क्रिकेटको नाममा राजनीति गरेर नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजियो : क्यान

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले हुँदै नभएको झुटा कुरा गरिमामय सदनमा सांसदले उठाउँदा सम्मानित सदन, सांसद तथा नेपाली क्रिकेटको गरिमा घटाएको बताएको छ ।

शुक्रवार एक विज्ञप्ति जारी गर्दै क्यानले यस्तो बताएको हो ।

‘कुनै पनि आंशिक समेत सत्यता नभएको झुठो र कपोलकल्पित बुँदाहरू नेपालको गरिमामय सदनमा उठान गरेर एकजना माननीय सांसदज्यूले सम्मानित सदनलाई गुमराहमा राख्नुका साथै आफूले प्रतिनिधित्व गर्ने राजनीतिक दललाई समेत विवादमा ल्याउन खोजेको देखिन्छ । ’ विज्ञप्तिमा भनिएको छ ।

क्यानले क्रिकेट खेलको नाममा राजनीति गर्नेहरूले देशले विश्वकप खेलिरहेको  महत्त्वपूर्ण समयमा क्रिकेट तथा संघको विरुद्धमा अनर्गल प्रचार गर्दा विश्वकपमा सहभागिता जनाई रहेका राष्ट्रिय खेलाडी, नेपाललाई विश्वकपमा पुऱ्याउन अहोरात्र खटिएका संघका पदाधिकारी एवं सदस्यहरू, संघका कर्मचारीहरू तथा क्रिकेटसँग सम्बन्धित व्यक्ति लगायत क्रिकेट प्रेमीहरूको मनोबल गिर्न सक्ने बताएको छ ।

क्रिकेटको नाममा राजनीति गर्न खोज्नेहरूले नेपाली क्रिकेट विवादित र विभाजन गर्न खोजेको क्यानको आरोप छ ।

क्यानको नाममा कोही कसैले क्रिकेटको हकहित विरुद्ध कुनै गैर कानुनी काम कारबाही गरेमा कानुन बमोजिम सजाय हुनुपर्छ भन्ने कुरामा क्यान स्पष्ट रहेको बताइएको छ ।

साथै क्यानले यस्ता भ्रामक तथा कपोलकल्पित कुराहरूले नेपाल क्रिकेट संघ तथा खेलाडीहरू विचलित नहुने भन्दै  नेपाली क्रिकेट समर्थकलाई भ्रामक तथा कपोलकल्पित कुराहरूको पछाडि नलागी नेपालले सहभागिता जनाई रहेको विश्वकपमा सम्पूर्ण नेपाली क्रिकेट टोलीको हौसला तथा मनोबल बढाइदिन अनुरोध गरेको छ ।

क्यानले नेपालले दश वर्षपछिक्रिकेट ICC Men’s T20 world cup प्रतियोगिता २०२४, मा सहभागी हुँदै गर्दा अमेरिकामा नेपाली राष्ट्रिय क्रिकेट टिमले पाएको अपार माया र समर्थन अतुलनीय रहेको भन्दै नेपाली क्रिकेटलाई माया गरी हौसला प्रदान गर्ने सम्पूर्ण नेपाली र विभिन्न संघ संस्थाहरूलाई धन्यवाद व्यक्त गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *