गिरिबन्धुमा कमिसन खान नपाएपछि कांग्रेसले ‘स्यालहुँइया’ मच्चायो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा विकास हुन नदिन नेपाली काँग्रेसले ‘स्यालहुँइया’ मच्चाएको आरोप लगाएका छन् ।

बिहीवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा एमाले देशका लागि काम गर्न नदिनका लागि काँग्रेसले एमालेमाथि आक्रमण गरिरहेको बताए । उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताए ।

उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोढ टेलिकममा लगानी छ भन्नेहरु कता गए भन्दै प्रश्न समेत गरे ।

‘हाम्रो बारेमा, मिथ्या, अनर्गल प्रचार प्रसार गर्ने, झुटो बोल्ने यस्ता काम भएका छन् । अनेकथरी, एकपछि अर्को निस्किन्छ । एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ । एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो, केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर’उनले भने, ‘पशुपतिमा चढाएको जलाहरी भत्काएर, तौलिएर, सुन हो की होइन घोटेर उधुम गरे । सुनै चढाएको रहेछ । कहाँ गयो त्यो कराउने अहिले ? १०८ केजी सुनवाला कहाँ गयो त्यो । अर्को करायो एउटा । कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे । कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा । उनीहरुको सरकार थियो, अस्तिसम्म । किन ल्याएन फिर्ता ।’

उनले अहिले गिरिबन्धु टि स्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुँइया मच्चाइरहेको बताए ।

कानून, नियम बिना बलजफ्ती बिक्री गरेर गिरिबन्धु टि स्टेटको जग्गा बेचेकाहरु अहिले खान नपाएको रिसले कराइरहेको उनको अरोप छ । उनले वैचारिक संघर्ष गर्न नसक्नेहरुले एमालेमाथि प्रहार गरिरहेको बताए ।

अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए ।

उनले मिसन ०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पु¥याएर देशको विकास गर्नका लागि रहेको बताए ।

‘अहिले गिरिबन्धु टि स्टेट भनेर जानेका छन् । कराएका छन् । गिरीबन्धु टि स्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिगँह गरेर ७० बिगाह कानून, नियम बिना बलजफ्ती बिक्री गरेर खाएका थिए । तिनै तत्वहरुले खाएका थिए’ उनले भने,‘गिरिबन्धु टि स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानून हामीले बनायौँ, कानून बनाएपछि नियम कानूनभित्र बस्नुप¥यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुँइया मच्चाएका छन् । केपी ओलीले त्यो र यो ग¥यो भनेर । यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन् । देश बनाउने कसरी त्यो आइडिया छैन । अनि एमालेलाई बद्नाम गर्ने । यिनीहरुले यो काम गरेँ भन्ने त छैन नि । एउटा सिन्को भाँचेको छ, यिनीहरुले देशका लागि ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *