गोसाईंकुण्ड यात्रा : पारिवारिक घुमघामले सङ्लिएका अनुभूति

वर्षमा एकपटक म यात्रामा निस्किने गरेको छु । विशेष गरी वैशाख, ज्येष्ठ महिनामा । पानी कम पर्ने, होटलहरू खाली हुने, खान बस्न सहज हुने त्यसैले पनि यात्राको लागि वैशाख, ज्येष्ठ महिना मेरो रोजाइमा पर्ने गर्छन् । विगत सात वर्षदेखि म निरन्तर यसरी नै यात्रा गरिरहेको छु । मेरो यात्राको सुरुवात गोसाइँकुण्डबाट भएको थियो ।

सधैँ आफू मात्र ट्रेकिङ गरिरहने भएकाले यस पटक मलाई मेरो श्रीमतीलाई पनि ट्रेकिङको सुरुवात गराउनु थियो । त्यसैले मैले यसपल्टको यात्रा रसुवाको गोसाइँकुण्ड जाने तय गरे । गोसाइँकुण्ड रसुवा जिल्लामा पर्छ । रसुवा र नुवाकोट सिमाना जोडिएको जिल्ला भएकोले दुरीको हिसाबले पनि काठमाडौंबाट जान सजिलो थियो । धार्मिक हिसाबले मात्र होइन प्राकृतिक सुन्दरताले पनि भरिपूर्ण छ गोसाइँकुण्ड ।

गोसाइँकुण्डमा स्नान र पूजा गर्नाले पाप पखालिने र मनले चिताएको कुरा पूरा हुने धार्मिक विश्वास रहिआएको छ । यही कारणले होला बर्सेनि हजारौँको संख्यामा भक्तजनहरू त्यहाँ पुग्ने गर्दछन् । गोसाइँकुण्ड धार्मिक हिसाबले मात्र नभएर प्राकृतिक हिसाबले पनि उत्तिकै महत्वपूर्ण छ । पदयात्राको हिसाबले पनि राम्रो भएकाले गोसाइँकुण्ड विदेशी पर्यटकहरूको रोजाइमा पर्ने गर्दछ ।

काठमाडौंबाट बसयात्रा गर्दै धादिङको गल्छी हुँदै नुवाकोट पार गरेर रसुवाको धुन्चेसम्म पुग्न सकिन्छ । धुन्चेबाट पदयात्रा सुरु हुन्छ । घट्टेखोला खेन्दी देउराली, ढिमसा , चन्दनबारी, चोलाङपाटी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्म हिँडेरै पुग्न सकिन्छ । गोसाइँकुण्ड जाँदा सामान्यतया तीन दिन छुट्याउँदा राम्रो हुन्छ । समुद्री सतहबाट ४ हजार ३ सय ८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड हिन्दु तथा बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र भएकाले पनि योजना अनुसार यसपल्ट श्रीमती सुमित्रा, बहिनी सलिना, भान्जा उमेश र सकेर काठमाडौं आएकी भान्जी सिताष्मा र ड्राइभर विरुदाइलाई लिएर गोसाइँकुण्ड जाने निधो भयो ।

छ जनाको टोली भएको हाम्रो समूह २०८१ जेठको १० गोसाइँकुण्ड यात्राको लागि साथमा साथमा लैजानुपर्ने सामानहरू, न्यानो ज्याकेट, थर्मल, पानीका बोत्तल, छाता, चकलेट , लौरो, केही अदुवा–लसुन र औषधी बोकेर हामी गोसाइँकुण्ड प्रस्थान गर्यौ ।

बिहान ३ बजे ललितपुरबाट बिदा हुँदै प्रस्थान गर्ने क्रममा गल्छीबाट धुन्चे, रसुवागढी जोड्ने पासाङल्हामु राजमार्गसँगै कल कल बग्दै गरेको त्रिशूली नदीको तिरै तिर अगाडि जाँदै गर्दा त्रिशुलीको उग्धम स्थल पुगिने कुराले सबैजनाको उत्साह हेर्न लायक थियो । अगाडि बढ्ने क्रममा त्रिशुलीको काखमा अवस्थित सुन्दर बट्टार बजारलाई नियाल्दै आगडि बढ्न एकदमै मज्जा लाग्यो ।

७  वर्ष अगाडी भन्दा बाटो राम्रो र ठूलो बनाएको रहेछ यसरी नै अघि बढ्ने क्रममा मनभरिको खुल्दुली र भान्जा भान्जी श्रीमती बैनीको तिलस्मी गफ गोसाईंकुण्ड यस्तो होला उस्तो भन्ने उनीहरूको अनुमानमा कतिपय कुरामा सहमति अनि कतिपय कुरामा बिम्मती जनाउँदै , कैले पहिरोको गफ अनि कैले पहिले आउँदा भोगेको कुरा सुनाउँदै, कैले उनीहरूको कुरा माथि पार्दै कैले आफ्नो मात्र कुरा राख्दै गफै गफको चस्कासंगै राम्चेको पहिरो, ढाडो खोला लगायतका सुन्दर दृश्यावलोकन गर्दै हामी करिब ६ घण्टाको यात्रापछि रसुवा जिल्लाको सदरमुकाम धुन्चे पुग्दा बिहानीको ८ बजेको पत्तै भएन ।

बिहानी को खाजा नास्ता पछि केहीबेर आराम गर्ने क्रममा त्यहाँको वस्तुस्थिति पनि बुझियो । हामी समुन्द्र सतहदेखि १९५० मिटर माथि रहेछौँ । हिमालयन अन्टप नेपालको सम्भवतः पहिलो पानी निर्यात कम्पनी हुनुपर्छ । हिमालबाट आएको पानीलाई शुद्धिकरण गरेर हाम्रो देशको पाँचतारे होटल तथा विदेश लगेर बेचिँदो रहेछ । हामीले पनि त्यस नजिकै गुरुङ दिदीको नामगेल होटलमा रुपियाँ 1000 पार्किङ शुल्क तिरेर गाडी राखौँ । त्यसपछि हामी गन्तव्य तिर पैदल यात्रा थाल्यौँ ।

‘उकाली, ओराली–भन्ज्याङ चौतारी’ गीतले भनेझैँ सुरुको केही समय तेर्सो र ओरालो हुँदै घट्टे खोलाको पुल पार गरेपछि उकालो बाटोमा सुरु भयो ।

७ वर्ष पहिले हामी साथीहरू संग जाँदा धुन्चेबाट देउरालीको बीचमा मेमेको एउटा मात्र सानो होमस्टे थियो तर अहिले धेरै होटलहरु सञ्चालनमा रहेछन् । खान बस्न र पानीको लागि सहज भएछ, नेटवर्कको समस्या भने उस्तै रहेछ ।

उकालोमा आउने साना साना काठबाट बनाएको चौतारीमा बिसाउँदै बिसाउँदै करिब घण्टाको ठाडो उकालो हिनेपछि हामी देउराली पुग्यौँ । भोक र थकानले गर्दा होला देउराली, हाम्रै प्रतीक्षामा भएको आवास भयो । तामाङ दम्पती र एक सानी छोरीको आतिथ्यमा खाना खान बस्यौ मेरो लागि सबै सामान्य लागि रहेको थियो यस्तो ट्रेकिङ धेरै गरेको हुँदा तर श्रीमती, भान्जा–भान्जी, बैनीको पहिलो अनुभव भएर होला खाना स्वादले खाएको देखिएन ।

पहाड त्यसमाथि ढुवानीको समस्याले गर्दा तराइको होटलमा जस्तो स्वाद र भेराइटी काहा पाइन्छ र ?, मैले सबै लाई बुझाउँदै भने जे पाउँछ त्यही खानु पर्छ, त्यसैमा रमाउनु पर्छ, ट्रेकिङको विशेषता र सुन्दरता नै यही हो भन्दै हामी ढिम्सा तिर उकालो हिड्यौँ ।

यात्रामा सहर बजारका कोलाहल थिएन सुनसान थियो । मूल बाटोसँग जोडिएका उपबाटाहरू थिएनन् । खच्चर र चौँरीका घाँटीमा झुन्ड्याइएका घण्टीका आवाजले हिँड्नमा ऊर्जा दिइरहेको थियो । बाटामा यात्रीहरू प्रशस्त भेटिए कोही माथि जाँदै त कोही तल झर्दै । भान्जी र बैनीले माथिबाट झर्दै गरेका प्राय सबैलाई अब कति समय लाग्छ ? भन्दै सोध्दै गरेको र उहाँहरूको उत्तरले घरी निराशा त घरी हौसला दिइरहेको दृश्य हेर्न लायक थियो ।

बाटोमा भेटिएका विदेशी पर्यटकहरूसँग गफ गर्दै हिन्दै करिब ३ घण्टा  हिनेपछी धिम्सा हुँदै चन्दनबारी पुग्यौ त्यहाँ चिज उत्पादन केन्द्र रहेछ । चिज वैशाखदेखि असोज मसान्तसम्म उत्पादन हुने रहेछ । केही समय विश्राम गरी चौरीको दूधबाट बनेको चियाको चुस्की लिँदै गर्दा अलि ढिलो हिनेका भान्जा र श्रीमती आइपुगे । एकैछिनको आराम पछि हामी पुन आफ्नो गन्तव्य तिर लम्कियौ । चन्दन्बारीबाट माथि लागेपछि धेरैले बाटो अलि सहज छ भनेका थिए , त्यही भएर यात्रा अलि सहज हुने आस थियो ।

ट्रेकिङ जाँदा प्राय ३ जान भन्दा कम जानु हुँदैन भन्ने मान्यता राख्छु म । ट्रेकिङ भन्ने बित्तिकै धेरै समय हिड्नुपर्ने बाटोमा निश्चित ठाउँमा मात्र घर होटल हुने, मोबाइलको नेटवर्क पनि नहुने भएकोले हिँड्न नसक्नेलाई अगाडि लगाएर सबै सँगसँगै हिँड्नुपर्छ । यसो गर्नाले बाटो काट्न सहज र बाटामा आउने समस्या समाधान गर्न सहज हुनजान्छ ।

श्रीमतीको ट्रेकिङ अनुभव पहिलो भए पनि उनको हिँडाइ देखेर म आश्चर्य चकित पर्दै थिए । यसै गरी हिँडी राख्यौ भने अब अर्को वर्ष तिलिचो तालको ट्रेकिङ जानु पर्छ भन्दै मैले हौसला दिँदै गरे । चन्दनबारीबाट चोलाङपाटीको बाटो भने सम्म परेको रहेछ । ठाडो उकालो हिड्ने थाकेका हाम्रो ग्रुप लाई ठूलो राहत भयो ।

चिप्लो बाटो घना जंगल छिचोलेर उज्यालो पस्न पनि डराई रहेको आवास भइराखेको थियो मलाई । म भने ७ वर्ष अगाडि जाँदा पानी पिएको कुवाको खोजीमा थिए । नभन्दै कुवा त भेटे तर पानी थिएन सुखा थियो । एउटा फोटो खिचे अनि ग्लोबल वार्मिङ्ले असर पारेको अनुभूति गर्दै बाटा भरी फूलेका लालीगुराँसका थुँगाहरू संग फोटो र भिडियो खिच्दै लालीगुराँसका मिठास बास्नाहरू सँगै अगाडि बढ्दै जाँदा चोलाङपाटी पुगेको पत्तै भएन ।

मिसन पूरा गर्ने अभिलाषामा कौतुहलताका पाइलाहरू आफैँ–आफैँ गतिशील भइदिँदा रहेछन् । आफू उकालो चढ्दै गर्दा फर्किरहेकाहरूसँग अब कति समय लाग्छ भनेर सोध्ने अनि फर्किँदाचाहिँ उकालो लागिरहेकाहरूले अब कति समय लाग्छ भनेर सोध्ने प्रसङ्ग निकै रोमाञ्चकारी अनुभव नै मान्न सकिन्छ । अझ कोही हिँड्न कठिन भएका, सँगै आएका साथीहरू पनि एक्ला एक्लै यात्रा गर्न पर्ने बाध्यता, अब कहाँ बास पाइन्छ, वासस्थान पुग्न कति समय लाग्छ आदि कुरा झनै स्मरणीय हुनेछन् ।

देशका विभिन्न क्षेत्रबाट आउनु भएका बुबा आमाहरूसँग बाटोमा एक्लिन टक्क अडिएर गफ गर्दा थकान कम भएको अनुभव हुने रहेछ । बेलुकाको ६ः३० भएको थियो । साँझ पर्न थालेको थियो । सिमसिम पानी पर्न थालेको थियो, विरु दाइले प्लास्टिक बोक्नु भएको रहेछ । एकछिन प्लास्टिक ओढेर ढलान गरेको सिढीँको बाटो २–४ पाइलाअघि सर्दै बस्दै जाने क्रममा हामी ७ :१५ बजे ३९१० मिटर उचाइमा अवस्थित लौरी विनायक पुग्यौँ ।

लौरी विनायकस्थित माया होटेलमा चन्दन्बारीबाटै हाम्रो लागि बासको बन्दोबस्त गरेकोले गर्दा हामीलाई बास पाउन खासै गाह्रो भएन, कोठामा सामान थन्क्याई हात मुख धोएर आगो ताप्दै तातोपानी चिया पिउन थाल्यौँ । कोरियन चुलो वरिपरि बसेर आगो ताप्दै गर्दा भान्जा, बैनी, श्रीमती, भान्जीले चुलोको बारेमा जिज्ञासा राख्नु स्वाभाविक थियो । कोरियन चुलो प्राय सबै होटलहरूमा न्यानो बनाउन प्रयोग गरिन्छ । म र विरु दाइ भने यात्रा गरिराख्ने भएकोले हामीलाई भने जानकारी नै थियो ।

खाना खाएर दिउसो भरीको थकान मेट्न कोठामा गएर विश्राम गर्न थालियो । थकाइ बढी भएरै होला, हामी मस्तले निदायौँ ।

बिहान आँखा छिट्टै खुले पनि हिमालबाट आएको चिसो हावाको अगाडि तातो ओछ्यान छोड्न मनले मानेन् । एकाबिहानै, चिसो अनि अक्सिजनको मात्रा कमी हुने भएकाले धेरै जसो यात्रीलाई श्वासप्रश्वासमा समस्या आउन सक्छ । त्यसका साथै ठाडो बाटो अनि ह्वात्तै उचाइ लिने भएकाले वान्ता पनि हुन सक्छ । त्यसैले आफ्नो स्वास्थ्य अवस्था हेरी घरेलु तथा डाक्टरी औषधि बोक्नु बुद्धिमानी हुन्छ ।

एकातिर सेतै टल्किने हिमाल अर्कोतिर मरुभूमि जस्तो देखिने ससाना पहाड अनि कतै समथर सुख्खा, उराठ लाग्दो फाँट । अक्सिजनको कमीले हामीमा यात्रा तय गर्ने मार्गमा समस्या त छँदै थियो तर पनि प्रकृति हाम्रो साथमा रहिरहेकोले हामी ऊर्जाशील थियौँ । निलो ब्रह्माण्डरूपी छहारीमा तातो किरणले हामीमा ऊर्जा थपिरहेकै थियो । केही बेरको उकालो छाडेपछि बुद्धमूर्ति भन्ने ठाउँ पुग्यो जुन समुन्द्र सतह भन्दा ४२०० मिटर हाइटमा अवस्थित छ ।

त्यहाँ पुगेपछि सबैजनालाई अलि गाह्रो भएको अनुभव भयो । तर अब भने तेर्सो हीड्नु पर्ने भएकोले अलिकति सहज महसुस भयो । अघिल्लो दिनको धुन्चे देखिको लगातार १० घण्टाको उकालो हिँडेकोले होला त्यो अलिकति तेर्सो हिँडाइ खुब सहज लाग्यो । केहीबेरको तेर्सो हिँडाई पछि अलिकति उकालो चढ्ने बित्तिकै गणेश मन्दिर भन्ने ठाउँमा पुगिन्छ । त्यहाँबाट देखिने सरस्वती कुण्डको मनमोहक दृश्यले सबै लाई मोहित पार्‍यो । थकान हराएको अनुभूति भयो । प्रकृतिले हामी माथि गरेको करुणा अझ घनिभूत हुँदै भएको आभास भयो ।

यात्रा अघि बढ्दै जाँदा त्यो देखिएको भैरव कुण्ड त झन् स्वर्गको पनि सबै भन्दा सुन्दर ठाउँ झैँ भएको भान भयो । अनि अगाडी बढ्दै गर्दा भैरव कुण्ड र गोसाईंकुण्डको दृश्यले सबैको बोली बन्द भयो । कठ्याङ्ग्रिँदो चिसो कुण्डमा डुबुल्की मारी मनोकाङ्क्षा पूरा गर्दा गर्व लाग्यो । हावाको वेगले होला सायद कुण्ड माथि एकछिन एकछिनमा बादल र तुवाँलो ढाक्ने अनि एकछिनमा खुल्ने गर्ने रहेछ । घामको किरण कुण्डको जलमा पार्न साथ त्यो जल पुरै नीलो अत्यन्तै मनमोहक देखिने रहेछ । हामी त्यहाँ बिहान नै पुगेकोले होला हामीले त्यहाँको बादलले कुण्ड ढाक्नु अगिको, ढाकेको समयको अनि पछिको अवस्थाको पनि दृश्यपान गर्ने मौका पायौँ तर १० बजे पछि जाने अन्य समूहका साथीहरूले कुण्डहरूको दृश्य भरपुर अनुभव गर्न नपाएको गुनासो गर्दै थिए ।

त्यो बिहान पखको गोसाइँकुण्डमा फोटोहरू क्यामेरा र मोबाइलमै मात्र भए नि, हेर्ने , त्यसमै भए नि चित्त बुझाउने भन्दै फोटो माग्नु भयो । त्यो बेला चाहिँ हामीलाई बिहान नै त्यो ठाउँमा पुग्न पाएकोमा खुसी अनि गर्व महसुस भयो । अनि फोटो शेयर गर्न पाएकोमा आत्मसन्तुष्टि पनि । रमणीय दृश्य हेर्नलाई सकेसम्म बिहान त्यो पनि बिहानीको हावा चल्न पहिला नै हिँड्न सके उत्तम हुने दिव्य ज्ञान प्राप्त भयो ।

बीचमा सानो पहाड एकातिर भैरव कुण्ड त अर्को तिर गोसाईंकुण्ड ताल, आहा ! कसरी बयान गर्न सकिन्छ शब्दमा त्यहाँको सुन्दरता जाडो याममा यहाँको पानी जमेर बरफ बन्छ, जहाँ मज्जाले हिँड्न मिल्छ । त्यहाँ वरिपरि धेरै कुण्डै रहेछन् बर्द कुण्ड , नीलकण्ठ कुण्ड, आमा कुण्ड, सूर्य कुण्ड, चन्द्र कुण्ड आदि ।

आफ्नो अनुकूल हेरेर गोसाईंकुण्ड तालमा समय बिताई सकेपछि ढिला नगरी तल झर्नुपर्छ । सक्न त अरु कुण्डहरू पनि हेर्दै लौरी विनायक पास हुँदै लाङटाङ राष्ट्रिय निकुञ्जलाई चिर्दै पैदल नै सुन्दरी जल यात्रा गर्न सकिने रहेछ । तर हामीसँग हाम्रो गाडी धुन्चे मै थियो अनि फेरि अब धेरै उकालो यात्रा गर्न सक्ने अवस्थामा हाम्रो यात्रा दलका साथीहरू थिएनन् । त्यसैले हामी गोसाइँकुण्ड मै खाना खाएर त्यहाँबाट फर्कने सोच्यौँ ।

अनुकूलता हेरेर तपाईँहरू पनि एकपल्ट धार्मिक तथा पर्यटकीय महत्वको गोसाईंकुण्डको यात्रा गर्नु होला । गोसाइँकुण्डमा जेठ–असार महिनामा दसहरा मेला र साउनमा जनैपूर्णमा मेलामा मानिसहरू त्यहाँ पुग्दा रहेछन् । साथै बौद्ध जयन्ती पनि त्यहाँका मानिसले राम्रै मनाउँदा रहेछन् । हामी पनि बुद्ध जयन्तीकै अवसर पुगेका थियौ । बुद्ध जयन्तीको झन् रमाइलो हुने रहेछ । यात्रापूर्वक तयारीको क्रममा व्यक्तिगत आवश्यकताका सामग्रीबाहेक लौरो, यात्राको लागि उपयुक्त झोला, जुत्ता, चस्मा (कालो), तातो पानीको लागि थर्मस, बेलाबेलामा पानी पिउने, यात्रामा कुन खान हुने/नहुने, लेक लाग्नबाट बच्च दिनमा १००० मिटर भन्दा बढी यात्रा नगर्ने, कहाँ बास बस्ने, कति हिँड्ने आदि जानकारी भएमा यात्रा सहज हुने देखिन्छ ।

खाली लहड र इच्छा गरेर मात्र जाँदा कष्टकर नै हुने देखिन्छ । आवश्यक तयारीसहित यात्रा भएमा मात्र निकै हर्षित र मन प्रफुल्लित हुन्छ । हाम्रो त गोसाइँकुण्डमा पाइला राख्दा नै हिँडाइ पीडाहरू गायब भए सकेका थिए । गोसाइँकुण्ड स्नान अनि दर्शन, अनि त्यहाँको मनोरम प्राकृतिक दृश्यपान, त्यहाँको सौन्दर्यलाई आँखा तथा तस्बिरमा कैद गरेपछि त थकान सब गायब भयो । प्रविधिको जाती विकास भए नि मान्छेको आँखा जातिको शक्तिशाली क्यामेराको लेन्स बनेको रहेनछ । क्यामेराले त दृश्य न हो खिच्ने भनेको, आँखाको जस्तो दृश्यको भाव, गहिराइ, कहाँ सङ्कलन गर्छ र । आँखा आँखा नै हो । क्यामेराको त ओपन बटन अन गरुन्जेल मात्र हो दृश्य देखिने , तर आँखा त हेर्दा मात्र हैन बन्द गर्दा नि त्यो ठाउँमा पुगिन्छ जहाँ हाम्रो मन जान्छ । आँखा पनि अनि मानसपटल भारी गोसाइँकुण्डको प्राकृतिक छटाले भरियो । अलि अलि मताएछ क्या हो गोसाइँकुण्डको सौन्दर्यताले, अलि बहकिएछ । जे होस , घुमफिर सक्के पछि त्यही खाना खाएर हामी फेरि धुन्चे झर्ने हतारमा भयौ ।

अन्तिममा एक पल्ट फेरि गोसाइँकुण्ड, अनि देखिने जति अरु कुण्डलाई हेर्दै हामी आफ्नो बाटो लाग्यौँ । त्यही अगि आएको बाटो भए पनि जाँदा गलेर थाकेर नदेखेको र याद नगरेको कुराहरू देखिँदै थिए । धेरै उकालो हिँड्न परेको थिएन, ओरालो पनि आइसकेको थिएन । यात्रा मध्यम खालको नै हुँदै थियो । हाम्रो सबैको झोलाहरू लौरी विनायक मै राखेको र एउटा मात्र झोला लागेकोले अरूलाई हिँड्नमा सहज त थियो तर गोसाइँकुण्डको जल ल्याउनका लागि जल भएको बोतलहरू विरु दाइको बोकाइमा परेकोले उहाँलाई चाहिँ अलि गारै थियो सायद तर उहाँ सदा हँसिलो, अनि जो हिँड्न गारो परेर पछाडि बस्छ उसैको साथी बसेर जसरी पनि लिएर आउनु हुन्थ्यो ।

लौरी विनायकबाट आफ्नो आफ्नो सामान लिएर हामी फेरि आफ्नो बाटो लाग्यौँ । त्यही पुरानो (अगाडी हिँडिसकेको) बाटो भए नि धेरै नौलो कुराहरू पनि देखिँदै थिए । अनि अर्को महत्वपूर्ण चण्दनबारीदेखि माथि अहिलेसम्म बिजुली पुगेको थिएन । त्यहाँ बत्तीको काम सोलार बाट हुने हरेछ तर घाम नलागेको दिन मोबाइल चार्ज गर्न समस्या हुन्छ । बत्तीको तार र पोल तानेर लौरी विनायक पुग्न लागेको रहेछ, त्यो बत्ती गोसाइँकुण्डसम्मै पुर्याइने कुरा त्यहाँ काम गर्ने दाइहरू संग कुरा गर्दा थाहा भयो ।

एक महिना भित्रै गोसाईं कुण्डसम्म बत्ती बल्छ भनेर उहाँहरुले भन्दा अब ढिलै भए नि विकासको क्रममा अगाडि बढेको भान भयो । बत्ती पुगेपछि मोबाइल नेटवर्क राम्रो सँग आउने, (दूरसञ्चार प्रदायकको टावर स्थापना, अनि त्यसको बैटरी ब्याकअप राख्न सकिने) , वाइफाइ, खाना पकाउन ग्यासको र दाउराको सटा बत्तीको प्रयोग हुँदा जीवनयापन केही सजिलो हुने अपेक्षा गर्न सकिन्छ । नत्र त्यहाँ ग्यासको सिलिन्डरको प्रति किलो ५० रुपिँया त ढुवानी मात्र खर्च हुन्छ रे । अनि राष्ट्रिय निकुञ्ज भएकोले जङ्गलभित्रबाट सजिलै दाउरा लिन पनि नसकिने अनि चिसो ठाउँ जेमा पनि तातो पानी नै चाहिने । तर जति दुःख कष्ट भए नि त्यहाँका मान्छेको निश्चलता, अनि लगनशीलता भन्नु मात्रै मिल्छ ।

चन्दनबारी भन्ने ठाउँमा आराम गर्दै थियौ । त्यहाँ हल्का पानी पर्‍यो । यसै त चिसो पानीले भिजाए पछि त गाह्रो हुन्छ भनेर हामी त्यहीँको एउटा होटेलमा बस्यौ । सबै जना रमाइलो गरेर अबेर सम्म बस्यौ खाना खाए पछि बिहान चाँडै हिँड्ने योजनामा सुतियो । भोलि पल्ट हामी काठमाडौँ पुग्नु थियो ।

बिहानी उज्यालोलाई नियाल्दै चौरीको दूधको चियाको चुस्की लिँदै हामी हाम्रो यात्रालाई निरन्तरता दिँदै अगाडि बढ्न थाल्यौ । करिब ३ घण्टाको ओरालो हिँडे पछि हामी सुन्दर झरना भएको ठाउँमा पुग्यौ थकाई मेटिउन्जेल हामी झरनामा रूजी भिजी रह्यौँ । करिब १ घण्टा झरनामा बिताएको पललाई सम्झिँदै थोरै तेर्सो अनि उकालो हिनेपछी हामी धुन्चे पुग्यौ । धुन्चेमा खाना खाएर हामी गाडीमा दोहोरी खेल्दै थकान मेट्दै बट्टार बजार देखि टोखा हुँदै काठमाडौं तिर लाग्यौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *