भरतपुरको क्रिकेट रंगशाला निर्माणको ठेक्का सम्झौता, ३० महिनामा काम सक्ने

भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि ठेक्का सम्झौता भएको छ। रंगशाला निर्माण गर्न आइतबार भरतपुर महानगरपालिका र निर्माण कम्पनी हिमालयन कालिञ्चोक जेभीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

यससँगै रंगशाला निर्माण कार्य अघि बढ्ने भएको हो । महानगरले १ अर्ब २० करोड रुपैयाँको ठेक्का आह्वान गरेको थियो। १२ वटा कम्पनीले प्रस्ताव पेश गरेका थिए । तिमध्ये सबैभन्दा कम लागत ६८ करोड २ लाख ६४ हजार रुपैयाँमा ठेक्का प्रस्ताव दिने हिमालयन कालिञ्चोक जेभीसँग सम्झौता भएको छ।

उसले यो बजेटबाट रंगशालाको मैदानसहित ५ वटा पीच, १५ हजार जना बस्न मिल्ने प्याराफिट, ड्रेन, २ वटा ३/३ तल्लाको भिआईपी टावरलगायतका संरचनाहरू निर्माण सम्पन्न गर्ने छ।

रंगशालामा ५ हजार जना दर्शक अट्ने प्याराफिट बनिसकेको छ । गत फागुन १७ गते महानगरले ३० दिनको म्याद राखेर रंगशाला निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । तर त्यसमा विवाद भएपछि पुनः जेठ ३ गते टेण्डर आह्वान गरेको थियो ।

ठेक्का सम्झौता अनुसार ३० महिनाभित्र काम सम्पन्न गरिसक्नुपर्नेछ । हिमालयन कालिञ्चोक जेभी प्रवन्ध निर्देश्क विकास गौतमले १५ दिनपछि रंगशाला निर्माणको काम थाल्ने बताए।

३० महिना अघि नै काम सकिने गरि गर्ने उनको भनाई छ। धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट अघि बढाउने भनेपनि रकम अभावका कारण रंगशाला अलपत्र परेको थियो। भरतपुर महानगरपलिकाले स्वामित्व लिइ निर्माण प्रकृयाको बजेट सुनिश्चित गर्न पहल गरेको हो ।

रंगशाला निर्माण गर्न आगामी आर्थिक वर्षका लागि संघ र प्रदेश सरकारले ५० करोड रूपैयाँ विनियोजन गरेका छन्। भरतपुर महानगरपालिकाले ४ करोड ३० लाख रूपैयाँ बजेट छुट्याएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *