रास्वपाबारे बाबुरामको प्रतिक्रिया– लसपस गरिरहे हराउन सक्छ

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना पार्टीहरुसँग लसपस गरिरहे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समाप्त हुनसक्ने खतरा औंल्याएका छन् ।

शुक्रवार राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना दिवसको अवसर पारेर काठमाडौमा आयोजित चियापान समारोहमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष भट्टराईले पुराना दलहरुसँगको सम्बन्धलाई तत्कालीन कार्यनीतिको रुपमा लिँदै देशलाई विकल्प दिनका लागि वैकल्पिक राजनीतिक शक्तिहरुसँगको सहकार्यलाई रणनीतिक रुपले अघि बढाउन पनि रास्वपाको नेतृत्वलाई सुझाव दिए ।

उनले रास्वपाको दुई वर्षे कार्यकालमा राम्रो प्रगति भएको प्रतिक्रिया पनि दिए ।

अध्यक्ष भट्टराईले भने– उहाँहरुलाई धेरैधेरै शुभकामना छ । राम्रो प्रगति गरिरहनु भएको छ । अझै प्रगति गर्नुस् । गर्नुपर्ने कुराहरु धेरै छन् । मेरो पूरै शुभकामना छ । खाली एउटै सुझाव मैले उहाँहरुलाई भन्ने पनि गरेको छु–अब पुराना दलहरुसँगको सहकार्यलाई तत्कालीन कार्यनीतिक रुपमा लिनुपर्छ । र वैकल्पिक नयाँ शक्तिहरुसँगको सहकार्य गरेर देशलाई साँच्चिकै विकल्प दिनका लागि स्ट्राटिजी बनाउनु पर्छ । यसरी सन्तुलन भयो भने ठिक हुन्छ । नत्र पुराना शक्तिहरुसँग बढी नै लसपस गर्न थालियो भने त्यसले स्ट्राटिजीमा नोक्सान गर्ने र हराउने खतरा हुन्छ भन्ने मेरो सुझाव छ ।

त्यस अवसरमा अध्यक्ष भट्टराईले रास्वपाको अझै प्रगति गर्दै जाओस् भनि शुभकामना पनि दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *