असार २८ गतेसम्म भागबण्डा टुंगो लगाउँछौ : एमाले (भिडिओ)

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नयाँ सरकार गठनका लागि केही समय लाग्ने बताएका छन् ।

आईतवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् ।

प्रमुख सचेतक बर्तौलाले काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने टुंगोमा पुगिनसकेको बताए ।

‘पहिलो कुरा नेकपा (एमाले) र नेपाली काँग्रेसको बीचमा आलोपालो पहिला नेकपा एमालेका श्रद्धेय अध्यक्षको नेतृत्वमा सरकार बनाउने । त्यसपछि नेपाली काँग्रेसका सभापति संसदीय दलको नेताजीको नेतृत्वमा सरकार बनाउने भनेर यसरी सहमती भएको छ । सहमती यति भयो,’उनले भने,‘सरकारको नेतृत्व हाम्रो दलका नेता केपी शर्मा ओलीले गर्नुहुन्छ । त्यो भन्दा बाहेक मन्त्रालयको बारेमा यस बीचमा हामीले छलफल गर्नेछौं । त्यो छलफल प्रारम्भिक रुपमा त केही अघि बढेको छ । तर, निर्णयमा हामी पुगेका छैनौं ।’

उनले काँग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतीको सरकार गठनका लागि आह्वान गरिएकाले काँग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताए ।

प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी काँग्रेस सहितका दलहरुसँग छलफल हुने बताए ।

‘मेरो विचारमा भोली–पर्सीसम्ममा एउटा हुन्छ । र, मूलतः २८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलीनै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौं,’उनले थपे,‘अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं ।’

प्रमुख सचेतक बर्तौलाले राष्ट्रिय सहमतीको सरकार बनाउने भएकाले पनि मन्त्रालय भागबण्डाको विषय टुंगिन केही समय लाग्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *