नयाँ सत्ता समीकरण

एमाले-कांग्रेस मिलेपनि सरकार गठनमा अन्योल

काठमाडौं । कांग्रेस एमाले मिलेर फरक राजनीतिक समीकरण बनेपनि नयाँ सरकार गठन प्रक्रियाबारे भने अन्योल देखिएको छ । नयाँ समीकरणसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अल्पमतमा परेका छन् । तर, नयाँ सरकार गठन प्रक्रियाबारे भने अन्योल देखिएको हो ।

दुई ठूला दलबीच गठबन्धन भइसकेपछि अल्पमतमा परेका प्रधानमन्त्रीले असार २८ मा पाँचौँ पटक प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् । कांग्रेस-एमाले दुवैले राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरे पनि त्यसलाई अटेर गर्दै दाहालले संवैधानिक अधिकार प्रयोग गरी विश्वासको मत लिन चाहेका हुन् ।

वर्तमान सत्ता गठबन्धनको मुख्य घटक नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै एमालेबाट सरकारमा सहभागी मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन् । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिनुका साथै सरकारबाट बाहिरिएको छ । राजनीतिक रूपले अल्पमतमा परिसक्नु भएका प्रधानमन्त्री प्रचण्डलाई सदनमा विश्वासको मत सिद्ध गर्न १३८ सांसद आवश्यक पर्ने भए पनि समर्थनमा अहिले ६३ जना सांसद मात्र रहेका छन् ।

प्रचण्ड नेतृत्वको सरकार ढल्ने निश्चित भए पनि नयाँ सरकार संविधानको धारा ७६ (२) वा धारा ७६ (३) अनुसार गठन हुने भन्नेमा अन्योल छ । नयाँ सरकार गठनको अन्योलबीच संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन प्रक्रिया पूरा गरे पनि नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार गठन हुने जिकिर गरेको छ ।

शनिबार संसद् भवनमा बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले अब संविधानको धारा ७६ (२) बमोजिम एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नयाँ सरकार गठन हुने बताए । उनकाअनुसार बैठकले कांग्रेस र एमालेबीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठनसम्बन्धी सहमतिलाई स्वागत गर्दै समर्थन गर्ने निर्णय गरेको छ ।

अहिलेसम्म हेर्दा संसदमा प्रचण्डलाई माओवादीको ३२, रास्वपाको २१ र नेकपा एकीकृत समाजवादीको १० गरी कुल ६३ जना सांसद समर्थन देखिएको छ । यसमा केही साना दल र स्वतन्त्र सांसदले उनलाई साथ दिनसक्छन् ।

२७५ सदस्य रहेको प्रतिनिधिसभामा कांग्रेस एमालेको मात्रै १६७ सांसद छन् । दुई तिहाइका लागि १८४ जना सांसदको समर्थन चाहिन्छ । कांग्रेससँग ८८, एमालेसँग ७९ (टोपबहादुर निलम्बित), जसपा ७, जसपा नेपाल ५, जनमत ६, लोसपा ४ र नाउपा ४ अहिलेको गठबन्धनको पक्षमा देखिएको छ । राप्रपाले पनि संविधान संशोधन गर्ने कांग्रेस एमाले गठबन्धनलाई सकारात्मक भनेको छ ।

तर सदनबाट विश्वासको मत लिँदा नपाए स्वतः धारा ७६ (३) अनुसारको सरकार बन्ने माओवादी नेताहरूको तर्क छ । केही काँग्रेस नेताहरूले पनि माओवादीको तर्कमा सहमति जनाएको देखिन्छ । यद्यपि पार्टीले ७६ (२) अनुसार नै ओलीलाई प्रधानमन्त्री बनाउने निर्णय पार्टीबाट औपचारिकरूपमा गरिसकेको छ ।

यस्तोमा सरकार गठन आव्हानमा राष्ट्रपतिले कुन धारा प्रयोग गर्छन् चासोपूर्वक हेरिएको छ । धारा ७६ (३) अनुसार सरकार गठन भए ठूलो दलको हैसियतमा काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *