गण्डकीमा राजनीतिक संकट, अदालतले जोगाउला फणीन्द्रको पद ?

काठमाडौं । जेठ २८ गते गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत लिए । उनले राप्रपा, स्वतन्त्र सांसद दीपक मनाङ्गे र नेसपाका फणीन्द्र सापकोटाको समर्थनमा विश्वासको मत लिएका थिए । तर, गण्डकी सरकार विश्वासको मत लिएको तीन दिनमै अल्पमतमा पर्‍यो ।

फणीन्द्र नेसपाका नेता भए पनि उनी नेकपा माओवादी केन्द्रको संसदीय दलका सदस्यमा गनिन्छन् । किन भने, उनले माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचन जितेका थिए । माओवादीको ह्विप उल्लङ्घन गरेर फणीन्द्रले मुख्यमन्त्रीलाई विश्वासको मत दिएको भन्दै माओवादीले उनलाई कारबाही गरेको हो । ह्विप उलङ्घनको आरोपमा माओवादीले देवकोटालाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै देवकोटालाई कारबाही गरेको सूचना माओवादी संसदीय दलले संसद् सचिवालयमा जानकारी गराएको थियो । सोही पत्रको आधारमा सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभा बैठकमा पदमुक्त भएको जानकारी दिएका थिए । यससँगै उनी पदमुक्त भएका छन् । उनी प्रदेश सभा सदस्यबाट पदमुक्त भएसँगै गण्डकीमा अर्को उथलपुथल हुने निश्चित भएको छ ।

माओवादीको कारबाही पछि फणीन्द्र अदालत जाने तयारी गरिरहेका छन् । उनले नेसपाका नेताहरूसँग सल्लाह गरेर अदालत जाने तयारी गरिरहेका छन् । तर, हँसिया हथौडा चिन्हबाट चुनाव लडेका देवकोटा अहिले पनि माओवादीबाटै संसदीय समितिमा बसेका छन् ।

फ्लोर क्रस गर्दा भने आफू नेपाल समाजवादीको सांसद भएको दाबी गरेका छन् । नेसपाका सांसद छुटाउन आग्रह गर्दै बाबुराम भट्टराईले निर्वाचन आयोगमा दर्ता गरेको निवेदनको टुंगो लागिसकेको छैन ।

राजनीतिक दलसम्बन्धी ऐनमा संसदीय दलको ह्विप नमानेमा दल त्याग गरेको मानिने उल्लेख गरिएको छ । यसलाई माओवादीले संसदीय दल त्याग गरेको रुपमा बुझ्दा देवकोटाले भने आफ्नो दल नेपाल समाजवादी भएको र बाबुरामको ह्विप मानेको जिकिर गरिरहेका छन् ।

माओवादीको ह्विप मान्नुपर्ने बाध्यतामा रहेका फणीन्द्र अर्कै दलको भए पनि कानुनले नेपाल समाजवादी पार्टीलाई चिन्दैन । तर, यो विवाद अब न्यायिक निरूपणमा जाने निश्चित छ । यसको छिनोफानो अदालतले गर्नेछ ।

प्रचण्ड र बाबुरामबिच फाटो
फ्लोर क्रस गरेका फणीन्द्र माओवादले राजनीतिक प्रतिसोधका लागि कारबाही गरेको बताउँछन् । उनले मध्यावधि रोक्न मुख्यमन्त्रीलाई विश्वासको मत दिएको बताएका छन् ।

‘मेरो पार्टी नेपाल समाजवादी पार्टी हो । माओवादीले कारबाही गर्न सक्दैन’ उनले भने, ‘राजनीतिक प्रक्रियामा यस्ता घटना नहुने थियो भयो । माओवादीले यतिसम्म राजनीतिक प्रतिशोध नसाँधेको भए हुन्थ्यो ।’

तर, गण्डकीबाट खास गरी बाबुरामले प्रचण्डलाई दिएको सन्देश महत्वपूर्ण छ । राप्रपाको कदम निकै महत्वपूर्ण छ । किनभने यसअघि बाबुरामसँग पार्टी एकता गर्ने सर्तमै प्रचण्डले आफ्नै चुनाव चिन्ह प्रयोग गर्न दिएका थिए । पार्टी एकताकै आधार तयार पार्न समाजवादी मोर्चासमेत गठन गरियो । तर, पछि प्रचण्डले बाबुराम बाहेक अरु नेताहरूलाई मात्रै माओवादीमा तान्ने रणनीति लिएपछि बाबुराम चिढिएका हुन् ।

महेन्द्रराय यादव पक्षलाई भित्र्याएर संघ र प्रदेशमा एक एक सांसद प्रचण्डले आफ्नो पक्षमा पारेको अवस्थामा फणीन्द्रले भने बाबुरामको साथमा छन् । बाबुरामले पनि निर्वाचन क्षेत्र छाड्दा समेत प्रचण्डले गुन नलगाएको जवाफ उनै फणीन्द्रमार्फत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *