मधेस प्रदेशसभाबाट बालिका संरक्षण विधेयक पारित

गोदार (धनुषा) । मधेस प्रदेशसभाबाट बालिका संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ पारित भएको छ । सभाको आजको बैठकमा खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोदकुमार जयसवालले महिला बालबालिका तथा सामाजिक न्याय समितिको प्रतिवेदनसहितको विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् ।

मन्त्री जयसवालले बालिका संरक्षणसम्बन्धी कानुन ल्याउने पहिलो प्रदेशका रूपमा मधेस प्रदेशको नाम आएको उल्लेख गरे । उनले माता जानकीको भूमिबाट पहिलो बालिका संरक्षणसम्बन्धी कानुन पारित भएको बताए ।

उनले प्रदेशमा छोरी बीमा कार्यक्रम फेरि सुरु गर्न रु १२ करोड थप बजेट व्यवस्था गरेको जानकारी दिए । बालिका संरक्षणमा काम गर्दा बालकलाई अन्याय हुन नदिन सरकार सचेत हुनुपर्ने उनको भनाइ थियो । उनले भने ‘सकारात्मक विभेदमार्फत छोरीहरुलाई सशक्त बनाउन आवश्यक छ ।’

विधेयकमा १७ जना प्रदेशसभा सदस्यले धारणा राखेका थिए । उनीहरूले उठाएका विषयलाई सम्बोधन गर्दै मन्त्री जयसवालले बालिका संरक्षण ऐनलाई प्रभावकारीरुपमा कार्यान्वयन गराउन प्रहरी समायोजनको आवश्यकता औँल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *