चलचित्रको पर्दामा नयाँ कलाकारको आगमन

काठमाडौँ । नेपाली चलचित्र निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण यसक्षेत्रमा नयाँको उपस्थिति बढ्दो छ  ।

कथ्य र निर्माण शैलीमा परिवर्तन आएसँगै नयाँ पुस्ताको आगमन बढिरहेको छ । व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि यस वर्षको सुरुआतसँगै केही आशलाग्दा नयाँ अनुहार कलाकारितालाई भविष्य बनाउने सपना देख्दै भित्रिएका छन् ।

बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’ देखिएकी बाल कलाकार सुपला सापकोटाको राम्रो चर्चा भयो । उनीले निर्वाह गरेको ‘जुनु’को भूमिका जीवन्त रहेको प्रतिक्रिया दर्शक र समीक्षकले दिए । चलचित्रमा अभिनय गर्दा उमेर नौ वर्षको रहेको बालकलाकार सापकोटाले बताइन् ।

‘मलाई रुनुपर्ने दृश्यमा केही असहज पनि भएको थियो । सानैदेखि बुबाको नाटक र उनीको काम देखेको हुँदा पनि काम गर्न सहज भयो । फेरि मेरा लागि पर्दाका परिचित अनुहार हुनुहुन्थ्यो’, उनीले भनिन् । उनीको पिता कलाकार भोलाराज सापकोटा हुन् । उनिले नेपाली र भारतीय चलचित्रमा अभिनय गर्नुका साथै नाटक निर्देशक गरिसकेका छन् । अभिनेता सापकोटाले छोरीको बारेमा राम्रो काम गरेको छायाङ्कनकै क्रममा सुनेका रहेछन् ।

‘उनीको कामको प्रशंसा सुनेको थिएँ । तर, चलचित्र हेरेपछि म आफैँ दङ्ग भए । मेरा लागि खुसीको क्षण हो’, अभिनेता सापकोटाले भने । जेठको दोस्रो साता १० गते प्रदर्शन भएको चलचित्र ‘फर्किफर्की’मार्फत रवि काफ्ले र समृद्धि अर्याल अभिनय यात्राको सुरुआत गरे । उनीहरू दुवैको अभिनयलाई राम्रो प्रतिक्रिया प्राप्त भयो । यद्यपि यो वैशाख झैँ जेठ २५ गते प्रदर्शन भएको ‘गाउँ आएको बाटो’ चलचित्रबाट अर्का बालकलाकार प्रसन राईले पहिलो पटक गरेका अभिनयले सबैको ध्यान तान्न सफल भयो । बालकलाकार राईलाई भोजपुरमै भएको अडिसनमार्फत निर्देशक नवीन सुब्बाले छनोट गरेका थिए ।

‘हामीले चाहिने बालकलाकार स्थानीय लिँदा राम्रो हुन्छ भनेर केही विद्यालयमा अडिसन गरेर छनोट भएकाले प्रशिक्षण दिएका थियौँ । ती मध्ये राम्रो गर्ने यी बालकलाकारको कामको तारिफ सबैले गरेका छन् । रङ्गमञ्चका प्रसिद्ध कलाकारसँग देखिएको आत्मविश्वासले उनलाई सफलतातर्फ अगाडि बढाउँछ’, निर्देशक सुब्बाले भने । सोही मितिमा प्रदर्शन भएको चलचित्र ‘लन्डन टू पेरिस’मार्फत दुई नयाँ अनुहार निश्चल खड्का र गरिमा शर्माले अभिनयको सुरुआत गरे । अभिनेता खड्काले सानैदेखि आफूले देखेको सपना पूरा भएको बताए ।

‘मैले सानैदेखि पर्दामा देखिन गरेको मेहनत यसपटक सार्थक भयो । केही चलचित्रमा काम गर्न अडिसन पनि दिएँ, तर नयाँलाई पर्दासम्म आउन सहज छैन । यसपटक राम्रो निर्माण समूह भएकाले सपना पूरा गर्ने मौका पाएँ’, अभिनेता खड्काले भने । उनले चलचित्रमा बेलायतमा बसोबास गर्ने नेपालीको भूमिका निर्वाह गरेका छन् । सोही चलचित्रमार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री शर्माले थुप्रै साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडिओ) मा काम गरिसकेकी छन् । प्रवासी नेपालीको भूमिका सुहाउँदो भएकाले चलचित्रमा अभिनय गरेको उनीले बताइन् । ‘सही समय लागेर चलचित्रमा अभिनय गरेकी हुँ । मलाई चलचित्र निर्माणको प्राविधिक ज्ञानसमेत प्राप्त भएको छ । यो सुरुआत हो, आउँदा दिनमा अझै मेहनत गर्ने नै छु’, अभिनेत्री शर्माले भनिन् ।

यस्तै, जेठको अन्तिम साता प्रदर्शन भएको चलचित्र ‘बाटोः रोड टू डेथ’मार्फत उत्पल झा, सुष्मा थापा लगायतका कलाकारले पनि अभिनयको सुरुआत गरेका छन् । यही साता असार ७ गतेदेखि प्रदर्शन हुने चलचित्र ‘दान्भी’मार्फत अभिनेत्री शर्मा झैँ साङ्गीतिक श्रव्यदृश्य (म्युजिक भिडिओ) मा काम गरिसक्नुभएका कुन्साङ बोम्जन ठूलो पर्दामा आउँदै छन् ।

‘गम्भीर र देशलाई माया गर्ने किसिमको मान्छेको भूमिका निर्वाह गरेकी छु । यस पात्रले थोरै भए पनि देशमै केही गर्नुपर्छ भन्ने सन्देश युवालाई दिन्छ जस्तो लागेको छ । द्वन्द्वप्रधान चलचित्र भएकाले पनि म आकर्षित भएको हुँ’, अभिनेता बोम्जनले भने । यस वर्षको सुरुआती तीन महिनामै चलचित्रमा देखिएका नयाँ अनुहारले आफ्नो उपस्थिति बलियो देखाएको निर्देशक पुर्नेन्दु झाले बताए ।

उनले भने, ‘यसवर्ष चलचित्रमा देखिएका नयाँ कलाकार पोख्त भएर पर्दामा आएको जस्तो आभाष भएको छ । सबैले राम्रो काम गरेका छन् । अहिले चलचित्र क्षेत्रलाई नयाँ अनुहारको खाँचो छ ।’ यो वर्ष चलचित्र ‘११ः५५’ मार्फत सागर खनाल, चलचित्र ‘१२ गाउँ’ मार्फत अभिनेता विराज भट्टका छोरा समीर भट्टलगायत सम्भावना बोकेका नयाँ अनुहारले अभिनयमा पाइला टेक्दैछन् । उनीहरूले पाएको अवसरलाई निरन्तरता कसरी दिनेछन् यो भने आउँदो समयले नै थाहा दिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *