कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको छ : अग्निप्रसाद सापकोटा

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कम्युनिष्ट पार्टीको पुनर्गठनको तयारी भइरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा बनाइ वृहत् वामपन्थी एकीकरण गर्ने तयारीमा रहेको बताए ।

उनले कम्युनिष्ट पार्टीलाई विगतमा जोगाउन नसकिएको उल्लेख गर्दै अहिले बनेको नयाँ समीकरण हुँदै वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनर्गठनतिर अघि बढिरहेको जिकिर गरे । उनले वामपन्थी एकीकरणले सरकार र देश चल्दैन भन्ने टिप्पणी आइरहेको भन्दै उक्त विचार पूर्ण रुपमा खारेज गर्नुपर्ने बताए । उनले नेपाली जनता वामपन्थीहरूलाई मन पराउने मात्रै नभई फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहिरहेको बताए ।

उनले भने ‘राजनीतिक पुनः गठनमा मलाई के लाग्छ भने वृहत् वामपन्थी एकीकरण यो मुद्दा मिल्नेहरूसँग खुकुलो प्रकारको मोर्चा, वृहत् वामपन्थी एकीकरण र कम्युनिष्ट पार्टीको पुनः गठन । हिजो हामीले पुनः गठन गरेका थियौँ । त्यसलाई हामीले जोगाउन सकेनौँ । त्यो विघटन भएको छ । आज नयाँ समीकरण बनेको छ । यो नयाँ समीकरण हुँदै हामी वृहत् वामपन्थी एकीकरण हुँदै कम्युनिष्ट पार्टीको पुनर्गठनतिर जाँदैछौँ । भन्न त अहिले के भनिरहेका छन् भने वामपन्थी एकीकरणले न सरकार चल्छ न देश चल्छ । होइन, यो विचारलाई हामी पूरै खारेज गर्न चाहन्छौँ । नेपाली जनता वामपन्थीहरूलाई रुचाउँछन् । वामपन्थीहरूलाई मन पराउँछन् मात्रै होइन, नेपाली जनता फेरि कम्युनिष्ट पार्टीको पुनर्गठन चाहन्छन् । त्यसकारण हाम्रो राजनीतिक कार्यदिशाको रुपमा वृहत् वामपन्थी एकीकरण कम्युनिष्ट पार्टीको पुनर्गठन । जस्तो विचार त्यस्तै राजनीतिक कार्यदिशा ।’

नेकपा (माओवादी केन्द्र) का उपाध्यक्षसमेत रहेका सापकोटाले समाजवाद भनेको गरिबी नभई सबैका लागि समृद्धि भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *