बाँकेबाट नाबालक छोरासहित हराएकी महिला भुटानमा बन्धक

बाँके । बाँकेको बैद्यनाथ गाउँपालिका–७ का गणेश ठकुरीकी श्रीमती तीन महिनाअघि माइत जान्छु भनेर चार वर्षीय छोरासहित घरबाट हिँडिन् । श्रीमती केही समयमै सम्पर्कविहीन भए पनि माइतमै होलिन् भनेर ठकुरी ढुक्कजस्तै थिए तर जति गर्दा पनि सम्पर्क नभएपछि रोजगारीका लागि भारतमा रहेका ठकुरी चार दिनमै नेपाल फर्केर सोधिखोजीमा लागे । यतिञ्जेलसम्म उनकी श्रीमती भुटानमा बेचिइसकेकी थिइन् । यसबारे जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भए ।

‘गत वैशाख ५ गते माइत जान्छु भनेर चार वर्षीय छोरासहित श्रीमती घरबाट निस्किएकी थिइन् । माइत पुगेर फोन गरिनन्, मैले गर्दा पनि सम्पर्क हुनसकेन । त्यतिबेला म रोजगारीका लागि भारत गएको थिएँ । श्रीमती सम्पर्कमा नआएपछि चार दिनमै घर फर्किएर बुझ्दा त श्रीमती र छोरालाई दलालले भुटान लगेर बेचिसकेका रहेछन्’, ठकुरीले भने ।

ठकुरीले दिएको जानकारीअनुसार उनकी श्रीमती जेठानी दिदीसँग घरबाट निस्के पनि नजिकैको मदनचोक बजार पुगेपछि एकाएक सम्पर्कविहीन भएकी थिइन् । बुझ्दै जाँदा नेपालगञ्जकी रमिला विक नाम गरेकी एक महिलाले तीस हजार भारतीय रुपैयाँमा श्रीमती बेचबिखन गरेको थाहा पाएको उनको भनाइ छ ।

‘श्रीमती र छोराका बारेमा जानकारी प्राप्त गर्न हामीले फेसबुकमार्फत हराएको सूचना सार्वजनिक गरेका थियौँ । त्यही सूचनाको आधारमा भुटानमा गाडी चलाउने नेपाली सावारी चालक सुरज विकमार्फत खबर पाएपछि भुटानमा बेचिएको थाहा भयो’, गणेशले सुनाए, ‘सामाजिक सञ्जालमा मेरो अन्तर्वार्ता र फोन नम्बर भेटेपछि उनले बन्दी बनाएर राखेको घर नजिकै श्रीमती र छोरालाई देखेको भनेर खबर गरेका थिए ।’

सामाजिक सञ्जालमा राखिएको तस्बिरअनुसार सोधीखोजी गर्दा ठेगाना र नामसमेत मिलेको भनेर विकले आफूलाई जानकारी गराएको ठकुरीले बताए । ‘उनलाई श्रीमतीले जतिसक्दो चाँडो उद्धारका लागि पहिला गरिदिन र छोराको स्वास्थ्य अवस्था पनि ठिक नभएको खबर गरेकी रहिछन्, त्यसयता उद्धारका लागि प्रहरी प्रशासनमा धाइरहेका छौँ तर जति प्रयास गर्दा पनि कुनै निकायबाट सहयोग पाएका छैनौँ’,उनले गुनासो गरे ।

सोही वडाका अध्यक्ष दिनेशकुमार थारुले उद्धारका लागि वडा र पालिकामा खबर गरेको पुष्टि गरे । ‘यस खबरले हामी पनि चकित भएका छौँ । उनकी श्रीमती हामीले चिनेकी र राम्रो छवी भएकी महिला हुन् तर कसरी भुटानमा बेचिइन् ? हाम्रा लागि पनि खोजी र चासोको विषय बनेको छ’, वडाध्यक्ष थारुको भनाइ छ, ‘खबर पाएदेखि खोजतलासका लागि चारैतिर पहल गरिरहेका छौँ तर सफल भएका छैनौँ ।’

उद्धारका लागि नेपाल प्रहरी र पालिकाको वैदेशिक रोजगार शाखामार्फत समन्वय भइरहेको उनले बताए । ‘वैदेशिक रोजगार शाखा संयोजक धनबहादुर विकसँग समन्वय गरी सबै ठाउँमा सोधपुछ गर्दा भुटानमा रहेको निश्चित भएको छ । अब जतिसक्दो छिटो प्रहरी प्रशासनको सहयोगमा नेपाल झिकाउने प्रयासमा लागेका छौँ ।’

ईलाका प्रहरी कार्यालय कोहलपुरका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक देवराज भट्टराईले ‘श्रीमती लापत्ता भएको र खोजी गरी पाऊँ’ भनि ऊजुरी प्राप्त भए पनि भुटानमा बेचिएको बारेमा लिखित जानकारी नआएको बताए । भूटानमा बेचिएको वा बन्दी बनाएको उजुरी आएमा प्रहरीले तदारुकताका साथ सोधिखोजी गर्ने पनि उनले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *