पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डरद्वारा राष्ट्रिय रेकर्ड कायम

काठमाडौँ । पेरिस ओलम्पिकमा नेपालका पौडी खेलाडी एलेक्जेण्डर शाहले एक सय मिटर फ्रि स्टाइलमा राष्ट्रिय रेकर्ड कायम गरेका छन् ।

राष्ट्रिय रेकर्ड कायम गरेपनि उनी ५९ औं स्थानमा रहँदै पहिलो चरणबाट नै बाहिरिएका छन् । हिट्स तीनमा रहेका उनले ५१ दशमलव ९१ सेकेण्डमा निर्धारित दूरी तय गर्दै आफ्नो नाममा रहेको रेकर्ड सुधार गरेका हुन् । यसअघि एक सय मिटर फ्रि स्टाइलमा एलेक्जेन्डरको नाममा ५२ दशमलव १७ सेकेन्डको कीर्तिमान रहेको थियो ।

उनले सन २०२४ को फेब्रुअरीमा दोहाको वर्ल्ड एक्वेटिक्स च्याम्पियनसिपमा सो रेकर्ड बनाएका थिए । यो टइमिङमा उनी हिट्समा तेस्रो भए । कुल दश वटा हिट्सको प्रतिस्पर्धा पश्चात् १६ उत्कृष्ट खेलाडी अघिल्लो चरणमा पुगेका छन् । ७९ खेलाडी सहभागी प्रतिस्पर्धामा एलेक्सले २० खेलाडीलाई पछि पारे । जारी ओलम्पिक्समा भने नेपालले बनाएको यो पहिलो राष्ट्रिय रेकर्ड हो ।

लगातार दोस्रो पटक ओलम्पिक्स खेलेका एलेक्जेण्डरले टोकियो ओलम्पिक्समा पनि सय मिटर फ्री स्टाइलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ उनले ५३ दशमलव ४१ सेकेण्डमा दूरी तय गर्दै ५९ औं स्थान प्राप्त गरेका थिए । गत ओलम्पिक्सम भन्दा यो पटक उनले टाइमिङमा भने सुधार गरे । उनले दुवै पटक युनिभर्सालीटी कोटाबाट ओलम्पिक्समा सहभागिता जनाएका हुन् ।

तीन पटक वर्ल्ड च्याम्पियनशीप र एक पटक एसियन गेम्स पनि खेलिसकेका एलेक्जेन्डर हाल अमेरिकामा बसोबास गर्दै आएका छन् । उनी सिधै अमेरिकाबाट ओलम्पिक्समा भाग लिन पेरिस पुगेका थिए । यसअघि पौडी खेलाडी डुवाना पनि हिट्सबाट नै बाहिरिएकी थिइन् । एलेक्जेन्डर बाहिरिएसँगै नेपालबाट सहभागी सात मध्ये ६ खेलाडी पहिलो चरणबाट बाहिरिएका छन् ।

टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुष्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठ प्रधान, पौडीकी डुवाना लामा र ब्याडमिण्टनका प्रिन्स दाहाल पनि पहिलो चरणबाट नै बाहिरिइसकेका छन् । प्रीन्सले भने समूह चरणको अन्तिम खेल खेल्न बाकी छ । अब नेपालबाट सन्तोषी श्रेष्ठको प्रतिस्पर्धा मात्र बाँकी छ । उनले म्याराथनमा प्रतिस्पर्धा गर्नेछिन् । उनी आज पेरिस प्रस्थान गरेकी छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *