ग्लोबल बैंकले ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज नियुक्त
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको पाँच अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
बैंकले ‘८ प्रतिशत ग्लोबल आइएमई बैंक ऋणपत्र २०९१/९२’ जारी गर्न लागेको हो । बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ५० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात् दुई अर्ब बराबरको २० लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत तीन अर्ब बराबरको ३० लाख युनिट व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ८ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रूपले ६/६ महिनाको अवधिमा हुनेछ ।
उक्त सम्झौतामा ग्लोबल आइएमई बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्न राज बज्राचार्य र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।