शिक्षा क्षेत्रमा नेपाल लाइफको लगानी

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रोफेसनल एजुकेटर्स लिमिटेड र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा लगानी गर्ने निर्णय गरेको छ । साउन ०६ गते होटल रोयल सिङ्गी काठमाडौँमा सम्पन्न सम्झौतामा यस कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यस कम्पनीले प्रोफेसनल एडुकेटर्स लिमिटेडमा रु ७३ करोड ७२ लाख ८९ हजार ६ सय लगानी गरी ३५.३२ प्रतिशत स्वामित्व र युनिग्लोब हायर सेकेन्डरी स्कुलमा रु ६० करोड लगानी गरी ४७.६२ प्रतिशत स्वामित्व प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको लगानी सम्बन्धी निर्देशिकाको अधीनमा रही लगानी विविधीकरणमा ध्यान दिइरहेको र लगानी विविधीकरण गर्दै जाने क्रममा शिक्षा क्षेत्रलाई पनि प्राथमिकतामा राखेको कुरा बताए । शिक्षा क्षेत्र राष्ट्रिय महत्वको क्षेत्र रहेको भन्दै यस क्षेत्रमा उदाहरणीय कार्य गर्न सक्दा राम्रो प्रतिफलका साथै राष्ट्र प्रति योगदान पुग्न जाने र यस कम्पनीप्रति पनि आम नागरिकको थप विश्वास प्राप्त हुने आशाका साथ कम्पनीले यो सम्झौता गरेको उनले बताए ।

कम्पनीका सञ्चालक समितिका सदस्य एवं लगानी समितिका संयोजक कमलेश कुमार अग्रवालले विभिन्न वित्तीय सूचकहरू जस्तैस्– जीवन बीमा कोष, लगानी, दाबी भुक्तानी, सीमितको संख्या र बजार हिस्साहरूका आधारमा नेपाल लाइफ नेपालको जीवन बीमा क्षेत्रको सबैभन्दा ठूलो तथा सर्वाधिक विश्वासिलो कम्पनी रहेको कुरा सहर्ष बताउँदै कम्पनीले बीमित ग्राहकहरुबाट संकलित रकमलाई राम्रो प्रतिफलका लागि सुरक्षित स्थानहरूमा लगानी गर्ने अभिप्रायका साथ उक्त लगानी गरिएको कुरा बताए ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जीवन बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगट्दै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यस कम्पनीले लगानी विविधीकरणलाई केन्द्रबिन्दु राखेको र यसैको सुरुवात स्वरूप शिक्षा क्षेत्रको लिडरको रुपमा स्थापित संस्थामा लगानी गरिएको बताए । उच्च प्रतिफल प्रदान गर्न लगानी विविधीकरणको कार्यको शुभारम्भ भएको र आगामी दिनमा यसलाई थप प्रभावकारी बनाउन कम्पनी अग्रसर रहेको कुरा बताए ।

प्रोफेसनल एडुकेटर्स लिमिटेडका कार्यकारी अध्यक्ष प्रा.डा. खगेन्द्र प्रसाद ओझाले शिक्षा र जीवन बीमा क्षेत्रका मार्केट लिडर एकसाथ भएर काम गर्न आफू कटिबद्ध भएको कुरा व्यक्त गरे । यस सम्झौता कोसेढुङ्गा साबित हुने र यसले राष्ट्र निर्माणमा अतुलनीय भूमिका निर्वाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।

उक्त सम्झौतालाई मूर्तता प्रदान गर्न सहयोग गर्ने परामर्शदाताहरू तथा कर्मचारीहरूलाई धन्यवाद ज्ञापन गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले जीवन बीमा क्षेत्रको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी र शिक्षा क्षेत्रको ख्याति प्राप्त संस्था एउटै बिन्दुमा उभिन सहयोग गर्दै सबै सरोकारवालाहरूलाई धन्यवाद ज्ञापन गरे ।

साथै उनले जीवन बीमा र शिक्षाको उद्देश्य सुरक्षा र समृद्धि नै भएको बताउँदै आगामी दिनमा सुरक्षा र समृद्धिका निम्ति एकजुट भएर प्रभावकारी ढंगले सामाजिक रूपान्तरणका लागि कार्य गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *