नयाँ सोचका साथ बजेट निर्माण गरिएको छ, त्रिभुज परियोजना महत्त्वपूर्ण : प्रधानमन्त्री
गण्डकी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटका अधिकांश प्रावधान सबै प्रदेशका साझा भए पनि गण्डकीमा महत्त्वपूर्ण र ऐतिहासिक योजना कार्यान्वयन गर्न लागिएको जानकारी दिएका छन् । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित पार्टी प्रशिक्षणमा उनले प्रदेशका विकासमा महत्त्वपूर्ण योगदान पुग्ने गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेट निर्माण भएको बताए ।
उनले आव २०८१/८२ को बजेटले कृषिको रूपान्तरण, ऊर्जाको विकास, सूचना प्रविधिको विकास, पर्यटन प्रवर्द्धन र उद्यमशीलता र औद्योगिक विकासलाई विशेष प्राथमिकतामा राखेको उनले जानकारी दिए । ‘भरतपुर, बुटवल र पोखरालाई गण्डकी त्रिभुज परियोजनाको रूपमा विकास गरिने छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो परियोजना मुलुककै महत्त्वपूर्ण र ऐतिहासिक हुनेछ ।’ म्याग्दी, मुस्ताङ, मनाङ र गोरखाको हिमाली क्षेत्रमा कस्तुरी–मृग लगायतका वन्यजन्तुपालन गर्ने व्यावसायिक फार्म स्थापना गर्नेगरी नयाँ सोचका साथ बजेट निर्माण गरिएको उनले बताए ।
देशकै ‘लोड सेन्टर’मा रहेको एक हजार दुई सय मेगावाटको बूढीगण्डकी आयोजनाको निर्माण सुरु गर्ने र यस परियोजनाले देशकै ऊर्जा क्षेत्रमा दीर्घकालीन फाइदा हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ४२ मेगावाटको मोदी ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सुरु गरिने जानकारी दिए ।
मुक्तिनाथ दर्शनयातायात सेवा सञ्चालन गरी तीर्थयात्रीलाई सहज रूपमा प्रमुख धार्मिकस्थल दर्शन गर्ने व्यवस्था मिलाउने योजनासहित सरकारले बजेट विनियोजन गरेको उल्लेख गर्दै उनले गुरिल्ला ट्रेल लगायतका पर्यटकीय पूर्वाधारको विकास गर्ने, गण्डकीलाई पर्यटनको ‘हब’ बनाउने महत्त्वपूर्ण काम अगाडि बढाइने बताए ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘भौतिक पूर्वाधारको क्षेत्रलाई पनि सरकारले विशेष प्राथमिकतामा राखेको छ । मुग्लिङ–पोखरा सडक खण्डको विस्तार कार्य सम्पन्न गर्ने, बुटवल–पोखरा सडक खण्डलाई डेडिकेटेड दुई लेनमा स्तरोन्नति गरिने गरी सरकार अगाडि बढेको छ । घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण गर्ने एवं बन्दीपुरको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई संरक्षण र सम्बद्धन् गर्न विविध कार्यक्रम सञ्चालन गरिने छ । तनहुँको चुँदी रम्घामा सबै नेपाली भाषाभाषिका मूर्धन्य स्रष्टाको प्रतिमा र सप्तधामसहितको भानु साहित्य उद्यान स्थापना गर्ने छ । ’
गोरखामा राजतन्त्रदेखि गणतन्त्रसम्मको अभिलेख रहने गरी ऐतिहासिक सङ्ग्रहालय निर्माण, मुस्ताङमा वायु गुणस्तरमापन केन्द्र विस्तार, टाकुरा पर्यटकीय गन्तव्यको विकास जस्ता कार्यक्रमले यस क्षेत्रमा रोजगारी सिर्जना गर्नुका साथै आयआर्जनमा सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।
पोखरामा मेडिकल कलेज स्थापना गर्ने कार्य अघि बढाउने, पोखरा प्रादेशिक अस्पतालको क्षमता पाँच सय शय्यामा विस्तार गर्ने, मध्यपहाडी पुष्पलाल लोकमार्गको निर्माण कार्यलाई तीव्रता दिने र गोरखाको लिगलिगकोट, भच्चेक, बारपाक, बुङकोट, गोरखाबजार, मनकामना, बेनीघाटसम्म पड्वेयातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माणकार्य अगाडि बढाइने तयारीसहित बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए ।
पोखरामा एकीकृत सहरी पूर्वाधार विकास, नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला सदरमुकामको प्रशासनिक केन्द्रको पूर्वाधार निर्माणलाई प्राथमिकता, गोरखकाली रबर उद्योगलगायतका उद्योग सार्वजनिक–निजी साझेदारीमा सञ्चालनमा ल्याउने कार्यक्रम यस क्षेत्रका लागि थप महत्त्वपूर्ण हुने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे ।