‘प्रधानमन्त्री अल्पमतमा छन्, तत्काल राजीनामा दिनुपर्छ’

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई तत्काल राजीनामा दिन आग्रह गरेका छन् ।

आईतवार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै नेपाली काँग्रेस, नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले बहुमत गुमिसकेकाले संसदले वर्तमान सरकारलाई हटाउनुपर्ने तर्क समेत गरेका छन् ।

काँग्रेस सांसद रामहरि खतिवडाले बाढी र पहिरोले सडक अवरुद्ध पारेजस्तै सरकारले देश नै अवरुद्ध पारेको उल्लेख गर्दै संसदले त्यसलाई पन्छाउनुपर्ने बताए । उनले सरकारले कुनैपनि काममा अवरोध गर्न नहुने बताए ।

उनले भने– ‘सदनले सरकारलाई पन्छाउनु प¥यो । बाढी र पहिरोले सडक छेकेजस्तै सरकारले ससदको कामलाई पनि छेकेको छ ।’

एमाले सांसद रघुजी पन्तले संसदमा बहुमत गुमाइसकेकाले प्रधानमन्त्री पुष्पकमल दाहालले नैतिकताको आधारमा पनि राजीनामा दिन उपयुक्त हुने बताए ।

संविधानले उनलाई विश्वासको मत दिने अधिकार दिएपनि बहुमत गुमाएकाले प्रधानमन्त्रीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले बहुमत पु¥याउन सक्ने अवस्था नभएकाले संसदमा विश्वासको मत लिने काम आवश्यक नभएको राप्रपाकी सांसद रोशन कार्कीले बताइन् ।

उनले प्रधानमन्त्रीसँग बढिमा ६३ मत रहेकाले संसदमा बहुमत पाउने अवस्था नरहेको तर्क गरिन् ।

उनले भनिन्– ‘प्रधानमन्त्री दाहालसँग ६३ मत मात्रै रहेकाले बहुमत पु¥याउन गाह्रो छ । त्यसकारण यतातर्फ ध्यान दिन सरकारलाई आग्रह गर्न चाहन्छु ।’

यता प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने तयारी गरेका छन् । तर काँग्रेस, एमालेसहितका सांसदहरुले भने सत्ता साझेदार दलहरुको समर्थन गुमाउँदै गएका प्रधानमन्त्रीले पदमा बसिरहन उपयुक्त नहुने जिकिर गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *