हर्क साम्पाङको निर्देशनमा पर्खाल भत्काउने नगर प्रहरी पक्राउ
मेयर हर्क साम्पाङको निर्देशनमा प्रदेश सरकारले बनाएको ग्याबिन पर्खाल भत्काउने धरान नगर प्रहरीका सहायक निरीक्षक सुरेश मग्राती पक्राउ परेका छन्। आइतबार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेको हो।
मग्रातीले धरान–१३ स्थित खहरे खोलामा पहिरो रोकथामका लागि निर्माण गरिएको ग्याबिन पर्खाल भत्काएका थिए।उनलाई सोही आरोपमा पक्राउ गरिएको प्रहअरीले जनाएको छ।
कोशी प्रदेश सरकारको २० लाख रुपैयाँ लागतमा स्थानीय टोल विकास संस्थाले खोलामा तारजालीमा ढुंगा भरेर पहिरो रोकथामका लागि पर्खाल बनाएको थियो।
मग्रातीलाई शुक्रबार पक्राउ गर्ने तयारी भए पनि मेयर हर्क र प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र राईले आफै लिएर हाजिर गराउन आउने बताएपछि प्रहरीले पक्राउ गरेको थिएन।
तर उनीहरुले लिएर नआएपछि आइतबार पक्राउ गरेको हो।मग्रातीलाई जिल्ला प्रहरी कार्यालय इनरुवाको हिरासतमा राखिएको छ।
पर्खाल भत्काएकै आरोपमा प्रहरीले साउन २४ गते अरू तीन जनालाई पक्राउ गरेको थियो।