सन्दीपको ‘केस’मा अदालतको व्याख्या- पीडितको भनाइ मात्रै कसुर ठहर गर्ने प्रमाण हुन सक्दैन (पूर्णपाठ)

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दाको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै उच्च अदालत पाटनले घटना भएको दिन पीडित गौशाला-२६ को उमेर १८ वर्ष पूरा भएकाले उनलाई नाबालिग भन्न नमिल्ने व्याख्या गरेको छ । उच्चले गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको हो ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले गरेको फैसलाको पूर्णपाठमा उमेर पुगेका साबालिगहरुको सम्बन्धलाई बलात्कार भन्न नमिल्ने उल्लेख छ । ‘पीडितले प्रतिकार गरेको, कराएको, चिच्याएको, तेस्रो व्यक्तिसँग आत्मरक्षाका लागि कुनै याचना गरेको भन्ने तथ्यलाई वोजनी होटल नगरकोटका सुपभाइजर समिर पुरी, होटल इनका सुरक्षाकर्मी राजन राणा, बाबुबाजी थापामगर, होटल इनका वेटर सविन श्रेष्ठ, रिसेप्सनिस्ट अनिश श्रेष्ठको कागज र बकपत्रबाट समेत उक्त होटलमा जान पीडितको सहमति रहेको पुष्टि भएको छ,’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

घटनाका बेलामा पीडित बाहेक अन्य व्यक्ति उपस्थित नदेखिएको, सन्दीप लामिछाने केन्यामा क्रिकेट खेल्न गएपछि जाहेरी परेको, घटनाका कारण पीडितमा कुनै चोटपटक नदेखिएको, बीर्य लगायत अरु प्रमाणको परीक्षण नभएको व्याख्या गर्दै उच्च अदालतले त्यसलाई सफाइ दिने आधार बनाएको हो ।

‘पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन मात्रै कसुर ठहर हुने अकाट्य प्रमाण हुन सक्ने देखिंदैन’ फैसलाको पूर्णपाठमा भनिएको छ, ‘जिल्ला अदालत काठमाडौंले सँगै बसेका कारण परिस्थितिजन्य प्रमाणको रुपमा लिएको देखिए पनि त्यो स्वतः अनुमान गर्न मिल्ने नभइ ठहर गर्ने आधारबिन्दु र तथ्यको कडी एक आपसमा एकबद्ध रुपमा गाँसिएको नदेखिएको ।’

सन्दीप लामिछानेले आफूले चाहे अनुसारको फैसला पाएकाले उनी सर्वोच्च अदालतमा जानु पर्दैन । तर पीडित गौशाला-२६ भने उच्च अदालतको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पाउँछिन् । आफ्नो मागदाबी अस्वीकार भएकाले प्रतिरक्षा गरेको सरकारी वकिल फैसलाविरुद्ध पुनरावेदन पत्र लिएर सर्वोच्च अदालत जाने अभ्यास छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *