभियानको तीन दिनमै उनले ७४० जनालाई खाना खुवाएका छन् । उनले पहिलो दिन ९०, दोस्रो दिन ३०० र तेस्रो दिन ३५० गरी जम्मा ७४० जनालाई खाना खुवाएका हुन् ।

यो काम गर्न पाउँदा आफू खुसी भएको र आमाबुवाहरूलाई खुसी बनाउन सकेको बताए । उनले सेवा सहजपुरमा नपाउन्जेल यो अभियान चलिरहने बताए ।

‘यो अभियान बृद्धबृद्धाहरुलाई सहज नभए सम्म निरन्तर चलिरहनेछ’उनी भन्छन्,‘यो अभियानमा पहिला म आफैले आँटे त्यसपछि मेरो काम देखेर साथीभाइहरूले, विभिन्न क्लब तथा कलेजहरूले पनि खाना बनाउन बाँड्न देखि लिएर आर्थिक रूपमा सहयोग आएको छ ।’

गफ्फरको यो अभियानले जिल्ला प्रशासनमा सेवा लिन आउने जेष्ठ नागरिकहरुपनि खुसी भएका छन् । अहिले तनहुँ प्रशासनमा तीन दिनसम्म पनि सेवाग्राहीले पालो पाउँदैनन् । जस कारण मारमा परेका जेष्ठ नागरिकलाई गफ्फरको यो अभियानले राहत दिएको छ ।

उनी भन्छन्– ‘सरकारले हरेक कार्यमा प्रक्रिया पुरा गरेर कार्य गरेमा जनताहरूले दुख पाउँदैनन्, बृद्धाआमाबुवाहरु राष्ट्रिय परिचय पत्र नबनाए वृद्धा भत्ता पाइँदैन भनेर टाढाबाट आएका हुन्छन् । तर यो कार्यको लागि भने मेसिनहरूको कमी र कर्मचारीको कमिले गर्दा कार्यमा असहज भएको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *