शिक्षिकाले मर्मत गरे हुरीले उडाएको विद्यालयको छानो

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–३ मा अवस्थित सरस्वती आधारभूत विद्यालयका शिक्षिकाले हुरीले उडाएको छानो मर्मत गरेका छन् । यही जेठ १७ गते आएको हुरीले उडाएको विद्यालयको छानो विद्यालयमा अध्यापनरत शुभकामना कुँवर, निर्मला राना र बन्दना भट्टराईले मर्मत गरेका हुन् ।

हुरीले छानो उडाउँदा पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँ अग्रसर भएर मर्मतमा जुटेका विद्यालयका प्रधानाध्यापक सरस्वती भट्टराईले जानकारी दिइन् । विद्यालयको दुईवटा भवनमध्ये एउटाको छानो हुरीले उडाएको थियो । दुवै भवन जीर्ण अवस्थामा रहेका उनीले बताइन् ।

छानो नउडाएको अर्को भवनमा विद्यार्थी राखेर अध्यापन गराउँदै आइएको प्रधानाध्यापक भट्टराईले बताइन् । उनीका अनुसार विद्यालयमा ३१ जना विद्यार्थी अध्ययनरत छन् । छानो नहुँदा पानी परेर पठनपाठनमा समस्या भएपछि शिक्षिका आफैँले मर्मत थालेको उनीको भनाइ छ ।

प्रधानाध्यापक भट्टराईका अनुसार यसबारेमा गाउँपालिकालाई खबर गरिएको थियो । पालिकाबाट छानो छाउन समय लाग्ने जानकारी पाएपछि पुरानै छाना मर्मत गरी पठनपाठन सञ्चालन गरिएको उनीले बताइन् । विद्यालयमा सातजना शिक्षक छन् ।

बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले हुरीले पालिकाभित्रका धेरै विद्यालय र घरहरूमा क्षति पुगेको बताए । आवश्यकताका आधारमा तत्काल त्रिपाल पठाइएको भन्दै विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर काम गरिने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *