मनै लोभ्याउने गाईखुरे झरना

लमजुङ । झर्झराउँदो झरना । पहाडबाट झर्दै गरेको पानी । हरियालीका साथै फेदमा सुन्दर पोखरी । अस्सी मिटरभन्दा माथिबाट ओर्लने झरना हेर्न पर्यटकको भीड लाग्छ । यो झरना देख्नासाथ नलोभिने कोही हुन्नन । झरनाको फेद पुग्न मन लाग्छ । झरनासँग सेल्फी खिच्नेको बाक्लै भीड लाग्छ । झरनाको पानीसँगै पोखरीमा पौडी खेल्नेको जमात उस्तै हुन्छ ।

झरनाले मनै लोभ्याउँदा विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक झरनामा आनन्द लिन आउने गरेका छन् । डुम्रे–बेँसीसहर सडक छेउमै तथा मस्र्याङ्दी नदी नजिकै यो झरना छ । बेँसीसहर नगरपालिका–१ दलालस्थित गाईखुरे झरना अगाडि एकैछिन गाडी रोकेरै भए पनि झरना नजिक पुग्छन् यात्रु । यस झरनामा दैनिक यतिबेला दुई सय भन्दा बढी पर्यटक आउने गरेका छन् ।

त्यस्तै, शुक्रबार, शनिबार र बिदाको समयमा लमजुङ दोब्बर पर्यटक झरनामा आउने गर्दछन् । स्थानीय सुदिप पन्तका अनुसार यस झरनामा लमजुङसहित छिमेकी जिल्ला गोरखा, तनहुँ, कास्की, मनाङलगायतका ठाउँका पर्यटक आउने गरेका छन् । मनोरञ्जनको क्षेत्र कम भएको यस जिल्लामा यस झरना मनोरञ्जनको माध्यम यस झरना बनिरहेको छ ।

साथीहरुबीच एकापसमा पानी छ्यापा–छ््याप गर्नु र पौडिएर माछा जस्तै पोखरीमा ओहोरदोहोर गर्दै मज्जा लिने समेत पर्यटकले गर्दछन् । बर्सेनी झै यस वर्षपनि झरनामा आएका बेँसीसहर नगरपालिका– ८ का एन्जिल गुरुङले झरनाको शीतलतासँगै तस्बिर खिच्दा रमाइलो हुने गरेको बताइन् ।

उनले भनिन्, ‘यहाँ आउँदा बेग्लै आनन्द मिल्छ ।’

यस्तै, अर्का पर्यटक अरुण बरालले साथीहरुसँग झरनामा आएको र झरनासँग फोटो खिच्ने, पौडी खेल्ने, साथीभाइसँग रमाइलो गरेर झरनाको मज्जा लिएको बताए । झरना व्यवस्थित भने हुनसकेको छैन । स्थानीयका अनुसार विगतमा लमजुङमा विदेशी पर्यटकसमेत आउने गरेका थिए । सो झरना र पोखरी हेर्न तथा पौडी खेल्न मात्र नभइ साहसिक खेल क्यानोनिङकोसमेत राम्रो सम्भावना रहेको छ ।

यस वडाका वडाध्यक्ष दुर्गाबहादुर बुढाथोकीले यतिबेला पर्यटकको भीडभाड लागिरहेको बताए । पर्यटकहरुको भीड लागेपनि यस झरनालाई व्यवस्थित बनाउन नसक्दा दुःख लागिरहेको उनको भनाइ छ । उनले झरनालाई थप व्यवस्थित गर्दै पूर्वाधारको संरचना थप्दै पर्यटक आकर्षित गर्नका लागि पालिकाले योजना बनाएको छ । झरनालाई थप व्यवस्थित गर्दै पर्यटकको आकर्षणको केन्द्र बनाउने तयारी गरेर अघि बढ्न लागेको नगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *