दातृ निकायको सहयोग लिनु नपर्ने गरी मन्त्रालय चलाउँछु : स्वास्थ्यमन्त्री

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले कुनैपनि दातृ निकायको सहयोग लिनु नपर्ने गरी स्वास्थ्य मन्त्रालयलाई आत्मनिर्भर बनाउने बताएका छन् ।

बुधवार लागुऔषध ओसारपसार बिद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विदेशी दिन्छन् र काम गर्छु भन्ने आशमा स्वास्थ्य मन्त्रालय नबस्ने भन्दै मन्त्रालयलाई आफूले आजैबाट आत्मनिर्भर बन्ने कार्यविधि बनाउन निर्देशन दिने बताए । उनले नेपालमा बसेर नेपालकै बिरोध गर्ने र लगानी गरेन भन्नेजस्ता आरोप नलगाउन विभिन्न संघसंस्थाहरुलाई आग्रह गरे ।

उनले एन्जिओ, आइएन्जिओको सहयोग नेपालमा रहेको र सरकारले स्वागत पनि गरिरहेको भन्दै नेपाल सरकारले केही गरेन भन्ने जस्ता अभिव्यक्ति नदिन चेतावनी दिए ।

उनले कसैको सहयोगको आश गर्न नपर्ने गरी मन्त्रालयको कार्यविधि बनाइ लागू गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन समेत दिए ।

उनले भने, ‘एउटा कुरा के बुझ्नुपर्छ भने तपाईं हामी नेपाली नागरिक हौँ । नेपालमा बसेर विदेशीको धेरै गुणगान नगरे पनि हुन्छ । निश्चित रूपमा विभिन्न एन्जिओ, आइएन्जिओको सहयोग छ नेपालमा । हामी स्वागत गर्दछौँ । त्यसको लागि राज्यले व्यवस्था गरेको छ । अधिकार दिएको छ । राज्यले अधिकार दिँदैन भने कसैले पनि केही काम गर्न सक्दैन । यो बुझ्नुपर्छ । अर्को कुरा के बुझ्नुपर्छ भने स्वास्थ्य मन्त्रालयको मैले जिम्मेवारी पाएको छु । कोही अस्पतालले भन्छ, यो मेरो व्यक्तिगत हो । सबै बेड, सबै अस्पताल सरकारको हो । सरकारको स्वामित्वको हो । मनमा यो कुरा नराख्नुस् तपाईं र हामी नेपालको यसमा लगानी छैन । उहाँले वाचन गर्दा तीन कुरा मैले समातेँ । यसमा कसैलेको लगानी छैन, हामी यसै गरिरहका छौँ । पछि भन्दै जाँदा के भन्नुहुन्छ, दातृ संस्थाको लगानी छ । एकातिर स्वीकार गर्नुहुन्छ । दातृ संस्थाको लगानी हामी स्वीकार गर्छौं स्वागत गरेका छौँ । तर नेपालको लगानी छैन, नेपाल सरकारको लगानी छैन, नेपाल सरकारकै मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने भाषा बन्द गर्नुहोला । स्वास्थ्य मन्त्रालयले हामीलाई हाइजेक गरिरहेको छ । केको हाइजेक ? स्वास्थ्य मन्त्रालयले काम गर्दैन । सरकारले आफ्नो कामम गर्दैन, कि सबै विदेशीलाई छोडिदिने सबै ? कुनै पनि दातृ संस्थाको सहयोग लिनु नपर्ने स्वास्थ्य मन्त्रालय, गृह मन्त्रालय, शिक्षा मन्त्रालय युवा मन्त्रालय मिलेर नेपालका जे समस्या छन्, समाधान गर्दछौँ । नेपाल सरकारलाई च्यालेन्ज नगर्नुस्, नुन रोटी खान्छ, तर जनताको सेवा गर्दछ । आज नै म मन्त्रालयमा निर्देशन दिन्छु की कसैको सहयोगको आशामा गर्न नपरोस् भनेर कार्यविधि बनाउन निर्देशन दिन्छु । कसैको आश गर्न नपरोस् भन्ने गरी काम गर्नेछौँ ।’

मन्त्री यादवले लागुऔषध दुर्व्यसनीबाट आफ्ना नागरिकलाई बचाउन सरकार एकबद्ध भएर लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *