कानुनअनुसार समाजलाई मान्य हुनेगरी आए ‘टिकटक’ सँग आपत्ति छैन : मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई मान्य हुनेगरी टिकटक लगायतका कुनैपनि सामाजिक सञ्जालहरू नेपालमा चलाउँदा आपत्ति नहुने बताएका छन् ।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । समाजमा अमर्यादित गतिविधिलाई महत्त्व दिनेगरी टिकटकमा सामग्रीहरू उत्पादन र प्रसारण भएका कारण सरकारले नेपालमा टिकट बन्द गरेको बताउँदै कानुनी रुपमा अहिले पनि टिकटक बन्द अवस्थामा रहेको बताइन् ।

उनले सरकारले नेपाल टेलिकम लगायतका ठूला इन्टरनेट सेवा प्रदायकबाट अहिले पनि टिकटक चलाउन नदिइएको बताइन् । उनले नियम कानुनको पालना गर्नेहरूले टिकट चलाउन नहुने बताइन् । उनले सामाजिक सञ्जाल समाजअनुकुल हुनेगरी प्रयोग गर्न आवश्यक रहेको बताइन् । सामाजिक सञ्जाल सम्बन्धी विधेयक मन्त्रालयबाट मन्त्रीपरिषद्मा पेस गरिएको जानकारी दिँदै अब संसदीय समितिमा गई व्यापक छलफल हुने विश्वास व्यक्त गरिन् ।

उनले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी भएको र अहिले सामाजिक सञ्जाल विधेयक संसदमा दर्ता गर्ने प्रक्रियामा रहेको बताइन् । मन्त्री शर्माले नेपालका कानुनहरू, नेपालको समाजको महत्त्व आफ्नै भएकाले सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरू आउँछन् भने आपत्ति नरहेको बताइन् । टिकटक नाममा समस्या नभई कन्टेनमा समस्या रहेको भन्दै नेपालको नियम कानुन र सोसल भ्याल्युलाई मानेर आउँदा र नेपालमा दर्ता भई स्वनियमन कायम गरे सबै सामाजिक सञ्जाल चलाउन सकिने बताइन् ।

उनले भनिन् ‘सामाजिक सञ्जाल सम्बन्धी हामी विधेयक क्याबिनेटमा गएको छ । आउने मन्त्रीपरिषद्को बैठकमा सामाजिक सञ्जाल सम्बन्धी विधेयक छलफल हुन्छ । त्यो विधेयक समितिमा जान्छ र सम्भवतः संसदको समितिमा आइपुग्दासम्म हामी व्यापक छलफल हुनेछ । नेपाल सरकारको यी विषयमा कुनै कानुन थिएन । हामीले सामाजिक सञ्जाल निर्देशिका, २०८० जारी ग¥यौँ । अहिले सामाजिक सञ्जाल विधेयक हामीले संसदमा दर्ता गर्ने प्रक्रियामा छौँ । यो गर्दै गर्दा सबै विषयमा हामीले छलफल गर्नुपर्छ । नेपालका कानुनहरू, नेपालको समाजको महत्त्व आफ्नै छ । यो सबैलाई मान्य हुनेगरी कुनैपनि सामाजिक सञ्जालहरू आउँछन् भने टिकटक लगायत कसैसँग पनि आपत्ति छैन । टिकटक नाममा हाम्रो कुनै समस्या होइन । टिकटकले जुन कन्टेनहरु दिन्थ्यो, त्यो स्वनियमनको व्यवस्था थिएन, सबैले स्वनियमनको व्यवस्था गर्नुपर्छ भनेर सोचेका हौँ । हामीले फेसबुक सञ्चालकहरूसँग भेटेका छौँ । उहाँहरूसँग हामीले उहाँहरूलाई नेपालको नियम कानुन र सोसल भ्याल्युलाई सबैले मान्नुपर्छ भनेका छौँ । यहाँ दर्ता भएको हुनुपर्छ । अहिलेसम्म कुनैपनि सामाजिक सञ्जाल दर्ता भएको थिएन । दर्ता भएर राम्रोसँग चलाउनु पर्छ । हामीले कानुनी दायरामा ल्याउने प्रयत्न गरेका हौँ ।’

मन्त्री शर्माले राजनीतिक रुपमा प्राप्त उपलब्धि र सामाजिक चेतनाको बीचमा अन्तर्विरोध भएको बताइन् । उनले राजनीतिक व्यवस्थाअनुरूपको सामाजिक चेतना कसरी निर्माण गर्ने ? भन्ने विषयमा राज्यको नेतृत्वदायी भुमिका हुन जरुरी रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *