सुन किन्नेभन्दा बेच्ने बढी, मौज्दात बढ्यो

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोलाको १ लाख ४९ हजार ८ सय पुग्यो । यो नेपाली सुन बजारको हालसम्मकै उच्च मूल्य हो ।

आज (बिहीबार) भने तोलामा ३ सयले घटेर १ लाख ४९ हजार ६ सयमा कारोकार भइरहेको छ । अमेरिकको फ्रेडरल रिजर्भ बैंकले ०.५ प्रतिशत ब्याजदर घटाउने हल्लासँगै बजारमा सुनको मूल्य ह्वात्तै बढेको व्यवसायीहरु बताउँछन् । व्यवसायीकाअनुसार ब्याजदर घट्दा लगानी सुनतिर आकर्षित हुन्छ, जसले माग बढाउँछ । वस्तु बजारमा सीमित आपूर्तिका बाबजुद माग बढ्दा सुनको मूल्य बढ्ने गर्छ । अन्तर्राष्ट्रिय बजार अनुसार नेपालमा सुनको मूल्य समायोजन हुन्छ ।

आगामी दिनमा सुनको मूल्य अझ बढ्ने संकेत देखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष एवं सुनचाँदी व्यवसायी तेजरत्न शाक्यको अनुमान छ । अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य बढेर प्रतिऔँस २ हजार ७ सय डलर पुग्ने अनुमान गरिएको छ । त्यतिबेला नेपाली बजारमा सुनको मूल्य १ लाख ६५ हजार पुुग्न सक्ने शाक्यको भनाई छ ।

किन्नेभन्दा बेच्ने बढी
पछिल्लो समय सुन किन्नेभन्दा बेच्नेको संख्या बढिरहेको छ । बजारमा निरन्तर सुनको मूल्य बढ्न थालेपछि नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना बेच्ने ग्राहक बढी आउन थालेका हुन् ।

सुनको मूल्य बढ्दै गएपछि कारोबार दैनिक ५ केजीमा सीमित भएको महासंघका महासचिव डम्बरसुुन्दर बज्राचार्यले बताए । ‘कोभिडका कारण शिथिल बनेको अर्थतन्त्रमा उपभोक्ताको व्रmयशक्ति बढ्न सकेको छैन,’ उनले भने, ‘लगातार मूल्य बढ्दा उपभोक्ता र व्यवसायी दुवैलाई असर परेको छ ।’

बजारमा सुनको माग नहुदा बैंकसँग १७० केजीभन्दा बढी सुन मौज्दात रहेको छ । वाणिज्य बैंकहरूले सुन ल्याएर व्यवसायीलाई बेच्ने गरेका छन् । नेपाल राष्ट्र बैंकले दैनिक २० केजीका दरले सुनको आयात गर्ने कोटा निर्धारण गरेको छ । बजारमा सुनको माग न्यून हुुँदा बैंक र व्यवसायीसँग पनि सुनको मौज्दात छ ।

साउन महिना लगनको सिजन नभएको र निरन्तर मूल्य बढिरहेकाले पनि सुनको कारोबार न्यून छ । न्युरोडका अधिकांश सुनचाँदी पसलमा यतिबेला ग्राहकको चहलपहल खासै देखिँदैन । उपभोक्ताको क्रयशक्ति न्यून हुँदा उपभोक्ताले घरखर्च चलाउन पुराना गहना बेच्न ल्याउने गरेको व्यवसायीको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *