महानगर आफैं डुबानमा (तस्बिरहरु)
काठमाडौं । जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौं महानगरपालिका आफैँ डुबानमा परेको छ । बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो ।
राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधवार राति भएको वर्षाका कारण सभागृह डुबानमा परेको छ । सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ।एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुबानमा परेको हो ।
केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए । त्यसबेला मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीका विरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए । सोही दिन उनको कार्यालय सभागृह पनि डुबेको थियो तर त्यसबारे कुनै सोधखोज भने गरिएन ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि गर्यो । तर काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतको कार्यालय रहेको सभागृह डुबानमा पर्दा भने न अनुगमन भयो न जोखिममुक्त गराउन नगर प्रहरी नै खटियो ।
हरेक वर्षा याममा घण्टाघर, रत्नपार्क देखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौँ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला विस्थापित गरी ह्युम पाइप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ ।
सभागृहको पानी निकासको ढल पुलिस क्लब तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माणका गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुबानमा परेको हो ।
सभागृह डुबानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रसारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही बिहानैदेखि डुबानमै लाइन बसिरहेको देख्न सकिन्छ ।