करेन्ट चाउचाउबारे फैलाएका भ्रमप्रति यशोदा फुड्सको आपत्ति

काठमाडौँ । करेन्ट चाउचाउ उत्पादक कम्पनी यशोदा फुड्सले चालु आर्थिक वर्षमा ६० करोड रुपैयाँ भन्दा बढीको विदेशी मुद्रा आर्जन गर्न उद्योग सफल भएको छ ।

सोमबार एक विज्ञप्ति जारी गर्दै यशोदा फुड्सले उक्त जानकारी दिएको हो ।

साथै यशोदा फुड्सले आफ्नो उत्पादनको गुणस्तरमा विशेष सजगता अपनाउँदै आएको र स्वच्छ व्यापारिक प्रतिस्पर्धाबाट अगाडि बढ्न चाहेको जनाएको छ ।

हालैका दिनमा केही व्यक्तिहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी कपोलकल्पित समाचार बनाएको पाइएको भन्दै यसमा उद्योगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।

कम्पनीले कुनै कपोलकल्पित फण्डा तयार गरी आमउपभोक्ताको भावनामा खेलबाड नगरेको, गर्न नचाहेको र त्यस्ता तत्त्वहरूप्रति सचेत रहेको बताएको छ । उद्योगलाई बदनाम गराउन प्रायोजित रूपमा हुँदै नभएको विषयलाई अतिरन्जित तरिकाले प्रमाणविना भ्रामक समाचार तयार गरी प्रसारण गर्नेप्रति उद्योगको ध्यानाकर्षण भएको जनाएको हो ।

यस्ता मनोगढन्ते, कपोलकल्पित र काल्पनिक कुराहरूको पछाडि नलागी उक्त उद्योगका उत्पादनहरूको उत्पादन मिति चेकजाँच गरी ढुक्कसँग उपभोग गर्न कम्पनीले अनुरोध गरेको छ । साथै बजारमा म्याद समाप्त भएका अर्थात् उपभोग मिति समाप्त भएका उत्पादन प्रयोग नगर्न समेत उद्योगले अपिल गरेको छ ।

विदेशी चाउचाउमा राज्यको अर्बौँ रुपैयाँ बिदेसिएको अवस्थामा आफ्नै देशमा नेपाली किसान दाजुभाइ दिदी–बहिनीबाट उत्पादित अकबरे खुर्सानी, गुन्द्रुक, तामा, टिमुर, फापर, कोदो, नेपाली उद्योगबाट उत्पादित मैदालगायत विभिन्न कृषि उपज प्रयोग गरी नेपालमा नै अन्तर्राष्ट्रियकरण स्वादिलो चाउचाउलगायत विभिन्न स्न्याक्स उत्पादन गरी ठूलो धनराशि विदेश जानबाट रोकेको सो उद्योगले जनाएको छ ।

साथै, करिब एक हजार नेपाली दाजुभाइ दिदी–बहिनीलाई प्रत्यक्ष रुपमा तथा सयौँ डिलर बिक्रेतामार्फत अन्य हजारौँ नेपालीलाई रोजगारी दिलाउन सफल भएको यशोदा फुड्सको दाबी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *