नेपाली क्रिकेट टोलीले पायो वाइवाइको १० लाख प्रोत्साहन रकम
काठमाडौँ । चौधरी ग्रुप मातहतको सिजी फुड्स नेपाल लिमिटेडद्वारा उत्पादित वाइवाइ चाउचाउले नेपाल क्रिकेट संघ (क्यान) लाई १० लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
आईसिसि टि–२० विश्वकपमा सहभागी खेलाडीलाई प्रोत्साहन स्वरूप सी जी फुड्सले गरेको घोषणा अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो । नेपाल राष्ट्रिय टिम टि–२० विश्वकपमा सहभागी बनिरहँदा खेलाडीहरूलाई प्रोत्साहन स्वरूप वाइवाइले प्रत्येक रनका लागि १ हजार, प्रत्येक चौकाका लागि ८ हजार, प्रत्येक छक्काका लागि १२ हजार उपलब्ध गराउने घोषणा गरेको थियो ।
त्यसैगरि प्रत्येक विकेटका लागि १५ हजार, प्रत्येक अर्धशतक बापत ५० हजार, प्रत्येक शतक बापत १ लाख र नेपाली टिमको प्रत्येक जितमा १ लाख ५० हजार रुपैयाँ नगद उपलब्ध गराउने पनि घोषणा गरेको थियो । त्यसैगरि सुपर आठमा पुगेमा राष्ट्रिय टिमका लागि ३० लाख उपलब्ध गराउने वाइवाइको घोषणा थियो ।
सोही अनुसार नेपाली क्रिकेट टिमले पाएको नतिजाअनुसार रकम हस्तान्तरण गरिएको हो । सोही घोषणा बमोजिम विश्वकपमा नेपाली टिमको समग्र प्रदर्शन अनुसार सम्पूर्ण रनको ३ लाख ५ हजार, विकेटको ३ लाख १५ हजार, चौकाहरूको २ लाख १६ हजार, छक्काहरूको १ लाख ८ हजार गरी ९ लाख ४४ हजार भएकोमा उक्त रकममा ५६ हजार थप गरी हस्तान्तरण गरेको छ ।
हस्तान्तरण कार्यक्रममा बोल्दै सी जी फुड्सका सिइओ प्रदीप पुडासैनीले नेपालले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको र नेपाली टिम बधाईको पात्र रहेको बताए । उनले नेपालको क्रिकेटमा हुनुपर्ने जति विकास हुन नसकेको भन्दै अब खेलकुदमा केही हुने लक्षण देखिएको बताए ।
उनले भने ‘आज नेपालको क्रिकेट टिमले विश्वकप खेलेर आएको छ । विश्वकप खेल्नुमात्रै पनि ठूलो कुरा हो । हामी खेल हेरेर उत्साहित थियौँ । तपाईँहरू बधाईका पात्र हुनुहुन्छ । तपाईँहरूले राम्रो गर्नुभयो । आगामी दिनमा यसको उचाइलाई अझ माथि पु¥याउनुहुनेछ । नेपालको क्रिकेटमा जति विकास हुनुपर्ने थियो । त्यो हुन सकेको छैन । अब केही राम्रो हुने लक्षण आइरहेको छ । हामी पनि नेपालको क्रिकेटमा लागेका छौँ । वामे सर्ने अवस्थामा हामी सिजी आबद्ध भएका थियौँ । राष्ट्रको नाम तपाईँहरूले राख्न सफल हुनुभएको छ । यो हाम्रो गौरवको कुरा हो । क्रिकेटको क्षेत्रमा चौधरी ग्रुपले विभिन्न सहयोग गर्दै आएको छ । नेपालको महिला क्रिकेटलाई पनि हामीले अघि बढाउनेछौँ ।’
कार्यक्रममा बोल्दै नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपालले विश्वकपमा गरेको प्रदर्शन नेपाली टिमलाई माया गरेको नतिजा भएको बताए । नेपाली टिमले विश्वकपमा राम्रो प्रदर्शन गरेको बताए । उनले नेपाली क्रिकेट टिमले आगामी दिनमा अझ बढी राम्रो गर्ने बताए । उनले सीमित श्रोत साधनका बीचमा नेपालले गरेको प्रदर्शन उच्च रहेकाले टिमलाई दबाब दिन नहुने बताए ।
कार्यक्रममा क्रिकेटर सन्दीप लामिछानेले क्रिकेटलाई हौसला प्रदान गर्नका लागि सिजी ग्रुपले गरेको सहयोग उच्च रहेको बताए । उनले खेलाडीका लागि यस्ता प्रोत्साहनले ऊर्जा आउने बताए । उनले विश्वकपमा नेपालले आफूले सकेको प्रदर्शन गरेको र आफूहरू त्यसमा सन्तुष्ट रहेको बताए । उनले नेपाली टोलीले आगामी दिनमा झनै राम्रो खेल खेलेर समर्थकलाई खुसी पार्ने बताए ।
नेपाल आईसिसि टि–२० विश्वकप खेल्न सफल भएको अवसरमा लामो समयदेखि पुरुष अण्डर–१९ क्रिकेट टिमलाई प्रायोजन गर्दै आएको वाइवाइले महिला अण्डर–१९ क्रिकेट टिमलाई समेत प्रायोजन बापत ३० लाख तथा अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख गरी जम्मा ६० लाख नेपाल क्रिकेट संघलाई सहयोग गर्ने घोषणा पनि गरेको छ । उक्त रकम क्यानसँगको समन्वयमा निकट भविष्यमा हस्तान्तरण गरिने बताएको छ ।