आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्छ : रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगले स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुपर्ने बताएका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सभापति लामिछानेले सङ्क्रमणकालीन न्याय निरूपणको गाँठा फुकाउनेगरी कानुन बनेपनि कानुन आफैँले न्याय नदिने उल्लेख गरे । उनले न्याय दिनका लागि संरचना चाहिने भन्दै उनले संरचनामा रहने व्यक्तिको नियत सफा रहनुपर्नेमा जोड दिए ।

उनले राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाउँदा पीडितको न्याय सुनिश्चित गर्न नसकिने बताए । उनले आयोगलाई स्वतन्त्र र निष्पक्ष बनाउनुपर्ने बताए । आयोगमा पीडित पक्षको पनि प्रतिनिधित्व गराउन सके राम्रो हुने धारणा राखे । उनले राजनीतिक नियुक्ति भएर आउने महान्यायाधिवक्ताले आयोगमार्फत रायको लागि आउने घटनामा दलीय स्वार्थ राख्ने सम्भावना हुने भएकाले यसप्रति सचेत हुनुपर्ने बताए ।

उनले भने – ‘सङ्क्रमणकालीन न्याय निरूपणका गाँठा फुकाउने गरी कानुन त बन्ने भयो । तर कानुन आफैँले न्याय दिने चाहिँ होइन । संरचना यसका लागि चाहिन्छ । र ती संरचनामा रहने व्यक्तिको नियत अत्यन्त सफा चाहिन्छ । फेरिपनि राजनीतिक स्वार्थका आधारमा दलीय भागबण्डासहित आयोग बनाइयो भने त्यो आयोगले जसोतसो काम त गर्ला । तर पीडितलाई न्याय सुनिश्चित गर्न सक्दैन । आयोगलाई नाममा मात्र होइन, काममा पनि स्वतन्त्र र निष्पक्ष बनाऔँ भन्ने अपिल राख्न चाहन्छु ।’

सभापति लामिछानेले देशभित्र टुंगिएका मुद्दामा अन्तर्राष्ट्रिय प्रश्न नउठ्ने परिस्थिति बनाउनुपर्ने बताए । अन्तर्राष्ट्रिय समुदायको चिन्ता र चासोबारे पनि ख्याल गर्नुपर्ने बताए । उनले सङ्क्रमणकालीन न्याय निरूपणमा रास्वपाको सकारात्मक सहयोग हुने भन्दै संसदको चौथो शक्तिको रुपमा रास्वपाको उपस्थितिप्रति नजरअन्दाज नगर्न पनि दलहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *