चलचित्र विकास बोर्ड अध्यक्षका लागि करिश्मासहित ६ जनाले दिए आवेदन
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष पदका लागि ६ जना कलाकारले आवेदन दिएका छन् ।
साउन १६ गते सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना जारी गरेसँगै उनीहरूले आवेदन दिएका हुन् ।
मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भन्दै सूचना प्रकाशन गरेको थियो ।
उक्त सूचनाका अनुसार बुधवारसम्म ६ जना कलाकारले आवेदन दिएको चलचित्र विकास बोर्डका सदस्य सचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशकुमार थापाले जानकारी दिए ।
उनका अनुसार फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डङ्गोल रहेका छन् ।
थापाले आवेदन दिएका कलाकारहरू मध्य योग्यता पुगे वा नपुगेको परीक्षण हुन बाँकी रहेको बताए । उनले योग्यताका आधारमा चलचित्र विकास बोर्ड अध्यक्ष पदमा नियुक्ति हुने जानकारी दिए ।