विचार

राजनीतिज्ञको कठिन भाषण र उब्जिएका अनेक प्रश्न

सामान्यतया एक व्यवस्थित र अर्थपूर्ण तरिकामा ध्वनिको अभिव्यक्ति द्वारा सिर्जित शाब्दिक भनाइ नै भाषण हो । बोलीको माध्यमबाट, व्यक्तिहरूले अर्थपूर्ण तवरले विचार प्रस्फुटन गर्ने प्रक्रिया अन्तर्गत भाषणलाई लिइन्छ । बोधगम्य भाषा, अर्थपूर्ण एवं तर्कसंगत विचार र सो बाट कुनै मनासिब एवं अकाट्य र सरल भाषण मात्र बुझ्न सहज हुन्छ । बुझाइ एवं शाब्दिक तत्त्वहरूलाई कठिन बनाउने भाषण नेपालको राजनीतिमा अधिकांश प्रयोग भएको देखिन्छ जुन भाषणको अर्थ, सरलता र तर्कसंगतता धेरै प्रश्न उठ्नुपर्ने देखिन्छ ।

जनता समक्ष राजनीतिज्ञले प्रस्तुत गर्ने भाषणमा कठिन शब्दहरूको अत्यधिक प्रयोग तथा सो भाषणको कार्यान्वयनको पक्षलाई समेत गोल चक्कर लगाउने किसिमको वाक्यांश प्रयोग भएको देखिन्छ । तसर्थ यस किसिमको गोल चक्कर लगाउने किसिमको भाषणले गोलाकार तर्क तार्किक भ्रम (Circular argument fallacy) सिर्जना हुन जान्छ जसको अर्थ कुनै पनि तर्क वा भाषणको वाक्यांशमा आधार र निष्कर्ष दुवैको रूपमा एउटै कथन प्रयोग हुन्छ र कुनै नयाँ जानकारी वा औचित्य पेश गरिएको हुँदैन। उदाहरणका लागि समृद्ध नेपाल: खुसी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो किनकि यसले समाजवादी विचारधारा पछ्याउँछ । अब यसमा प्रश्न उठ्छ की कुनै नारालाई समाजवादी विचारधारा मान्ने कि नमान्ने ? यो नाराको प्रस्ट व्याख्या एवं विवेचना नभेटिएको कारण यो समाजवादी विचार धारा हो भन्ने आधार नहुँदा तार्किक भ्रम सिर्जना हुन्छ ।

यो नाराको प्रस्ट व्याख्या समाजवादको लक्ष्यसँग सामेल गरेर कार्यक्रमहरूको कार्यान्वयन गरेर देखिए मात्र यो भाषण सत्य हुन्छ । सर्वसाधारण जनताको समक्ष राजनीतिज्ञ आफूले प्रस्तुत गर्ने भाषणको औचित्य के हो भन्ने प्रश्नको उत्तर ठम्याउन नै मुस्किल देखिन्छ । कुनै भाषणमा भाषाको नियम एवं व्याकरणको प्रयोग भएमा साथै तार्किक र अर्थपूर्ण भएमा उचित मानिन्छ । स्पष्ट अर्थ खुलाउन नै समस्या सिर्जित गर्ने भाषणले माथिको जस्तै तार्किक भ्रमको पैदा समेत गर्न सक्छ । सार्वजनिक सभा, समारोहमा मञ्चमा राजनीतिज्ञले गर्ने भाषण की अर्को राजनीतिक दल वा व्यक्तिगत चरित्रलाई समातेर आलोचनात्मक तवरले गाली गलौच गर्ने की त आश्वासन दिने कठिन शब्द सञ्जालको प्रयोग गरेर गर्ने भाषण मात्र सीमित देखिन्छन् । ती भाषणहरू प्राय गरी समस्या केन्द्रित हुन्छन् । समाधान मूलक भाषण सतही ज्ञानमा आधारित अमूर्त देखिन्छन् । यस विषयमा थप स्पष्ट हुनका लागि कुनै प्रख्यात राजनीतिज्ञहरूले गरेका समाधान मूलक तर अपूर्ण र जटिल भाषणको प्रस्तुतिलाई केलाउने प्रयास निम्न बमोजिम गरिएको छ ।

१. प्रधानमन्त्री केपी शर्मा ओली : ‘हाम्रो प्राथमिकता राष्ट्रिय स्वतन्त्रता हो। हाम्रो परराष्ट्र नीति र सम्बन्ध पारस्परिक लाभ, आपसी सम्मान, सामाजिक न्यायको आधारमा हुन्छ । हामी प्रतिबद्ध छौ । समृद्ध नेपाल: खुसी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो । गरिबी विरुद्धको लडाइँमा सफलता हासिल गर्नु नै नेपाली विकासको अवधारणा हो ।’ (नेपाल बुद्धिजीवी परिषद्ले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै गरेको भाषणको अंश)

प्रश्नहरू :
क) कस्तो किसिमको राष्ट्रिय स्वतन्त्रता उजागर गर्न खोजिएको हो ? राष्ट्रिय स्वतन्त्रताको धावक तत्त्व केके हुन जसले गर्दा राष्ट्रिय स्वतन्त्रता प्राथमिकताको विषय बन्न पुगेको हो ?
ख) के आधारबाट र के गर्दा नेपाली समृद्ध हुन्छन् ? नेपाली सुखी भएर बाँच्न के कार्यदिशा प्रस्तुत गरिएको हो ? कसरी प्रयोगद्वारा सिद्ध नभएको यो नारा समाजवादसँग केन्द्रित भयो ?

टिप्पणी: नेकपाको सरकार आएसँगै सबैभन्दा बढी घन्काइएको नारा हो, समृद्ध नेपाल-सुखी नेपाली । तर, यसको लक्ष्य भेटाउन भने कम्तीमा पाँच आवधिक योजना अर्थात् २५ वर्ष कुर्नुपर्ने भनियो । योजना आयोगका अनुसार यो लक्ष्य प्राप्तमा तीन चरणको विकास अवधि तोकिएको छ । चालु १५ औँ योजनाले समृद्धि र सुखको आधार बनाउने भनियो तर वर्तमान अर्थतन्त्रको संरचना हेर्ने हो भने सबै पुँजीवाद उन्मुख अर्थव्यवस्थाको अवशेष मात्र देखिएको छ। १६ औँ र १७ औँ आवधिक योजनाले समृद्धि र सुखलाई तीव्रता दिने भनियो । प्रयोगद्वारा सिद्ध भइनसकेको नारालाई समाजवादको विचारधारासँग दाँज्नु आफैमा अज्ञानता अपिल (Appeal to Ignorance) तार्किक भ्रमको सिकार हुनु हो जुन एक अनौपचारिक तार्किक भ्रम हो जहाँ केही कुरा तथ्यको रूपमा ग्रहण गरिन्छ किनभने यसको विपरीत सत्य वा असत्य साबित भइसकेको हुँदैन ।

ग) गरिबीविरुद्धको लडाई जित्ने उपाय के हो ? कसरी नेपाललाई समग्र रूपमा गरिबीबाट मुक्त गर्ने वा रणनीति के हो ?

२. पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल: ‘पछिल्लो चरणमा अन्तर्राष्ट्रिय र क्षेत्रीय राजनीतिमा ध्रुवीकरणका नयाँ प्रकृति देखा परेका छन् । नेपाल जस्तो भू-राजनीतिक संवेदनशीलता भएको देशमा त्यसको प्रभाव परिरहेको छ। आगामी दिनमा त्यसको प्रभाव पर्ने संकेत देखिएका छन् । राष्ट्रियता भौगोलिक अखण्डताको रक्षाका लागि बैठक यो दिशामा सफल हुनेछ।’ (२०८० साउन १७ गतेदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै गर्दाको भाषणको अंश)

प्रश्नहरू :
क) राजनीतिक ध्रुवीकरणको प्रकृति भनेको के हो ? अन्तर्राष्ट्रिय र राष्ट्रिय क्षेत्रमा कस्ता खालका ध्रुवीकरणको प्रकृति थिए र परिवर्तन हुँदै गएका हुन् ?
ख) नेपालको भू-राजनैतिक संरचना के हो र राजनैतिक ध्रुवीकरणको प्रकृतिले कसरी भौगोलिक अखण्डताको प्रहार हुँदै गएको छ ?
ग) भौगोलिक अखण्डताको रक्षा गर्ने खाका के हो ?

३. पूर्व प्रधानमन्त्री मन्त्री माधव कुमार नेपाल : मुलुकमा रहेको बेरोजगारी समस्याको समाधान गर्नका लागि सुशासन सहितको समृद्धि आवश्यक रहेको साथै यसका लागि इमानदार प्रयासको खाँचो रहेको छ । (समाजवादी प्रेस सङ्गठन मधेस प्रदेशले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गरेको भाषणको अंश)

क) सुशासन सहितको समृद्धि भनेको के हो ? कस्तो किसिमको सुशासन सहितको समृद्धिले बेरोजगारी समस्याको समाधान हुन्छ? बेरोजगारी समस्याको समाधान गर्ने सुशासन सहितको समृद्धिको खाका के हो ?

यस्ता किसिमको प्रश्नको जवाफ राजनीतिज्ञहरूको भाषणमा हुँदैनन् । यी त केही भाषणका उदाहरण मात्र हुन् । यस्ता सिद्धिहीन भाषण आज ठूला नेताबाट गाउँ गाउँमा सामान्य नेताहरूमा समेत सुनिने गरिन्छ। कुनै एक वाक्यांश प्रयोग गरेर त्यसको चिरफार नगरीकन अर्को बिन्दुको भाषणमा प्रवेश गरेपश्चात् राजनीतिक भाषणमा प्रश्न उब्जने गर्छन् । उपर्युक्त आधार प्रमाण र वस्तुस्थितिको चिरफार गरेर भाषण गर्दा मात्र त्यसको तात्त्विक अर्थ स्पष्ट हुन्छ । यस्ता किसिमको भाषणले जटिल एवं प्राविधिक शब्दहरूको शाब्दिक जालोलाई मात्र इंगित गर्छ । तर्कशास्त्रमा कुनै पनि तर्क स्थापित गर्नु अघि त्यो तर्कमा आधारभूत नियमको पालना गर्नुपर्छ। कुनै पनि तर्कलाई स्थापित गर्न पश्चिममा तर्कशास्त्रमा आधारभूत नियमको खाका निर्माण गरिएको छ । सो अनुरूप तर्कको मुख्य आधार (Major premise) र लघु आधार (Minor premise) बाट निष्कर्ष (Conclusion) मा पुगेर कुनै कुरा सिद्ध गरिनुपर्ने अवधारणा प्रस्तुत गरिएको छ । जसका लागि Inductive method of reasoning and Deductive method of reasoning अर्थात् तर्कको आगमनात्मक विधि र तर्कको विशुद्ध विधिको प्रयोग गरिन्छ । जहाँ तर्कको आगमनात्मक विधि (Inductive method of reasoning) अनुसार कुनै विशिष्ट आधार (Specific premise) बाट सामान्य आधार (General premise) मा पुगेर तर्क वा भनाइ सिद्ध गर्नुपर्ने तर्क राख्दछ । माथिको केपी शर्मा ओलीको भाषणको अंशबाट उदाहरण लिने प्रयास गरौँ ।

भाषणको नमुनाको लागि उदाहरण मात्र :-

  • समृद्ध नेपाल: खुसी नेपालीको नाराले ( विभिन्न प्रक्रिया वा विधि र नीति एबम् कार्यक्रमको सफल कार्यान्वयन भए बमोजिम ) सामाजिक न्याय, वर्गीय समानता र समता (लगायत अन्य समाजवादसंग सम्बन्धिन्त सिद्धान्तहरु) को लक्ष्य लिएको हो। (Specific major premise)
  • सामाजिक न्याय, समानता, वर्गीय समानता र समता (लगायत अन्य समाजवादसंग सम्बन्धिन्त सिद्धान्तहरु) समाजवादको मूल एजेण्डा हो। (Minor premise)
  • तसर्थ, समृद्ध नेपाल: खुसी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो। ( General Conclusion)
  • तर्कको विशुद्ध विधि (Deductive method of reasoning) ले कुनै सामान्य आधार (General premise) बाट विशिष्ट आधार (Specific premise) मा पुगेर तर्क वा भनाइ सिद्ध गर्नुपर्ने तर्क राख्दछ ।

माथिको उदाहरणलाई समातेर हेर्ने प्रयास गरौं :-

  • सामाजिक न्याय, वर्गीय समानता र समता (लगायत अन्य समाजवादसंग सम्बन्धिन्त सिद्धान्तहरु) समाजवादको मूल एजेण्डा हुन् । (General major premise)
  • समृद्ध नेपाल: खुसी नेपाली नै नेपाली सन्दर्भको समाजवादी विचारधारा हो। (Minor premise)
  • तसर्थ समृद्ध नेपाल: खुसी नेपालीको नाराले ( विभिन्न प्रक्रिया वा विधि र नीति एबम् कार्यक्रम कार्यान्वयन भए बमोजिम) सामाजिक न्याय, वर्गीय समानता र समता (लगायत अन्य समाजवादसंग सम्बन्धिन्त सिद्धान्तहरु) को लक्ष्य बोकेको छ । (Specific Conclusion)

यसरी माथिको तर्क शास्त्रको नियम भाषणमा प्रयोग गरिने हो भने भाषण बोधगम्य, सरल र बुझ्न लायक सुनिन्छ । तर यी पश्चिमी तर्क शास्त्रको विधिमा तर्कमा उदाहरणले नपछ्याउने भएकाले केही हदसम्म भने तर्कलाई जटिल बनाउँछ। पूर्वीय तर्कशास्त्रमा तार्किक अनुमान जुन अक्षपदा गोतामाले प्रतिपादन गरेका थिए, जसले उदहारण सहित पाँच आधार (premise) मा तर्क स्थापना गर्नुपर्ने दावी पेश गरेको छ । जहाँ प्रतिज्ञा (प्रमाणित गरिनुपर्ने वाक्यांश), हेतु (कारणहरु), उदाहरण, उपनय (सिद्धान्त) र निष्कर्षको आधारमा तर्क स्थापना गर्नुपर्ने अवधारणा प्रकट गर्दछ ।

माथिको माधव कुमार नेपालको भाषणको अंशबाट उदाहरण लिने प्रयास गरौं :-

  • मुलुकमा सुशासन सहितको समृद्धि आवश्यक रहेको छ । (प्रतिज्ञा)
  • मुलुकमा रहेको बेरोजगारी समस्याको समाधान गर्नका लागि आवश्यक रहेको हो । (हेतु)
  • सुशासन सहितको समृद्धि कायम रहेको देशहरू ( उदहारण भए प्रस्तुत गर्ने) (सुशासन सहितका समृद्धिको विविध मोडलहरु प्रकाश पार्ने) मा यी मोडेलको प्रयोग गरी बेरोजगारीको अन्त्य भएको छ। (उदाहरण)
  • सुशासन सहितको समृद्धिले पारदर्शिता, जवाफदेहिता, विधिको शासन जस्ता आधारभूत सिद्धान्त ग्रहण गरेको हुन्छ । (उपनय)
  • तसर्थ बेरोजगारी समस्याको समाधान गर्नका लागि सुशासन सहितको समृद्धि आवश्यक छ । (निष्कर्ष)

देख्दा यी नियमहरू जटिल लाग्न सक्छ तर यस नियमहरूको परिपालना गरेर कुनै राजनीतिज्ञले आफ्नो राजनीतिक भाषण गर्ने हो भने पक्कै पनि सरल, अर्थ स्पष्ट हुने र बोधगम्य भाषण भने तयार हुन जान्छ । यस नियमको परिपालन गर्दा अध्ययन अनुसन्धान सहितको प्रमाणमा आधारित भाषण तयार हुन्छ र अकाट्य एवं अपूर्ण अर्थ लाग्ने भाषण कदापि बन्न जाँदैन । तर नेपालमा राजनीतिज्ञहरूको अध्ययन अनुसन्धान गर्ने र प्रमाणमा बोल्ने बानी एकाध बाहेक धेरैमा छैन । त्यो कुरा उहाँहरूले गरेका कयौं भाषणमा सुनिन्छ । उहाँहरूको राजनीतिक दल सम्बन्धी चुनावी घोषणा पत्रमा पनि यस्तै समस्या देखिन्छ । तार्किक भ्रमलाई विस्थापित गर्दै प्रमाणका आधारमा भाषण गर्न यस्ता नियमहरू विकल्पको रूपमा हुन सक्छन् ।

  • काफ्ले काठमाण्डौ स्कूल अफ ल’मा दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *