मौद्रिक नीतिको प्रभाव

नेप्से परिसूचक ११३.४२ अंकले वृद्धि,करिव १६ अर्बको कारोबार

काठमाडौं । साताको पहिलो दिन शेयर कारोबार मापक नेप्से परिसूचक ११३.४२ अंकले बढेको छ ।

मौद्रिक नीति पछिको पहिलो कारोबारमा आईतवार दुई पटकको सर्किट ब्रेकपछि नेप्से परिसूचक ११३.४२ अंकले वृद्धि भएको हो ।

आईतवार नेप्से परिसूचक ४.४१ प्रतिशत बढेको २६८१.५६ बिन्दु पुगेको हो । त्यस्तै सेन्सेटिभ इण्डेक्स ५.८२ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ८.८६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १०.०५ अंकले बढेको छ ।

आईतवार बजारमा खुलेको साढे १ मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत बढेपछि पहिलो सर्किट ब्रेक लागेर बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि खुलेको बजार १ मिनेट पनि नबित्दै ५ प्रतिशत बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो ।

आईतवार कारोबारमा आएका ३१८ कम्पनीको ४ करोड ३ लाख १४ हजार कित्ता शेयर १५ अर्ब ८१ करोड ५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । अघिल्लो कारोबार भन्दा करिव २ अर्ब रुपैयाँको कारोबार समेत बढेको छ । गत बिहीवार १४ अर्ब १३ करोडको शेयर खरिदबिक्री भएको थियो ।

आईतवारको नेप्से कारोबारमा बैंकिंङ उपसमूहको परिसूचक उच्च दरमा बढेको छ भने अन्य उपसमूहको सामान्य अंकले बढेको छ । बैंकिङ उपसमूहको परिसूचक ९.८९ प्रतिशत बढेको छ । आईतवार १९ वाणिज्य बैंकहरुमध्ये १८ बैंकहरुको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।

आईतवार लघुवित्त उपसमूहको परिसूचक मात्र नकारात्मक भएको छ । सो उपसमूहको परिसूचक ०.१८ प्रतिशत घटेको छ । आईतवार १४८ कम्पनीको शेयर मूल्य बढ्दा ८७ कम्पनीको शेयर मूल्य घट्को छ भने ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आईतवारको कारोबारमा नेपाल इन्भेस्टमेण्ट मेगा बैंक, नेपाल एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंकसहित १२ कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । तर यता गणपति लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा कुमारी बैंकको ३६ करोड १० लाख रुपैयाँको कारोबार भयो । त्यस्तै,एनआईसी एशिया बैंकको ३४ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

गत शुक्रवार नेपाल राष्ट्र बैंकले सार्वजनिक भएको मौद्रिक नीतिले वाणिज्य बैंकहरुको खराब कर्जा घटाउने उद्देश्यले असल कर्जामा १.१ प्रतिशत मात्रै प्रोभिजन गरे पुग्ने व्यवस्था गरेसँगै आईतवारको कारोबारमा लगानीकर्ताको उत्साह देखिएको हो ।

त्यस्तै, रेगुलेटरी रिटेल पोर्टफोलियोको सीमा साढे २ करोड बढाउने,संस्थागत लगानीकर्तामा लाग्दै आएको २० करोडको सीमा खारेज भएकोले लगानीकर्ताहरु वाणिज्य बैंकहरुमा आकर्षित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *